महावीर चक्र विजेता ब्रगेडियर शेरजंग थापा

वीरहरुका पनि वीर महावीर चक्र पदबाट विभूषित स्कार्दुका नायक वा हिरोको नामले प्रख्यात गोर्खा सैनिक ब्रिगेडियर शेरजंग थापा मगरको जन्म सन् १९०७ अप्रिल १५ तारिखमा पाकिस्तानको एबटावाद शहर (खैबर पाख्तुनाखा) मा भएको थियो । बाल्यकालमा यिनी भाग्सू धर्मशाला (हिमाञ्चल प्रदेश)को दाडी गाउँमा बसाई सरेका थिए ।
व्यक्तिगत विवरणः
भारत स्वतन्त्र भएपछि यिनी पहिलो गोर्खाली हुन् जस्ले भारतीय सेनामा ब्रिगेडियर पदमा (सन् १९५४) पदोन्नति प्राप्त गरे । साथै भारतीय सेनाको दोश्रो उच्च वीरता पुरस्कार “महावीर चक्र” पदकबाट (सन् १९४२) भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा विभूषित भए । ब्रिगेडियर शेरजंग थापाका बाजे हजुरबुबा सुबेदार बालकृष्ण खुन्द्रुङ थापा मगर नेपाल अधिराज्यको गोर्खा जिल्लाको ताप्के गाऊँबाट भारतको धर्मशाला भाग्सूदाडी गाऊँमा बसाई सरेका थिए । शेरजंग थापाको बुबा अनरेरी क्याप्टेन अर्जुन थापा मगर पहिलो विश्व युद्धमा प्रथम सरदार बहादुर जहाँगीर युद्ध पदकबाट विभूषित योद्धा थिए ।
ब्रिगेडियर शेरजंग थापाले भाग्सू धर्मशालामा प्रारम्भिक एवं माध्यमिक शिक्षा हासिल गरे । यिनी ईन्टरमिडियट कक्षामा भर्ना हुने भाग्सू धर्मशालाको पहिलो गोर्खा विद्यार्थी थिए । अध्ययन समाप्त गरेपछि आफ्नो बाबु बाजेको पुस्तैनी पेशा सैनिक सेवा मन पराए । फलस्वरुप जम्मु कश्मीर राज्यको सेना “जम्मु कश्मीर राईफल्स” मा सन् १९२८ मा भर्ना भए । सन् १९३० मा सेकेन्ड लेफ्टिनेन्टको पद भार ग्रहण गरे । आफ्नो कार्यक्षमता, लगनशीलता, मेहनत र दृढ ईच्छा शक्तिले गर्दा सन् १९४६, १ जुलाईमा क्याप्टेन पदमा, सन् १९५०, १ जनवरीमा मेजर, सन् १९५३, १ जनवरीमा ले. कर्णेल पद तथा सन् १९५४, १ जनवरीमा ब्रिगेडियर पदहरुमा पदोन्नति प्राप्त गरे । आफ्नो कार्य क्षमता, कार्यशैली, सक्षम नेतृत्व, कठोर अनुशासन, मेहनत तथा ईमान्दारीले गर्दा सैनिक सेवा अवधिमा महावीर चक्र पदक, जनरल सर्विस मेडल, जम्मु कस्मिर क्लर्कस पदक, सैन्य सेवा पदक तथा भारत स्वतन्त्रता पदकहरुबाट विभूषित भए ।
सन् १९६० मा सैनिक सेवाबाट सेवा निवृत्त भएपछि भाग्सू धर्मशालाको दाडी गाऊँमा केही दिन र त्यस पछि म्याकलोडगंज गाऊँमा शेष जीवन व्यतित गरे । सन १९९९, २६ फरवरीको दिन ९२ वर्षको उमेरमा दिल्लीको सैनिक हस्पिटलमा उपचारको क्रममा उनको निधन भयो ।
समाज सेवाः
ब्रिगेडियर शेरजंग थापाले सैनिक जीवनबाट सेवा निवृत्तभए पछि रचनात्मक कार्यमा सदैव सक्रिय थिए । आफ्नो शेष जीवन गोर्खा समाजको कल्याण कार्य र सामाजिक उत्थानमा अर्पण गरे । सन १९६२ देखि सन १९७० सम्म “हिमाञ्चल एण्ड पंजाव गोर्खा एसोसियसन ” भाग्सूको अध्यक्ष पदमा कार्यरत रहे । सन् १९६२ देखि १९७६ सम्म “अल इण्डिया गोर्खा एक्स सर्भिस मेन्स वेलफेयर एसोसिएसन”को अध्यक्षीय
कार्यभार सम्हालेका थिए । सन् १९६६ भन्दा पूर्व केही वर्षसम्म “पंजाव सरकार सिविल एडवाइजर काउन्सिलको सदस्य समेत रहे । “हिमाञ्चल प्रदेश एक्स सर्भिसमेन्स स्पेशल फण्ड” कमिटीका सदस्य (पाँच वर्ष), आजादी रजत जयन्ती समारोह कमिटीका सदस्य समेत भएर क्रियाशिल रहे । सन् १९८२ जनवरी १७ तारिखमा उनको अध्यक्षतामा पहिलोपटक “मास्टर मित्रसेन साहित्य संगीत सभा ” संस्थाको
गठन गरियो । ओझेलमा परेका मास्टर मित्रसेन थापा मगरको साहित्य एवं सांगीतिक योगदानलाई प्रकाशमा ल्याउने पहिलो समाजसेवी ब्रिगेडियर शेरजंग थापा नै थिए ।

