उत्पादनमुखी सहयोगको शुरुवात !

संसारभरी दिने वा अरुलाई सहयोग गर्ने प्रचलन धेरै अगाडिदेखि नै चल्दै आएको हो। सामाजिक सद्भाव कायम राख्न पनि सक्नेले नसक्नेलाई सहयोग गर्न आवश्यक छ। यदि यो भावनामा कमी आउने हो भने हाम्रो समाज झनै कुरुप देखिने छ। हुनत काम गरेर प्राप्त गरेको रकमको निश्चित प्रतिशत सरकारलाई कर दिने प्रचलन पनि यही सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित छ। तर विभिन्न कारणले सरकारले मात्र समाजको सही व्यवस्थापन गर्न नसकिने देखिएको छ। दिएर मात्रै समस्याको समाधान नहुने भएकोले यो दिने प्रक्रियामा पनि परिवर्तन हुँदै आएको छ । अशक्तलाई दिन अनिवार्य हुन्छ तर सक्नेले आफ्नो शक्तिलाई उत्पादनमा जोड्न सकियो भने त्यसले समाजमा ठूलो फड्को मार्न सक्छ । व्यवसाय धेरै सम्पत्ति हुनेहरूले मात्रै गर्ने हो भन्ने धारणा पनि बिस्तारै परिवर्तन हुँदै आएको छ । थोरै लगानीमा पनि धेरै प्रकारका व्यवसाय गर्न सकिने हुन्छ तर त्यति पैसा पनि जुटाउन नसकिने अवस्था छ । भएको जायजेथा बैंकमा राखेर पाउने ऋण केही कारणले व्यवसाय फस्टाउन सकेन भने बेघरबार बन्न परेको थुप्रै उदारहणहरु छन् । नाफा हुनेभन्दा तिर्न पर्ने ब्याज बढी हुँदा व्यवसाय फस्टाउन सक्दैन । गरिबी निवारणलाई व्यवसाय बनाउन खोजिएपछि सधैं दिने र लिने दुवै धनी बन्न सक्दैन ।

काममा फुर्सद हुँदा प्राय म केही पढ्ने लेख्ने वा कहिलेकाहीं फोनमा हुन्छु । साथीहरु बेलाबखत सोध्छन् केमा व्यस्त हो भनेर । सकेसम्म भन्ने कोशिश पनि गर्छु । यस्तै क्रममा एक जना गोरा साथीले आफ्नो छोरी पनि स्वयंसेवी बनी अफ्रिकाका विभिन्न देशहरुमा गएको बतायो । उनले सामाजिक रुपान्तरण विषयमा अध्ययन गर्दैछिन् आफूले बचाएको केही पैसा त्यही उद्देश्यमा खर्च गरिरहेको बताए । छोरीकै सिफारिशमा आफूले पनि केही पैसा एउटा संस्थामार्फत दिँदै आएको बताउँदै त्यसको वेबसाइड देखायो । मैले उत्सुकता साथ हेर्ने नै भएँ।

३० अगस्ट २०१९ को दिन थियो त्यो । दुई हप्ता पछाडि मेरो जन्म दिन थियो। मैले पनि तुरुन्त आफ्नो नाम रजिस्टर गरेँ । जन्म दिनको बेला अनावश्यक खर्च कटाएर कुनै न कुनै प्रकारले सक्ने जति केही सामाजिक काम गर्ने बानी बसाएका छौं। मलाई यो काम शुरु गर्न दुई हप्ता कुर्ने धैर्यता रहेन।

