शुक्रबार, कार्तिक ५ २०७८ | Fri, October 22, 2021
नेपालको समय: ०३:४६ | UK Time: 23:01

हिमवत खण्डमा गोर्खालीहरुको आगमन

त्रिलोकसिंह थापा मगर
२०७८ असोज २५ गते १०:५२

भाग्सुको तस्वीर

भारतको उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशको विभिन्न भेगहरुमा विभिन्न समय, काल तथा चरणहरुमा गोर्खा राज्यको सीमा बिस्तारको क्रममा गोर्खा समुदायको आगमन भएको बुझिन्छ। गोर्खा सेना त्यस भूखण्डमा गोर्खा राज्यको सरहद बिस्तार गर्न गराउन त्यहाँ पुगेका थिए । आफ्नै मुलुकजस्तै हिमवत खण्डको मनमोहक सौंदर्यता, रमणीय, मन छुने मोहनी लगाउने शान्त पर्यावरण तथा आकर्षक पर्वतीय भेग र हिम शिखरमा रमाएर केही गोर्खा सैनिकका परिवारहरु विभिन्न समयकाल तथा चरणहरुमा आफ्नो थलो छोडेर त्यहाँ स्थायी बसोबास गर्न थाले । जुनको विवरण यसप्रकार छ

पहिलो चरणः (सन १७९०) गोर्खालीहरुको आगमन
(क) सन् १७९० मा कुमाउ तथा गढवाल राज्यका पूर्व राजा हर्षदेव जोशीको आग्रह र अनुरोधमा बृहत गोर्खा राज्यका गोर्खाली सेनाले कुमाऊ राज्यमा ठूलो संख्यामा प्रवेश गरे । त्यसै समय देखि (सन् १७९०) कुमाऊँ, गढवाल तथा हालको हिमाञ्चल प्रदेशका विभिन्न पर्वतीय भेगहरुमा गोर्खा राज्यका केही गोर्खाली सैनिकहरु स्वेच्छाले त्यही बसोबास गर्न थाले ।
(ख) प्रमाणको रुपमा हालको उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशका विभिन्न ठाऊँ तथा स्थानहरुमा गोर्खाली सैनिकहरुले स्थापना तथा निर्माण गरेका प्रसिद्ध किल्ला, गढ, कोत, सैनिक छाउनी तथा मठ मन्दिर, पौवा पाटी, बाटो घाटो, धार्मिक यात्रु विश्राम घर, सराय र देवस्थालहरु आदी आज पनि त्यहाँ देख्न सकिन्छ । ती मध्ये केही प्रसिद्ध ऐतिहासिक तथा पुरात्वातिक महत्वका भवनहरुको नाम यस प्रकार छन् ।
(ग) मलाऊँको प्रसिद्ध किल्ला (सोलन) , अर्की किल्ला (शिमला), सैनिक कोत (सुबायु), नहानको किल्ला, नालागढ, जैथक कोत, जीत गढ, कुथल गढ, तारागढ किल्ला, (बकलोह) तथा देहादुनमा स्थित प्रख्यात नालापानी खलङ्गा किल्लाहरु आदी ।
