मेयर विष्णु गुरुङले गरे गोर्खा सोलिसिटर्स उद्घाटन

लण्डन । गोर्खा भूतपूर्व सैनिकका सन्तानद्वारा बेलायतमा पहिलो पटक खोलिएको ल फर्म गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक रुपमा हन्स्लो बरो अफ लण्डनका मेयर बिष्णुबहादुर गुरुङले रिबन काटेर उद्घाटन गर्नुभयो ।

शनिबार आयोजित कार्यक्रममा उपस्थित कानून ब्यवसायसँग सम्बन्धित सोलिसिटर्स र ब्यारीष्टर्सहरु साथै अन्य प्रोफेशनलहरु र विभिन्न संघ संस्थाका नेतृत्व तथा प्रतिनिधिहरुलाई गोर्खा सोलिसिटर्स लिमिटेडका डाईरेक्टर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेला लिम्बुले स्वागत गर्नुभयो । स्वागत मन्तब्यकै क्रममा तिगेलाले गोर्खा सोलिसिटर्स फर्म र उक्त फर्मले प्रदान गर्ने सेवाहरुका बारेमा संक्षिप्त रुपमा जानकारी गराउनुहुँदै आफ्नो फर्ममा आवद्ध टिमका सदस्यहरुको परिचय गराउनु भयो ।

प्रमुख अतिथि मेयर गुरुङले गोर्खा सोलिसिटर्स फर्मलाई बधाई दिनु हुँदै उक्त फर्मले नेपाली तथा गैर नेपालीहरुलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्न सफल हुन सकोस् भनी शुभकामना दिनुभयो । यसरी नै गोर्खा मुद्दामा लामो अनुभव तथा प्रसिद्धी कमाएका चर्चित ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसिटरहरु दिपक भट्टराई, विपिन रेग्मी र अमर गुरुङले पनि आ–आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।

स्मरण रहोस, गोर्खा सोलिसिटर्स लिमीटेडको कार्यालयको औपचारिक उद्घाटन भर्खर मात्र भएता पनि उक्त ल फर्मले गत मे महिना देखि नै आफ्नो कार्यालय स्थापना गरी कानूनी सेवा संचालन गर्दै आईरहेको छ । नेपालीहरुको बाक्लो बस्ति रहेको वेलायतको दक्षिण भाग अर्थात हिथ्रो एयरपोर्ट नजिक लण्डनको हन्स्लो शहरमा खोलिएको सोलिसिटर्स फर्मले अत्यधिक गोर्खा तथा नेपालीको परिवार साथै स्थानीय समुदायलाई सुविधा उपलब्ध गराउनेछ । फर्मका प्रिन्सिपल सोलिसिटर तिगेलाले विगत दुई दशकदेखि कानुनी सहायता दिदै आएका छन र उनलाई अनुभवी सोलिसिटरको रुपमा चिनिन्छ । गोर्खा सोलिसिटर्स लिमिटेड वेभसाइटबाट समेत सम्पर्क र सुविधा उपलब्ध भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री