केयर इन्टरनेशनलको “लेण्ड विथ केयर” । यो अभियान अप्रिल २०१० देखि शुरू भएको रहेछ । हालसम्म संसारका १०० भन्दा बढी राष्ट्रमा गरिबी हटाउने उद्देश्यले सन् १९४५ देखि संचालित यो अमेरिकी संस्था हो । युद्धले संसार तहसनहस भएको बेला शुरू भएको यो संस्थाले त्यतिबेला” केयर प्याकेज” भनेर अति आवश्यक सामग्रीहरु युरोप पठाएको थियो । बेलायतले सन् १९५५ मा पहिलोपटक यस्तो सहयोग प्राप्त गरेको थियो । पछि सन् १९८५ देखि भने बेलायत आफैं यो संस्थाको बलियो खम्बा बन्न पुग्यो । आफ्नै सक्रियतामा बेलायतले विश्वभरि नै विभिन्न क्षेत्रमा काम गरिरहेको छ। शायद सहयोगबाट मात्रै गरीबहरुको जीवन परिवर्तन हुन सक्दैन भन्ने नवीन सोचसहित विश्वका केही देशहरूमा माइक्रो फाइनान्सको अवधारणा विकास हुँदै गर्दा यो संस्थाले पनि त्यतातिर आफ्नो पाइला चालेको हुनपर्छ ।  केयर इन्टरनेशन युकेले अहिले १२ वटा देशमा गरिबी हटाउने नयाँ उपायसहित उत्पादन प्रक्रियामा क्रान्तिकारी फड्को मारिरहेको छ ।

थोरै पैसा नभएको कारण धेरैले चाहेर पनि आफ्नै काम गर्न सकिरहेको हुँदैन । केही गर्छु भन्ने योजना आँट र संकल्प भए पनि त्यसलाई मूर्त रूप दिन आर्थिक पक्षले अवरोध खडा गरेको हुन्छ । ससाना घरेलु कामहरु स्थानीय रूपमा संकलन, उत्पादन र वितरण गर्न सकियो भने पनि दूरदराजका गाउँहरुका धेरै समस्या समाधान हुने गर्दछ । विशेष त महिला केन्द्रित उत्पादनमूलक काम गर्न सकियो भने धेरै मात्रामा सफलता हुने तथ्याङ्कले पनि प्रमाणित गरेको छ । स्थानीय रुपमा व्यवसाय गर्न चाहनेहरुबाट आफ्नो योजनासहित कति लागत लाग्छ त्यसको लागि निवेदन प्राप्त भएपछि आवश्यक जाँच पड़ताल पछि त्यसको जानकारी वेबसाईडमा सार्वजनिक गरिने रहेछ । आफूले रोजेको व्यक्तिलाई १५ पाउण्डका दरले जति जनालाई पनि दिन सकिन्छ । मागिएको पैसा पूरा भएपछि त्यसलाई सबै लगानी भएको कोलममा राखिँदोरहेछ । पहिलोपटक मैले तीन जनालाई सहयोग गरे । त्यसबाहेक संस्था सञ्चालनमा सहयोग गर्न चाहनेले थप सहयोग गर्न सकिने हुँदा मैले पहिलोपटक १० प्रतिशत ४.५० पाउण्ड दिएँ। यो दिनैपर्ने बाध्यकारी भने होइन । आयआर्जन भएपछि दामासाहीले सबैलाई त्यो पैसा फिर्ता दिने रहेछ तर कुनै ब्याज भने तिर्न पर्दैन । बिना ब्याजको लगानी । नाफा बाँड्न पनि नपर्ने ।

मैले शुरुमा तीनजना छान्दा शायद राजनीतिक पृष्ठभूमिका कारण दिलदिमागमा सधैँ पेरू रहेको हुँदा दुई जना त्यहाँबाट र एशियन भएकोले फिलिपिन्सलाई छानेको हुनुपर्छ । उनीहरूमध्ये दुई जनाले तोकिएको समयभन्दा अगाडि पटकपटक गरी मेरो लगानी फिर्ता गरे । गत वर्ष फेरि मेरो जन्म दिनको छेकातिर अर्को दुई जनालाई त्यो फिर्ता आएको पैसा दिएँ। त्यसबेला पनि एक पेरू र अर्को ईक्वेडरकोलाई दिएँ । पैसा जम्मा हुँदै गएकोले आठ महिना अगाडि मलावी र पाँच महिना अगाडि पाकिस्तानको ठूलै समूहलाई दिएँ । यसपाली जन्म दिनको दिन त्यहाँ जम्मा भएको पैसामा ३६ पाउण्ड थपेर फेरि पाकिस्तान, जाम्बिया र भियतनामीहरुलाई दिएँ । यो संस्थालाई थप तीनपटक गरी जम्मा १२.७५ पाउण्ड  सहयोग गरेछु । अहिलेसम्मको रिपोर्ट यसरी पठाएको रहेछ । जम्मा ऋण दशपटक गरी ४४ जनालाई दिँदा १८५ परिवार सदस्यसहित जम्मा २३३ लाई सहयोगसहित चार जनाले जागिर पनि पाएछन् । मेरो खल्तीबाट गएको ८५.५० मा १२. ७५ संस्थालाई सहयोग पछि बाँकी भएको पैसा १० जनालाई दिँदा १५० लगानी भैसकेको र ३.५३ अझै खातामा बाँकी देखिन्छ । मैले यो कुरा खासै धेरैलाई भनेको थिइन् । दुई महिना अगाडि जीवनसंगिनी मिनुलाई सुनाउँदा उनी पनि ज्यादै प्रभावित भएको थियो । आफूले दिएको पैसा खातामा आएपछि फिर्ता लिने वा फेरि अरुलाई सहयोग गर्ने त्यो आफू खुशी गर्न सकिन्छ।

