बीसीसी युकेद्वारा नौ वर्षे ङोन्डो कोर्ष शुरु 

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध शिक्षामा अत्यन्त महत्व राख्ने ङोन्डो (पूर्व–गत) अभ्यास शुरुवात गरेको छ ।
आइतबार, ३१ अक्टोबरका दिन अल्डरसटस्थित गुम्बामा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त अभ्यासको थालनी गरिएको हो ।
डाकीनी अर्थात् तारा देवीको पूजाको दिन पारेर शुरुवात गरिएको उक्त अभ्यासमा बीसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले उक्त ङोन्डोको बारेमा जानकारी गराउँदै अभ्यास गराएका थिए ।
सेचन गुम्बा काठमाण्डौंले तयार पारेको पाठ्क्रम र निर्देशनमा संचालन हुने उक्त कोर्ष पूरा गर्नका लागि ९ वर्ष लाग्नेछ । अभ्यासको पहिलो  ३ वर्ष ङोन्डो अभ्यास, दोस्रो ३ वर्ष त्रिमूल र अन्तिम ३ वर्ष महासन्धि पाठमा केन्द्रित रहने छ । उक्त कोर्षको प्रत्येक दिन विद्यार्थी आफैँले घरमा अभ्यास गर्नुपर्ने छ । र, साथै शुरुको अवस्थामा प्रत्येक हप्ता गुरुहरुले समेत आवश्यक अभ्यास गराउने छ ।
आफ्नो धर्म, संस्कार, संस्कृति, परम्परा संरक्षण तथा सम्वर्धन गर्दै बुद्धको दर्शनलाई विश्वभर फैलाउने र बौद्ध शिक्षालाई व्यवहारमा लागू गर्ने उद्देश्यका  स्थापना भएको बीसीसी युकेले स्थापनाकाल देखिनै बौद्ध धर्मसँग सम्बन्धित कक्षाहरु संचालन गर्दै आइरहेको अवस्थामा उक्त ९ वर्षे अभ्यासको शुरुवात गरेको हो ।
उक्त ङोन्डो अभ्यासका लागि गत अक्टोबरको ५ देखि ७ तारिकसम्म बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा धर्म गुरु सेनले तीन दिने ङोन्डो अभ्यास गराएका थिए भने हिज होलिनेश राबजम रिन्पोछेले लुङ्ग (आगमा) सहित प्रवचन  दिएका थिए ।
बौद्ध शिक्षाको अभ्यास सँगसँगै प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको काठमाण्डौंस्थित सेचन गुम्बाले संसारका विभिन्न देशमा ९ वर्षे कोर्ष गराउँदै आइरहेको अवस्थामा नेपाली समुदाय बेलायतमा बीसीसी युकेमार्फत पहिलोपटक अभ्यास गराउन लागिएको हो ।
उक्त ङोन्डोको अभ्यास गर्नका लागि शुद्ध वंश र दिक्षित भैसकेका गुरुहरुबाट लुङ्ग लिनु पर्ने, शुद्ध मन, उच्च विचार र सकारात्मक सोचका साथ निरन्तर अभ्यास गर्नुपर्ने बताउँछन् बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङ । उनका अनुसार सो ङोन्डो अभ्यासका लागि हाल ६० जना विद्यार्थीहरु रहेका छन् । सो अभ्यासले  ज्ञान, प्रज्ञा, अनुभव, काया, वाक्क, चित्तमा शुद्धीकरण गर्नुको साथै सम्यक दृष्टिको विकासमा समेत ठूलो भूमिका खेल्ने उनको विश्वास छ ।
उक्त अभ्यासको पहिलो दिन बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष ले. काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पूर्व अध्यक्ष ले. नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, सल्लाहकार एवं ट्रष्टिज मेजर खुशीमान गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, महासचिव क्याप्टेन देव घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ लगायत कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टिज, भक्तजन, गुम्बा स्टाफ, विशेषगरी आमाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री