लेखक थापा

स्कार्दुका नायक (हिरो)
ब्रिगेडियर शेरजंग थापाको जीवनको सबभन्दा चर्चित पक्ष हो स्कार्दुका नायक वा हिरो । भारत स्वतन्त्र भए पछि पाकिस्तानका सेना र कवायलीहरु तथा जम्मु कस्मिर राज्यको सेनाको बीच युद्ध शुरु भई सकेको थियो । त्यस बेला यिनी लद्दाख र लेह क्षेत्रमा जम्मु कस्मिर राईफल्स (छैठौं इन्फेटरी बटालिएन) का साथ त्यहाँ कार्यरत थिए । गिलगित र लेहको बीच स्कार्दु भन्ने ठाउँ सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण थियो । अतः यिनलाई कर्णेलको पदमा पदोन्नती गरेर स्कार्दुको चौकी र किल्लाको रक्षा गर्न आदेश प्राप्त भयो । सन् १९४७, २३ नोभेम्बरमा यिनीले लेह छोडेर आफ्नो पल्टनको साथ स्कार्दु तिर प्रस्थान गरे । भारी हिमपातको समयमा पैदल हिडेर अन्दाजी ७५०० फिटको उचाईमा स्थित स्कार्दुको चौकीमा २ डिसेम्बर १९४७ मा पुगे । त्यसबेला यिनको साथमा जम्मा २५० जवान सैनिक मात्र थियो । लेह लद्दाखलाई शत्रुको आक्रमणबाट सुरक्षित राख्न स्कार्दुको चौकीको रक्षा गर्न सैनिक रणनीति अनुसार आवश्यक थियो । स्कार्दुचौकीमा पुग्ने बित्तिकै त्यस क्षेत्रको सुरक्षाका लागि आवश्यक तयारी गर्न थाले । त्यसै बेला सन् १९४८ फेब्रुअरी ११ तारिखमा पाकिस्तानको सेना तथा कवायलीहरुले स्कार्दु किल्लामाथि भीषण आक्रमण गर्यो । शत्रुले चारै तिरबाट यिनीहरुलाई घेरामा पारे । कर्णेल शेरजंग थापाले आफ्नो सैनिकहरुको मनोबल बढाउँदै ६ महिनाभन्दा पनि बढी समय अवधीसम्म शत्रुको विरुद्ध युद्ध लड्दै गरे । ६ महिनाको लामो अवधीमा गोला, वारुद, खाद्यान्न, औषधी एवं अन्य आवश्यक सामानहरुको कमी हुँदै गयो । तर कर्णेल शेरजंग थापा हतोत्साहित एवं निराश भएनन्। जंगलको झारपात खाएर पनि आफ्नो २५० जना सैनिकहरुको भरमा स्कार्दुचौकी वा क्षेत्र तथा उनीहरुसँग घेराबन्दीमा परेका २७० जना गाउँलेहरुको जीवन रक्षाको लागि शत्रुको विरुद्ध युद्ध जारी राखेका थिए । उनी युद्ध पनि गर्ने र कम्यूनिकेशन पनि आफैँ संचालन गर्दथे ।
कर्णेल थापालाई धेरै आशा थियो हेडक्वाटरबाट थप राशन, गोला बारुद एवं सैनिकहरु आईपुग्नेछ । तर अनिश्चित मौसम, भारी हिमपात तथा हावाको तीव्र वेगले गर्दा हवाईजहाजबाट थप सहायता समयमा पुग्न सकेन । साथै पैदल बाटोमा चारै तिर शत्रुको सैनिकहरु, भारी हिमपात, अप्ठ्यारो मौसम, लामो बाटोले गर्दा पनि थप मद्दत प्राप्त गर्न गाह्रो भयो । उता शत्रुले घेराबन्दी गरेको थियो । यस्तो विकट स्थितिमा पनि कर्णेल शेरजंग थापाले साहस एवं वीरताका साथ शत्रुको विरुद्ध युद्ध लडे । जम्मा ६ महिना ३ दिनसम्म उनी युद्ध लडे । साथै युद्धकलामा विश्वकीर्तिमान (रेकर्ड) लाई थापाले तोडे। भनिन्छ अफ्रिकामा कर्णेल थम्पसनले घेराबन्दीमा परेर जम्मा ६ महिना डेढ दिन मात्र शत्रुसँग लड्दा उनको नाम गिनिज बुकमा दर्ता भएको छ । त्यसका लागि शेरजंग थापाको नाम पनि गिनिज बुकमा उल्लेख हुनुपर्ने हो ।
निष्कर्षः
(क) “भारतीय एक्स गोर्खा सभिस मेन एसोसिएसन” ले ब्रिगेडियर शेरजंग थापाको नाम गिनिज बुकमा दर्ता गराउन लेखापढी गर्नु पर्ने ।
(ख) जम्मु कश्मीरस्थित “गोर्खा एसोसिएसन” वा अन्य गोर्खा संस्थाले हरेक वर्ष ब्रिगेडियर शेरजंग थापाको जन्मजयन्ती मनाएर उनको योगदान (स्कार्दुको नायक) बारेमा सार्वजनिक प्रचार प्रसार गर्नुपर्ने ।

त्रिलोकसिंह थापामगर

नेपाल सरका पूर्व सचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री