अर्को काम गर्ने ठाऊँमा एक जना पाकिस्तानी साथी छ । उसँग काम गर्दा मैले यो संस्था बारे सामान्य कुरा निकाल्दा उसले तुरुन्त उसको देशमा सञ्चालन भई रहेको दुईवटा संस्था बारे कुरा सुनाउँदै वेबसाइड देखायो । केही दिनको लागि मलाई काम पुगी हाल्यो । यो कुरा चलेको पनि झण्डै दुई वर्ष नै भैसकेछ ।

यो बीचमा हाम्रो पूरा ध्यान अर्को अभियानमा केन्द्रित भयो जसलाई “नव निर्माण” भनियो । २२ देशका १०१ साथीहरूबाट एक लाखको दरले जम्मा भएको पैसा बैंकमा नै छ । कोरोना, राजनीति फेरि अहिले एनआरएन चुनावलगायत धेरै कारण र मुख्य त हामी नेतृत्व गर्नेहरुले आँट गरेर जोखिम लिन नसकेको कारणले ठोस काम भने हुन सकेको छैन । तर यसबीचमा हामीले धेरै सरसल्लाह, सम्पर्क र सहकार्यका धेरै सम्भावनाहरु अध्ययन गरेका छौं । नेपालमा रहेका कतिपय जिम्मेदार साथीहरुको मेहेनत र उत्साहलाई हामीले मूर्त रूप दिन सकेका छैनौं। हुन त हामीले शुरुमा नै दुई वर्षभित्र केही गर्नु पर्छ भनेका थियौं। तर सोचेकोभन्दा धेरै समय अगाडि पैसा जम्मा भएकोले केही गरी हालौं भन्ने पनि अलि छिटो नै भयो । केही कानुनी प्रक्रियाले लामो समय लिएकोले पनि हामी अलि निष्क्रिय भएको जस्तो देखियो । हामीले शुरुमा नै पब्लिक कम्पनी बनाउने र कम्तीमा १ हजार जनाको समान सहभागी गराउने तयारी गरेको तर त्यो धेरै नै महत्वाकांक्षी देखियो र त्यस बीचमा खर्च नै धेरै हुने हुँदा बरु थोरै बाट योजनाअनुसार सक्नेले अलि थपथाप गरेर केही गर्नपर्छ भन्ने निष्कर्षमा भर्खरै आइपुग्यौँ। विश्वास छ केही समयभित्र हामीले कुनै योजना तय गर्नेछौं ।