(घ) सन् १८०३ देखि १८१४ सम्म सेनापति अमर सिंह थापा सरिवार शिमला शहरको नजिकको अर्की किल्लामा बस्नु भएको थियो । गोर्खाली सैनिकहरुले निर्माण तथा स्थापना गरेका ऐतिहासिक र पुरात्वतिक किल्ला, गढ, कोतहरुमध्ये अधिकांश हाल जीर्ण तथा भग्नावशेष अवस्थामा छन् । यी जीर्णावस्था तथा भग्नावशेषको रुपमा रहेका प्राचीन तथा प्रख्यात भवनहरुले विशाल गोर्खा राज्यको बिर्सिएको गाथाहरु मात्र सुनाउँछन् । यिनीहरुलाई हेरचाह गर्ने, मर्मत गर्ने, सोधपुछ गर्ने, आजभोलि कोही छैनन् । गोखार्ली फौजका सेना नायकहरु अमरसिंह थापा,
बलभद्र कुंवर, रणजीत सिंह थापा, भक्ति थापा आदिहरुले हालको हिमाञ्चल तथा उत्तराखण्डको विभिन्न स्थानहरुमा देवालय, मठ मन्दिरहरु र यात्रुघर स्थापना गरेका थिए । प्रसिद्ध जयन्ती देवी माता (काँगडा) सन् १८०५, रेणुका माता (सिरमौर) सन् १८०४, काल रात्री देवी (जैथोक)
सन् १८०९, श्री माता काली (सुबाथु), भैरव, बिष्णु र गणेश (मलाउन सोलन), पेगोडा शैलीको लोकेश्वर महादेव (बकलोह), भाग्सु नाथ (भाग्सु धर्मशाला) आदि । यी सम्पूर्ण मठ मन्दिर गोर्खा समुदायले सन् १७९० देखि निर्माण गरेको पाइन्छ । केही मठ मन्दिरहरुको पुनः निर्माण अंग्रेजहरुको शासनकालमा गोर्खाली समुदायले गरेका थिए ।
(ङ) सन् १८१२ मा जनरल अमर सिंह थापाले उत्तराकाशीमा प्रसिद्ध गंगोत्री मन्दिरको निर्माण गरेका थिए । केदारनाथको मन्दिर तथा गंगा नदीको मुहानमा प्रसिद्ध “गौमुख धारा” अमर सिंह थापाबाट निर्मित भएको थियो । त्यस ठाँऊमा बाटोघाटो र यात्रुघरहरु गोर्खालीले निर्माण गरेका थिए । देहरादुनमा प्रसिद्ध भद्रकाली मन्दिर सेनापति बलभद्र कुंवरबाट स्थापित भएको थियो ।
(च) वास्तवमा नेपाल सरकार तथा भारत सरकारको पुरातत्व विभागहरुको संयोजनमा ती प्रख्यात ऐतिहासिक तथा पुरात्वातिक महत्वको गोर्खालीहरुद्वारा निर्मित किल्ला, गढ, देवस्थल, मन्दिर तथा कोतहरुको विवरण संकलन गर्नुपर्ने र त्यसपछि संरक्षण र सम्बर्धनको कार्ययोजना तर्जुमा गर्नुपर्ने देखिन्छ । यी नेपाल र भारत तथा भारतीय गोर्खालीहरुको ऐतिहासिक, सांस्कृतिक, पुरात्वतिक धरोहर एवं सम्पदाहरु हुन् । यिनीहरुलाई जोगाउन आवश्यक छ ।

