को हुन् बेलायतका नयाँ नेपाली राजदुत आचार्य ?

तस्वीर Gokhan Balci / Anadolu Agency

लण्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नयाँ नेपाली राजदुतका रुपमा ज्ञानचन्द्र आचार्यलाई शुक्रवार नियुक्त गरेकी छिन् ।

उनी बेलायतका लागि नेपालको प्रतिनिधित्व गर्ने बाइसौं राजदुत हुन् ।

६१ वर्षीय पूर्व परराष्ट्र सचिव आचार्य नेपालको कुटनीतिक क्षेत्रममा सुपरिचित नाम हो ।

सन् १९८१ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि सन् १९८३ मा उहाँ परराष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । आचार्यले सन् १९८४ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँ सन् १९८६ सम्म मन्त्रालयको परराष्ट्र मन्त्रालयको युरोप महाशाखामा कार्यरत रहनुभयो । तत्पश्चात सन् १९८६देखि सन् १९९१ सम्म उहाँ नेपाली दुताबास इजिप्टमा द्वितीय सचिवका रुपमा काम गर्नुभएको थियो ।

सन् १९९१ देखि १९९५ सम्म उहाँ पुन परराष्ट्र मन्त्रालयकै संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्था महाशाखामा काम गर्नुभयो । सन् १९९५ देखि १९९८ सम्म उहाँ नेपाली दुताबास जर्मनीमा उपनियोग प्रमुखका रुपमा कार्यरत रहनुभयो । सन् १९९८ देखि २००३ सम्म परराष्ट्र मन्त्रालयको प्रवक्ता र अमेरिका महाशाखा र दक्षिण एसिया एवम् सार्क महाशाखाको प्रमुखको रुपमा सेवा गर्नुभयो ।

सन् २००३ देखि २००७ सम्म संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संघका लागि नेपालको स्थायी प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदुतका रुपमा कार्य गर्नुभयो ।

आचार्यले सन् २००७ देखि २००९ सम्म परराष्ट्र सचिवका रुपमा सेवा गर्नुभयो ।

उहाँ सन् २००९ मा संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदुतका रुपमा नियुक्त हुनुभएको थियो । उहाँ सन् २०१२ मा संयुक्त राष्ट्रसंघको उपमहासचिवमा नियुक्त हुनुभएको थियो । उहाँले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारका रुपमा पनि काम गरिसक्नुभएको छ।

सन् १९६० मा काठमाडौँमा जन्मनुभएका आचार्यका श्रीमती र दुई सन्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री