लेखक

अहिले नेपालमा धेरैले नयाँ नयाँ प्रविधिबाट सानो ठूलो व्यवसाय गर्दै आएका छन् । सेतोपाटी अनलाइनले त “नेपाली ब्रान्ड” भनेर छुट्टै शीर्षक नै राखेर निरन्तर रुपमा जानकारी दिँदै आएको छ । ती सबै खबरहरु, युट्युवमा देखाइने दृश्यहरु प्राय सबै हेर्ने गरेको छु । केही दिन अगाडि मात्रै मैले यो जम्मा भएको पैसा हामी आफैं योजना बनाएर व्यवसाय गर्नुभन्दा राम्रो काम गरिरहेकाहरुसँग नै मिलेर त्यही व्यवसाय बढाउँदा पो राम्रो हुन्छ कि भन्ने सोच्दै थिएँ। तर खै किन हो एक्कासी मलाई त्यो पाकिस्तानी साथीले भनेको संस्थाको सम्झना आयो । यो संस्थाले सन् २००१ मा दुई जनालाई दश /दश हजार बिना ब्याजको कर्जा दिएर शुरू गरेको थियो । मुसलमान धर्मअनुसार ब्याज लिनु हराम मानिने हुँदा बिना ब्याज ऋण दिने सोचको प्रयोग भएको थियो। त्यसताका नजिकैको बंगलादेशमा भएको ग्रामीण अभियानको केही प्रभाव पाकिस्तानमा पनि पर्न लागेको थियो । तर त्यो भन्दा फरक ढंगबाट सफल प्रयासको उपायस्वरूप यो संस्थाको जम्मा भएको रहेछ। अहिले उनीहरूले प्रति व्यक्ति बढीमा ५० हजार दिने गर्दछ ।मैले सोचेँ हामीले पनि २५ हजार सम्मको अभावमा कसैले व्यवसाय गर्न नसकेको भए त्यस्तो व्यक्तिको सही पहिचान गर्न सकियो भने अहिले नै ४०० व्यक्तिलाई उद्यमी बनाउन सहयोग गर्न सकिने रहेछ । छाती ढक्क फुलेर आयो साथीहरुसँग कुरा गर्न पर्छ कि जस्तो पनि लाग्यो । तर म रोकिएँ । ‘हैन, जुन उद्देश्यले पैसा जम्मा भएको हो त्यही गर्नु पर्छ । बरु यसबाट आम्दानी भएर मुनाफा हुन थालेपछि केही गर्न सकिन्छ’ भन्ने लागेको छ ।

डाक्टर अमजद सकीबले सरकारी नोकरी कालमा गरिबीको कारण समाजको अति दुखद अवस्थालाई नजिकबाट देखेका थिए। पंजाब रुरल सपोर्ट प्रोग्राममार्फत गाउँमा ऋण दिने काममा उनी संलग्न थिए। दश हजार ऋण लिएका एक महिलासँग यति पैसाले के हुन्छ भनी सोध्दा अहिले मेरा बच्चाहरुले दिनको एक छाक मात्रै खाना खान पाएका छन् अब यो ऋणको सहयोगले उनीहरुलाई दुई छाक खाना दिन सक्नेछु भन्ने जवाफले उनलाई अति नै प्रभाव पार्यो । उनका अर्का मित्र डाक्टर कामरान शामशसँग मिलेर यस्तो अवस्थालाई सुधार गर्न के गर्न सकिएला भन्ने अनुसन्धान गर्न थालेँ । दिएको पैसा खाएर सकिने तर ब्याजसहित सावा तिर्न कसरी सम्भव हुन्छ ? गरिबी हटाउन गरिएको लगानीमाथि ब्याज लगाएर कसैले सम्पति कमाउन व्यवसाय गर्नु उचित होइन बरु जीवनयापनका विविध उपायहरु खोजी गरी उत्पादनमा लगाउन सकियो भने मात्र वास्तवमा गरिबी निवारण हुन सक्छ बन्ने निष्कर्षमा पुगेका थिए । मुस्लिम धर्मअनुसार कर्ज-स -हसान जसलाई “सुन्दर ऋण” को रूपमा व्याख्या गरिएको छ। त्यसैलाई मूल मन्त्र मानेर “अखुवत” संस्थाको जन्म भएको थियो । नेपालीमा “भातृत्व” भन्ने भाव आउने यो शब्द “मवखत” सँग पनि मिल्दो छ । प्रोफेट मुहम्मद मक्काबाट मदिना जाँदै गर्दा बाटोमा सबैले देखाएको भातृत्वलाई यो संस्थाले आत्मसात गरेको छ । शुरुमा दुई जना साथीहरुले जम्मा गरेको २० हजार रुपैयाँ दुई जनालाई ऋण दिएर शुरू भएको यो संस्था सन् २००३ मा मात्र कानुनी रूपमा संस्थागत भएको थियो। अहिले पाकिस्तानको सबै क्षेत्रमा करिब आठसय वटा संपर्क कार्यालय संचालित छन् । संसारका धेरै देशहरूमा यसको शाखाहरूमार्फत सहयोग संकलन गर्दछन् । अहिलेसम्म झण्डै पचास लाख नागरिकले १४० बिलियन पाकिस्तानी रुपैयाँ ( झन्डै नेपाली एक खरब ?) ऋण प्राप्त गरेको छ । ३०१ स्कूल र तीन वटा कलेज सञ्चालनमा छन। कपडा बैंक र स्वास्थ्य चौकीहरुमार्फत सेवा प्रदान गर्दै आएको छ । शुरुमा ऋणको लागि निवेदन दिन दुई सय दस्तुर तोकिएको छ। निश्चित ब्याज नतोकिए पनि आपसी सहयोगको लागि १ प्रतिशत ऐच्छिक सहयोग भने पनि ऋणीहरुले खुशी भएर आफूले कमाएको केही हिस्सा यो संस्थामार्फत आफू जस्तै आवश्यक पर्नेहरुलाई सहयोग गर्न दिने गरेका छन्। आपतकालीन, विवाह, स्वास्थ्य, शिक्षा, ब्यबसाय, बैकल्पिक,कृषि लगायतको शीर्षकहरुमा ऋण प्राप्त गर्न सकिन्छ। बैंकहरुले पनि धितो राखेर ऋण लिनेहरु धेरैले पैसा नतिर्ने हुँदा निश्चित प्रतिसत खराब ऋण भनेर छुट्याइएको हुन्छ। तर यो संस्थाको ऋण फिर्ताको दर ९९.९ प्रतिशत छ। पाकिस्तानको ग्रामीण जीवनलाई माथि उठाउने काममा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । माइक्रो फाइनान्सको इतिहासमा यो संस्थाले थप उपलब्धि प्राप्त गरेको छ ।

