लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वास कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ ।
नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिको योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गर्नुभयो । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले दुई देशका संसदबीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो,“संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।”
नेपालको प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताउनुभयो । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौँदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उहाँको भनाइ थियो ।
“संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो” प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।
नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उहाँले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताउनुभयो ।
लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पुर्याएको धारणा व्यक्त गर्नुभयो ।
बेलायतको संसद्मा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उहाँले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो ।
समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुग्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा