एनआरएनए युकेको कार्यालयबाट दुताबासको घुम्ती सेवा


लण्डन । एनआरएन युकेको अल्डरसटस्थित कार्यालयबाट नेपाली दूतावासको घुम्ती सेवा प्रदान गरिने भएको छ ।

नेपाली दूतावास लण्डन र एनआरएनए युकेबीच हरेक महिनामा एक दिन अल्डरशटस्थित कार्यालयबाट दुतावासले घुम्ती सेवा प्रदान गर्ने सहमति भएको एनआरएनए युकेले जनाएको छ ।
जसअनुसार महिनामा एक दिन दूतावासका कर्मचारी एनसीसीको कार्यालयमा उपलब्ध हुने छन् र दूतावासबाट प्रदान गरिने सेवा प्रदान गरिने छ ।
‘दूतावास पुग्न नसक्ने नेपालीहरुलाई यसले ठूलो सहयोग पुर्याउने छ,’ एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले भने । यो सेवाबाट विशेषगरी कामकाजी वर्ग र वृद्धवृद्धाहरु लाभान्वित हुने उनको अपेक्षा छ । ‘भाषाको समस्याका कारण असजिलो महसुस गर्नेहरुलाई पनि यसले ठूलो मद्दत पुर्याउने छ,’ गाहा मगरले भने ।
एनआरएनए युकेको अठार वर्षको इतिहासमा यसरी पहिलोपटक आफ्नो कार्यालयबाट दुताबासको सेवा दिन लागिएको हो ।
निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार आफूले कार्ययोजना बनाएर सेवा प्रदान गर्न लागिएको गाहा मगरले बताए । ‘चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ, त्यसलाई कार्यान्वयनमा लैजाने प्रयासमा गरेको छु,’ उनले भने ।

यसैबीच एनआरएनए युकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँचै दिन खुला राख्ने भएको छ ।
कार्य समितिको मंगलबार बसेको बैठकले ‘एनआरएन डे’ को अवसरमा आइतबार उद्घाटन गरिएको कार्यालयबाट अब हप्तामा पाँचै दिन आफ्ना पन्जीकृत सदस्य तथा बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरले निर्वाचन अगावै आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै आफू अध्यक्षमा निर्वाचित भएमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुसार कार्यालय स्थापना भइसकेको र अब कार्यालयबाट नियमित रुपमा  सेवा सन्चालन गरिने उनले बताए । ‘बेलायतस्थित नेपाली समुदायको सहयोग र सुझाव अनुरुप क्रमिक रुपमा आफ्ना सबै प्रतिबद्धताहरु पूरा गर्न म प्रतिबद्ध छु,” उनले भने।
अध्यक्ष गाहा मगर बाहिर कुनै कार्यक्रम वा मिटिङ भए बाहेक हप्तामा पाँचै दिन कार्यालयमा उपस्थित हुने छन् भने ३३ सदस्यीय कार्यसमितिबाट महिनामा कम्तीमा एक दिन एक जनाले सेवा प्रदान गर्ने छन् । त्यसको कार्यतालिका पनि तय गरिने भएको छ । ‘कार्य समितिका ३३ जनामध्ये अध्यक्ष बाहेक पालैपालो कम्तीमा एक जना पदाधिकारी तथा सदस्यको कार्यालयमा उपस्थिति हुने छ,’ गाहा मगरले भने ।
अध्यक्ष बाहेकका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु कार्यालयमा उपस्थित भई सेवा प्रदान गर्ने कार्यतालिका तय गर्न अध्यक्ष गाहा मगर र कार्य समिति सदस्य चम्पा थापालाई जिम्मेवारी दिइएको छ । अध्यक्ष गाहा मगर र सदस्य थापाले कार्य समितिका सबै पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी कुन दिन कुन पदाधिकारी उपस्थित हुने तालिका निर्धारण गर्ने छन् । त्यस्तै, बेलायती नेपाली समुदायले भोग्दै आएका समस्या पहिचान गरी ती समस्या समाधानका लागि कार्यालयबाट आवश्यक सेवा प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले समस्याको पहिचान र सेवा क्षेत्र निर्धारण गर्न अध्यक्ष गाहा मगरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्षहरु मोहन कार्की र गोविन्द खरेल, महासचिव खुसी लिम्बू र प्रवक्ता भरतमणि चोङवाङ सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री