हामी नेपालीहरु पनि अरुलाई सहयोग गर्न पाउँदा खुशी हुन्छौं। विशेषत आपतबिपतका विभिन्न घडीहरुमा तुरुन्तै धेरै सहयोग जुटाउँदै आएका छौँ। कुनै न कुनै सामाजिक संस्थाहरुमार्फत सक्दो सहयोग गर्दै आएका छौँ। विदेशबाट शव पठाउँदा होस् वा विदेशको जेलबाट छुटाउन होस्, औषधि उपचार गर्न अथवा कसैलाई पढाउन, भुइँचालो, बाढीपहिरो, आगलागी, महामारी हुँदा मात्रै हैन कुनै रियालिटी शोमा आफूलाई मनपरेको कलाकारलाई जिताउने अभियान पनि चलाउँछौं । समग्रमा भन्दा दिने विषयमा हामी दानी नै मान्नु पर्दछ। यो हाम्रो स्पिरिटलाई उत्पादनसँग जोड्न सकिएला कि नसकिएला भनेर साथीहरुसँग मिलेर केही प्रयासहरु भएका छन्। अरु धेरैले धेरै प्रकारका प्रयासहरु गरेका होलान् । यसबारे कुरा गर्दा खै नेपाल हो होला र ? गर्न सकिएला ? सम्भव होला र ? सबैको विदेश जाने चाहना हुन्छ कसले गर्ला भन्ने नै बढी टिप्पणी हुने गरेको पाइन्छ । बंगालादेश, पाकिस्तान लगायत थुप्रै देशहरुमा हुन् सक्ने अनि नेपालमा हुँदैन भन्ने हो भने हामीले हाम्रो सामाजिक धरातललाई डोजर नै लगाउन पर्ने हुन्छ । अन्यथा यो सम्भव छ र हुन्छ । केही दिन अगाडी यूट्यूब हेर्दै गर्दा भारतीय पूर्व रास्ट्रपति अब्दुल कलामले तीन विषयमा कसैसंग कहिले पनि कुरा नगर्नु भनेको भिडियो हेर्न पुगेछु। शुरुमा त किन यस्तो भनेको होला भन्ने लागेको थियो तर अहिले त्यो सत्य हो जस्तै लागेको छ। उनका अनुसार आफ्नो सफलताको राज, समस्या र सपनाबारे कसैलाई पनि नभनेको राम्रो । यस बारे सविस्तार कुनै बेला ब्याख्या गर्ने छु अहिलेलाई यत्ति नै ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री