एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

तस्वीर न्यूज ट्वान्टीफो टिभीबाट साभार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

उहाँ अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो । अध्यक्ष कुमार पन्तसँग झीनो मतले पराजित हुनुभएको थियो ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यले सङ्घलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उहाँले भन्नुभयो, “संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।” आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा सङ्घको पञ्जीकृत सदस्यको सङ्ख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्को सङ्ख्या कम्तीमा एक सय पु¥याउने घोषणा गर्नुभयो ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आउनुभएको छ । उहाँ लण्डनका स्थापित व्यवसायी हुनुहुन्छ । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिनुभएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नुभएको छ ।
करिब दुई दशकदेखि सङ्घमा आबद्ध आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतमा राखेको बताउनुभयो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेशियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो ।

महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उहाँको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न उहाँको प्रतिबद्धता छ । यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेका छन् ।
आचार्य प्यानलबाट सङ्घको महासचिवमा अमेरिका निवासी चिकित्सक डा केशव पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ भने उपाध्यक्षमा आरके शर्मा र एसी शेर्पाले। यस्तै महिला उपाध्यक्षमा जानकी गुरुङ, युवा संयोजकमा मनोज गोर्खाली, सचिव पदमा खगेन्द्र न्यौपाने, नारायण आचार्य र प्रवीण गुरुङ, राज रेग्मीले युवा उपाध्यक्षमा, प्रवीण गुरुङले लगायतले उम्मेदवारी घोषणा गरे । भोमा साँवा लिम्बुले महिला सचिवमा, हिमाल गुरुङले युवा संयोजकमा, जुनु गुरुङ महिला संयोजकमा, भीम केसी कमलले युरोप उपसंयोजकमा, चिन्तामणि सापकोटाले युरोप संयोजक पदमा, दयानिधि सापकोटाले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरे ।

घोषणा सभाको अध्यक्षता एनआरएनए आइसिसीका उपाध्यक्ष सोनाम लामाले गरेका थिए भने स्वागत मन्तब्य एनआरएनएका सल्लाहकार सोम सापकोटाले गरेका थिए । घोषणा कार्यक्रममा सङ्घका संस्थापक महासचिव तथा पूर्व राजदुत भीम उदास, एनआरएनएका वर्तमान उपाध्यक्ष मन केसी,  सल्लाहकार हरिबोल भण्डारी, मानार्थ सदस्य शनिकुमार ओली, पूर्व उपाध्यक्ष हिक्मत थापा, वेदप्रसाद खरेल, सल्लाहकार विश्वआदर्श पण्डित, मलेसिया अध्यक्ष विनोद थापा, हल्याण्डका महासचिव सीता थापा, अमेरिका अध्यक्ष वुद्धि सुवेदी, कतारका अध्यक्ष मोहम्मद मुक्तदा, मानार्थ सदस्य धर्मराज रेग्मी, अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङ, बेलायत अध्यक्ष प्रेम गाहामगर, नरेन्द्र भाट,  लगायत सङ्घका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री