धार्मिक कुटनीति
गोर्खा राज्यको पश्चिम सरहदको बिस्तारको क्रममा गोर्खा सेना नायकहरु द्वारा निर्मित र स्थापित मन्दिर, देवस्थलहरु वास्तवमा धार्मिक कुटनीतिको रणनीति थियो । आफ्नो धार्मिक आस्था, विश्वासका साथै हिन्दु धर्मालम्बी समुदायमा चर्चित, जनप्रिय एवं लोकप्रिय हुने कुटनीति थियो । स्थानीय राजाहरुले गर्न नसकेको कार्य गोर्खाली सेना नायकहरुले गरे भन्ने सन्देश प्रवाहित गर्नु थियो । आजसम्म पनि स्थानिय निवासीहरुले गोर्खा सेना नायकहरुको नाम लिन्छन् । त्यसबेला गोर्खा सेना नायकहरुको विरुद्ध दुष्प्रचार गर्न ईष्ट ईन्डिया कम्पनी सरकारलाई ज्यादै कठिन र गाह्रो भएको थियो र हम्मे हम्मे परेको थियो ।

लेखक त्रिलोकसिंह थापामगर

दोश्रो चरणः (सन् १८०५ देखि १८०९)
(क) सन् १८०५ देखि १८०९ सम्म बडाकाजी अमर सिंह थापाको नेतृत्वमा गोर्खा फौजले प्रसिद्ध किल्ला कांगडा किल्लालाई आफ्नो घेराबन्दी तथा कठोर नियन्त्रणमा राखेका थिए । त्यसै समय र अवधिमा कांगडा किल्लाको निकट पहाडको टाकुरामा माता जयन्ती देवीको मन्दिर उनले निर्माण गरे । मन्दिरका लागि शिलालेख, पुजारी, रक्षक तथा सहायकहरु काठमाण्डौंबाट झिकाएका थिए । मन्दिरको रेखदेख तथा पूजापाठ आदि सम्पूर्ण व्यवस्था र जिम्मेवारी गोर्खालीहरुको थियो । त्यसै समयदेखि केही गोर्खालीहरु मन्दिरको छेउछाउ गाउँहरुमा बसोबास गर्न थाले । आज पनि केही भाग्सुबासी गोर्खाली परिवारमा जयन्ती मातालाई आफ्नो ईष्ट देउटा मान्ने चलन यथावत कायम छ ।
(ख) सन् १८०९मा गोर्खा फौजका सेनापति अमर सिंह थापा तथा पञ्जाबका महाराजा रणजीत सिंहको बीच शान्तीमैत्रीको सन्धिको धारा अनुसार गोर्खा फौजले किल्ला कांगडाको घेराबन्दी र नाकाबन्दी छोड्नु पर्यो । राजा रणजीत सिंह गोर्खाली सैनिकहरुको वीरता एवं युद्धकलाबाट धेरै प्रभावित थिए । उनको अनुरोधमा केही गोर्खाली सैनिकहरु स्वेच्छाले महाराजा रणजीत सिंहको सिख सेनामा भर्ना भएका थिए । सिख सेनाले गोर्खाली सैनिकहरुको सपरिवार सम्मानका साथ स्थायी बसोबासको व्यवस्था मिलाइ दिए । कांगडा जिल्लाको ईच्छी, मसरेड, सेड्डा, गगल तथा मरकोरी गाउँहरुमा जग्गा जमिन मिलाई दिए । यसरी सन् १८०९ देखि धर्मशाला जिल्ला कांगडामा गोर्खालीहरुको दोश्रो चरणमा आगमन भएको देखिन्छ ।

तेश्रो चरणः (सन् १८४६ भाग्सुमा गोर्खालीहरु)
(क) सन् १८४६को हाराहारीमा ईष्ट ईण्डिया कम्पनी सरकारले पञ्जाबका महाराजा रणजीत सिंहको सिख सेनाबाट किल्ला कांगडा आफ्नो अधीनमा लिए । किल्लाका रक्षाको लागि गोर्खालीहरुको पहिलो तथा चौथो नरसरी बटालिएनका गोर्खा सैनिकहरुलाई त्यहाँ तैनाथ गरे । त्यस पछि गोर्खा सैनिकहरुको स्थायी आवास, तालिम केन्द्र, भर्ना केन्द्र तथा केन्द्रिय कार्यालय (रेकर्ड अफिस) आदिको लागि राम्रो ठाऊंको आवश्यकता पर्यो । साथै ईष्ट ईन्डिया कम्पनी सरकारको अङ्ग्रेजी सेना तथा अङ्ग्रेज निजामती कर्मचारी एवं अफिसरहरुका लागि शीतल, चीसो (ठँडा ठाउँ) पर्यावरण भएको स्थानको आवश्यकता महशुस भयो ।
(ख) कम्पनी सरकारले भाग्सू धर्मशालाको माथिल्लो भेगलाइ गोर्खा सेनाको सहायक छावनी खडा गर्न छनोट गरे । त्यस क्षेत्रको घना जंगल फँडानी गरी सन् १८४९ देखि गोर्खा सैनिकहरु बस्न शुरु गरेका थिए । बाटो घाटो, सहायक सैनिक छावनीको भवनहरुमा साथै भाग्सू नाथ मन्दिर तथा यात्रु विश्राम घर आदीको निर्माण कार्यमा गोर्खाली सैनिकहरुको श्रम शक्ति लागेको थियो ।
(ग) सन् १८४९ देखि नै केही गोर्खा सैनिक (नरसरी बटालिएन) सपरिवार त्यस भेगमा बसोबास गर्न थालेका थिए । सुनिन्छ भाग्सूबासी गोर्खालीहरुको पहिलो गोर्खा बस्ती तथा गांऊहरु मकल्योडगंज, फुर्सेतगंज, बारहकोठे, तोतारानी र तिराहा लाईन सन् १८४९ पछि स्थापना भएको अनुमान गरिन्छ । त्यसपछि यलिघाडी, पेन्सन लाईन, सघेड, सल्लाघारी आदि ठाऊँहरुमा गोर्खाली गाँउहरु सन् १८६९ मा स्थापना भएको हो भनेर भनिन्छ ।

