लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी लैजान आग्रह गरेका छन् ।
‘कोप २६’ विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री देउवाले आज नेपाली दुताबास लण्डनमा गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरु तथा सदस्यहरुसितको कार्यक्रममा सो आग्रह गरेका हुन् ।
उनले नेपालमा लगानी लैजानका लागि विद्यमान अफ्ठेराहरुलाई समाधान गर्ने पनि आश्वासन दिए । लगानीकर्ताहरुलाई नेपालमा प्रवेशाज्ञा लगायतका समस्याका बारेमा सरलीकरण गरिने पनि उनले वचन दिए ।
संसारका विभिन्न ठाउँमा नेपालीहरुले इमानदारितापूर्वक काम गर्छन् भन्ने परिचय बनिसकेको उल्लेख गर्दै उनले बेलायतमा रहेका नेपालीहरुलाई पनि सोहीअनुसार काम गर्न अपील गरे ।
गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा बेलायती सांसदहरुसित पनि कुरा उठाइसकेको र बेलायती सरकारी तथा संसदीय टोलीसित आफूले कुरा राख्ने जानकारी उनले दिए । गोरखाहरुको हकहितका लागि सरकार हर हालतमा लागि पर्ने पनि उनले दृढता व्यक्त गरे ।
बेलायतबाट नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी चैत सम्ममा नेपाल कोरोनामुक्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा, एनआरएनए आइसिसी सल्लाहकार कुल आचार्य, युके संरक्षक शेर सुनार, एनसिसी युकेका उपाध्यक्ष गोविन्द खरेल लगायतले बोलेका थिए । सो अवसरमा एनआरएनए युकेका तर्फबाट ज्ञापन पत्र पनि बुझाइएको थियो ।
यसैबीच प्रधानमन्त्री देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । समाजका अध्यक्ष तथा नेपालका लागि बेलायतका पूर्व राजदुत आन्ड्रयू स्पार्कको नेतृत्वमा आएको प्रतिनिधि टोलीले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभयो । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी हुनुुहुन्थ्यो ।
यस्तै, प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ । नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री देउवासित शनिबार नै बेलायतस्थित नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको प्रतिनिधि टोलीले पनि भेट गरेको छ ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती