इन्टेक १९७१ ले मनायो स्वर्ण जयन्ती

लण्डन । इन्टेक १९७१ मा बेलायती सेनामा भर्ती भएका पूर्व गोरखा सैनिकहरुले स्वर्ण जयन्ती मनाएका छन् ।

यही शनिबार अल्डरसटको दी पालेस रेस्टुरेन्टमा भएको एक समारोहमा उनीहरुले ब्रिटिश गोर्खा ब्रिगेड हङकङमा भर्ती भएको पचासौँ वर्ष पुगेको ऐतिहासिक शुभ अवसरमा स्वर्ण जयन्ती मनाएका हुन् ।

कार्यक्रममा सहभागी हुन युकेको विभिन्न भागमा बस्नु हुने दौँतरीहरु, उहाँहरुको परिवार र नेपाल तथा हङकङबाट समेत आएका थिए ।  कार्यक्रममा प्रमुख अतिथिहरुको लागि आमन्त्रित गरिएको संस्थाको मानार्थ सदस्यहरु केही कारणवश अनुउपस्थित रहे पनि कार्यक्रमको अध्यक्षता र अतिथिको दुवै कार्य वर्तमान अध्यक्ष भूपू क्याप्टेन भीम बहादुर गुरुङ १ र २ जीआरले गरेका थिए ।
कार्यक्रममा आसन ग्रहण पश्चात नेपाली राष्ट्रिय गीत तथा ब्रिटिश राष्ट्रिय गीतको धुनको साथसाथै वर्तमान अध्यक्ष भूपू क्याप्टेन भीम बहादुर गुरुङ १ र २ जीआर, लगायत भूपू अध्यक्षद्वय भूपू कर्पोरल पूर्णवीर गुरुङ २ र २ जीआर र भूपू लेप्टेन रेशम शेरचन २ र २ जीआर, बीयस्सी बोइजको प्रतिनिधि भूपू मेजर कर्णसेर तामाङ्ग क्यूजी सिग्नल्स, स्मारिकाको सम्पादक भूपू लेप्टेन नरेन्द्रराज काम्बाङ १० जीआर र बाबुजीहरुको प्रतिनिधि भूपू मेजर टिकेन्द्रदल देवान ६ जीआरको संयुक्त प्रयासमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन भएको थियो । त्यसपछि पक्लिहवा र धरानमा भर्ती भएका कुल संख्या २१० जवानमध्ये हङकङको सेकोंग तालिम केन्द्रबाट केही कारणबस तीन जवान तालिम पूरा नगरी नेपाल फिर्ता पठाईएकोले बाँकी २०७ जवानमध्ये हालसम्म ३७ जवानको देहान्त भएकाले उहाँहरुको स्मृतिमा एक मिनेट मौनधारण गरी आखिरी पोस्टको धुन बजाई श्रद्धान्जलि अर्पण गरिएको थियो । त्यसपछि संस्थाको अध्यक्ष भूपू क्याप्टेन भिम बहादुर गुरुङ १ र २ जीआरद्वारा ५० सौं स्वर्ण जयन्तीमा सहभागी सम्पूर्ण दौंतरीहरुलाई सम्वोधन गरी स्वागत गर्नुको साथसाथै यस भब्य कार्यक्रमलाई तन, मन र धनले सहयोग पुर्याउनु हुने विभिन्न ओहोदाको सदस्यहरुलाई उहाँहरुले पुर्याउनु भएको सहयोगको कदर गर्दै धन्यवाद प्रकट गर्नु भएको थियो ।
त्यसपश्चात ५० सौं स्वर्ण जयन्तीको उपलक्ष्यमा भूपू लेप्टेन नरेन्द्रराज काम्बाङको सम्पादनमा तयार पारिएको स्मारिका र भूपू लेप्टेन रेशम शेरचनद्वारा सिर्जना गरिएको इन्टेक १९७१ साल यूकेको लोगो अङ्कित प्लागको विमोचन गरिएको थियो । स्मारिकाको सम्पादक भूपू लेप्टेन नरेन्द्रराज काम्बाङ र प्लाग तथा ब्याक्ड्रपको संयोजक भूपू लेप्टेन रेशम शेरचनलाई उहाँहरुको अमूल्य योगदानलाई कदर गरी संस्थाको तर्फबाट वर्तमान अध्यक्ष भूपू क्याप्टेन भिम बहादुर गुरुङबाट प्रसंशा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा क्रमश सामाजिक संजाल संयोजक भूपू क्याप्टेन ईन्द्रबहादुर गुरुङको संयोजकत्वमा दौंतरीहरुको सम्झनारुपी सामूहिक पुरुष तथा महिलाहरुको फोटो खिच्ने क्रम रहेको थियो । फोटो खिचिसके पछि संस्थाको मनोरन्जनको कार्यक्रम प्रस्तुतिको लागि कार्यक्रम संयोजक र सचिव भूपू क्याप्टेन नरबहादुर गुरुङ एम्बीओ, बिएम र भूपू कर्पोरल टंक शेरचनको संयुक्त प्रयासमा करिब एक घण्टासम्म सयपत्री सांस्कृतिक समूह यूकेको कलाकारहरुद्वारा विभिन्न नेपाली लोकनृत्यहरु र भूपू कर्पोरल टंक शेरचनद्वारा बाँसुरीको धुनहरुले सबैको मन जित्न सफल रहेको थियो । सांस्कृतिक मनोरंजनपश्चात संस्थाको तर्फबाट अध्यक्ष भूपू क्याप्टेन भिम बहादुर गुरुङद्वारा कलाकारहरुलाई पुरस्कार तथा सर्टिफिकेटहरुले सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमबाट भरपूर्ण मनोरंजन लिएर पालेस रेस्टुरेन्टद्वारा तयार गरिएको साँझको स्वादिस्ट भोजनले लामो समयसम्म भोकाएको भोकको पेट एकछिनमै टन्न पारिदियो । दुर्भाग्यवस खाना संयोजक भूपू क्याप्टेन गोपाल प्रधान केही कारणवस सहभागी हुन असमर्थ हुनुभयो । तैपनि उहाँले कार्यक्रम अगावै दौंतरीहरुको सहभागिताको संख्या संकलन गर्नु भएकोले रेस्टुरेन्टलाई तयारी गर्न धेरै सहज पर्न गएको अनुभूति भएको थियो ।

त्यसपछि पचासौं स्वर्ण जयन्तीलाई विशेष रुप दिन भूपू क्याप्टेन ईन्द्रबहादुर गुरुङको संयोजकत्वमा केक उत्सवको आयोजना भएको थियो ।  केक काट्ने कार्य र श्याम्पिन फोरेर चियर्स गर्ने कार्य सपन्न भएको थियो र त्यसको लगत्तै युकेकी महारानी, इन्टेक १९७१ युकेको महिला र इन्टेक १९७१ यूकेलाई टोस गर्ने काम भएको थियो ।

त्यसपछि इन्टेक १९७१ युकेको संस्थापक अध्यक्ष र सल्लाहाकार तथा दौंतरीहरुमा सबैभन्दा पहिलो फौजी नम्बर पाउने व्यक्ति भूपू कर्पोरल पूर्णवीर गुरुङद्वारा आयोजक समितिको सम्पूर्ण पदाधिकारीहरुलाई कार्यक्रम सफल बनाउन अहम भूमिका निभाएको हुनाले हार्दिक धन्यवाद दिँदै सम्पूर्ण कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

स्मरण रहोस् यो कार्यक्रमको शुरुदेखि अन्त्यसम्म तदारुकताको साथ सन्चालन गरी सम्पूर्ण कार्यक्रम संचालन गर्न अहम भूमिका निभाउनु हुने भूपू क्याप्टेन नरबहादुर गुरुङ एमभिओ, बिईएमको भूमिका महत्त्वपूर्ण थियो । साथै कार्यक्रममा अनवरत ढंगले आर्थिक मामिलाको हिसाबकिताब राख्ने कोषाध्यक्ष भूपू डब्ल्यूओटू श्यामसिंह राना हुनु हुन्थ्यो भने पेय पदार्थलाई व्यवस्थापन गर्नमा सहयोग गर्नु हुने भूपू सार्जन्ट आनबहादुर पुन हुनु हुन्थ्यो । मनोरंजनको संयोजक भूपू कलर सार्जन्ट पूर्णबहादुर गुरुङले गर्नु भएको थियो ।

कार्यक्रममा स्मारिकालाई सौजन्य गर्ने सम्पूर्ण दौंतरीहरुलाई प्रति परिवारलाई एक थान स्मारिका र प्लाग निशुल्क प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री