चौथो चरणः (सन् १८६१० फस्ट गोर्खा राईफलको आगमन)
(क) समूहगत रुपमा गोर्खालीहरुको भाग्सु धर्मशालामा आगमन बारेमा हिमाञ्चल प्रदेशका पूर्व मन्त्री श्री सत महाजनले आफ्नो अनुसन्धनात्मक लेखमा यसरी उल्लेख गर्नुभएको छ ।
“The Frist regular settlement of Dharmashala is known to have taken place sometime between 1879 and 1882 when the pensioners lines is known as Chilghari” (Gurkhas: Personification of courage in Quarterly Magazine Bindu 1987, Page 17)

(ख) वास्तवमा सन् १८६१ म पहिलो गोर्खा पल्टन वर्तमान पुलिस लाईनमा स्थानान्तरण भएको थियो । त्यसपछि सन् १६ फरवरी १८८६ तिर तिराह लाईनमा (कनलोट) अर्को गोर्खा बटालियनको स्थानान्तरण भएको थियो । त्यसपछि माथिल्लो धर्मशाला म्याकलोडगंजको परिसरमा गोर्खाली सेनाको फस्ट गोर्खा रेजिमेन्टको स्थायी आवाशीय छावनी, गोर्खा बस्ती, प्रसिद्ध भाग्सुनाथ मन्दिरको जिर्णोद्वार तथा पर्यटकीय विकाशको प्रारम्भिक चरणमा फस्ट गोर्खा राईफल्सको गोर्खा सैनिकहरुको अभूतपूर्व योगदान रहेको ईतिहास छ ।
(ग) अनकण्टार, घनाजंगल, दुर्गम र उराठलाग्दो माथिल्लो धर्मशाला म्याकलोडगंजलाई विश्वप्रसिद्ध पर्वतीय शहरमा विकसित गर्नु गराउनुमा भाग्सुका गोर्खा समुदाय र फस्ट गोर्खा राईफलको महत्वपूर्ण भूमिका आज ईतिहासको पानामा लुकेर बसेको छ ।

छोटकरीमा
हिमवत खण्डमा गोर्खा समुदाय गोर्खा राज्यको सीमा विस्तारको क्रममा विभिन्न समयकाल, चरणहरुमा (सन् १७९०, सन् १८०५,सन् १८०९, सन् १८४६, सन् १८४९, सन् १८६०—६१ तथा सन् १८६९) आगमन भएको अनुमान सजिलैसंग गर्न सकिन्छ । हिमाञ्चल प्रदेशको भाग्सु धर्मशाला, कांगडा जिल्लामा गोर्खाली समाज र समुदायको बसोबास गरेको झण्डै २५० वर्ष लामो ईतिहास छ । यस्तो लामो अवधिमा पनि भाग्सुका गोर्खालीहरुले आफ्नो जातीय पहिचान, गोर्खा संस्कृति, परम्परा, रीतिरिवाज, सामाजिक चाडपर्वलाई यथावत सकेसम्म जोगाई
राखेका छन् । आफ्नो गौरवमय ईतिहास सुरक्षित राखेका छन् । नेपाल सरकारको संस्कृति मन्त्रालयले उनीहरुलाई थप सहयोग गर्नुपर्ने देखिन्छ । जे होस् “जय गोरख” को अभिवादन भाग्सुबासी गोरखालीको विशिष्टता हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक