मंगलबार, कार्तिक ९ २०७८ | Tue, October 26, 2021
नेपालको समय: १०:१० | UK Time: 05:25

बेलायतमा अभावको अनुभव

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ असोज १० गते १३:३५

तस्वीर डेलीमेलबाट साभार

हिजो काममा जान दुई कारणले घरबाट अलि छिटो निस्केँ । एक जना साथीसँग नभेटेको धेरै भएको थियो । म पुगेपछि उनी निस्कने हुँदा सँगै बसेर चिया पिउने र गाडीमा पेट्रोल भर्ने । हिजो घर फर्किंदा नै तेल सकिएको चेतावनी त दिएको थियो तर भोलि भरौँला भनेर अल्छी गरियो । प्राय घरबाट निस्कँदा बिहान बाटोमा अक्कलझुक्कल केही गाडी देखिन्थ्यो तर आज त नजिकैको दुई वटा पम्पमा लामो लस्कर देखियो । मैले अन्दाज लगाएँ। गत हप्तादेखि म बेलायतको अहिलेको अवस्थाबारे एउटा लेख लेख्न पर्यो भनेर केही जानकारी संकलन गर्दै थिएँ । पक्कै यो पनि त्यही कारण हुनुपर्छ । मैले सधैं तेल भर्ने ठाउँमा पुग्दा छ बजेर पैंतीस मिनेट भएको थियो । निस्कँदा सात बजेर सात मिनेट भैसकेको रहेछ । प्राय म पूरा ट्याङ्की तेल भर्ने गर्छु तर आज त तीस लिटरमा पुगेर आफैं रोकियो । अरूलाई पनि पुर्याउन यो बन्देज लगाएको रहेछ । पैसा तिर्न जाँदा क्यासिएरसँग सोधेँ- साँच्चिकै तेल सकिएको हो र ? सकिए त सबैतिर सबै ठप्प नै हुन्छ नि दुःख पनि सबैले बाँड्न सकियोस् भनेर बन्देज लगाएको हो भन्दै थियो । काममा आईपुग्दा पहिलोपटक झण्डै पन्ध्र मिनेट ढिलो भएछ ।

भेट्न नपाइएला कि भनेको साथी पनि कफि गफ गर्दै एक घण्टा जति नै बस्यो। काममा अलि ढिला भएको जानकारी मेनेजरलाई गर्नुपर्ला भनेर लेख्न खोजेको उसैले ट्वाइलेट पेपरले ढाकिएको ट्वाइलेटको झ्यालबाट पेट्रोल पम्पमा भीड देखिएको र तिनीहरूलाई किन आत्तिएको होला भन्दै गाली गरिरहेको एउटा फोटो पठाएको रहेछ । सारै घत लागेकोले मैले पनि फेसबुक वालमा हाल्दिएँ। मेरो ढिलाइको जानकारी गराउन आवश्यक लागेन।

केही हप्तादेखि बेलायती पत्रपत्रिका र सञ्चार माध्यमहरुमा विभिन्न कारणले गर्दा अति आवश्यक सामानहरु पनि कमी हुँदै गएको जानकारी दिन थालेको थियो । यस्तो जानकारी पाएपछि समस्या झन् बढ्दै जाने गर्दछ। मानिसहरू अनावश्यक रूपमा धेरै सामानहरू थुपार्न थाल्ने हुँदा पसलहरु छिट्टै रित्तिने र पछि आउनेहरुले खोजेको वस्तुहरू नपाउने हुन्छ । अहिले ठूलाठूला पसलहरुमा थुप्रै तख्ताहरु खाली देखिन्छन् ।

बेलायतमा बेलाबखत केही कारणले अति आवश्यक सामानहरूको आपूर्तिमा समस्याहरु देखिँदै आएको छ । मेरो बेलायत बसाइको २४ वर्षे अनुभवमा म आफैँले तेल भर्नका लागि यति लामो समय भने कुर्न परेको अनुभव थिएन । केही वर्षदेखि इन्धनको मूल्य भने बढ्दै गएको थियो तर यति लामो लाइन बस्न परेको थिएन ।

कोभिड १९ को शुरुआती समयमा मानिसहरू धेरै अत्तालिएर सामान जम्मा गर्न पुगेका थिए। समयको गति संगसंगै सामान जम्मा गर्ने बानी हट्दै गयो । त्यतिबेला कुराकानीकै क्रममा मित्र गोविन्द बेल्बासेजीसँग रमाइलो वार्तालाप भएको थियो । अन्तमा हामी नेपालीलाई घरमा चामल र दालको अलि जोहो गर्न सकियो भने अरू सामानको अभावले खासै समस्या हुँदैन भन्ने निष्कर्षमा पुगेका थियौं ।

लेखक श्रेष्ठ

अहिले बजारमा अभाव देखिनुको मुख्य कारण चाहिँ देश भित्रिएको सामानलाई वितरण गर्न नसक्नु हो भन्ने छ । बन्दरगाहतिर थुप्रिएका सामान लरी ड्राइभरहरू नभएको कारण समयमा बजारमा पुर्याउन सकेको छैन । अहिले करिब एक लाख लरी ड्राइभर कमी भएको आँकलन गरिएको छ । यो समस्या समाधान गर्न ड्राइभर थप्न खोजिएको थियो। तर कोभिड १९ को कारण लामो समयसम्म ट्रेनिङ गराउन सकिरहेको छैन । करिब चालीस हजार परीक्षाहरु रद्द भएका छन् । धेरैजसो ड्राइभरहरू युरोपियनका भएको र कोभिडको कारण काम नहुँदा घर गएका थिए । एक तथ्याङ्कअनुसार करिब चौध हजार ड्राइभरहरु घर गएकोमा छ सय ड्राइभर मात्रै बेलायत फर्केको देखिन्छ । अध्यागमनको परिवर्तित कानुनअनुसार अब युरोपियनबाट आउने भन्दा फर्किनेको संख्या बढ्दै गएको देखिन्छ ।

बेलायतमा करिब पाँच लाख १६ हजार ठूला गाडी चलाउने ड्राइभर छन् भनिन्छ । अहिले धेरै ड्राइभरहरूको औषत उमेर ५०/५५ वर्ष भएकोले अबको पाँच वर्षमा झण्डै एक तिहाइले अवकास लिने अनुमान गरिएको छ । झट्ट हेर्दा ड्राइभरले पाउने तलव धेरै देखिए पनि अन्य धेरै कारणहरुले गर्दा लाइसेन्स लिएर पनि यो कामलाई निरन्तरता नदिनेको संख्या पनि धेरै नै छ । सन् २०२०मा ५ लाख १६ हजारमध्ये २ लाख ७८ हजार ७०० ले मात्रै काम गरेको देखिन्छ । युवाहरू ड्राइभर बन्न त्यति रुचि राखेको देखिँदैन । त्यसैले विभिन्न ठूला स्टोरहरुले ड्राइभर आवश्यकता प्रकाशन गर्दा विशेष सुविधा सहित राम्रै नगद दिने पनि भनेका हुन्छन् ।

ठूला गाडीहरु कति समय चलाउन पाइने भन्ने छुट्टै कानुनी व्यवस्था पनि छ । दैनिक नौ घण्टा गाडी चलाउन पाइने भए पनि पहिलो साढे चार घण्टामा अनिवार्य पैंतालीस मिनेट आराम गर्नुपर्ने हुन्छ । तर सरकारले अहिले अर्को व्यवस्था नभएसम्म यो समय बढाएर दशघण्टा बनाएर केही हद भए पनि समस्या कम गर्ने कोशिश गरेको छ। तर यो एक हप्तामा दुई दिनको लागि मात्रै हो । हप्तामा ५६ घण्टा र पन्ध्र दिनमा ९० घण्टा भन्दा बढी काम गर्न पाउँदैन ।

अर्को कारण अहिले बेलायतमा सी ओ टु ग्यासको आयातमा पनि ठूलो समस्या देखिएकोले विभिन्न क्षेत्रमा समस्या देखिएको हो भनिन्छ । खाना प्याकिङ गर्ने देखि पशु बधशालामा यो ग्यासको कमीको कारण बजारमा धेरै उत्पादनहरु सकिँदै गएको देखिन्छ । कुखुराको परिकार पाउने ठूलो रेस्टुरेन्ट नाण्डोजले आफ्नो पचास वटा शाखाहरू बन्द नै गरेको छ भने केएफसीमा केही प्रकारहरू मेनूबाट निकालेको छ । संसारकै ठूलो चेन रेस्टुरेन्ट म्याक डोनाल्डमा मिल्क सेक र बोतलको पेय पदार्थहरू उपलब्ध हुन सकेको छैन । खाना स्टोर गर्ने हरेक प्रकारका उपकरणहरुमा यो ग्यास प्रयोग गरिने हुँदा बिस्तारै धेरै सामानहरू कमी हुँदै जाने देखिन्छ ।

बेलायतको दुई ठूला रसायनिक मल उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा त्यसले उत्पादन गर्ने झन्डै ६० प्रतिशत ग्यास कमी हुन गयो। यो समस्या केही वर्षदेखि देखिँदै आएको थियो । बेलायतलाई वार्षिक ३५० मिलियन टन कार्बनडाइअक्साइड चाहिने देखिन्छ । सरकारले यो आपूर्ति बढाउन विभिन्न उपायहरु खोजी गरिरहेका छन् । अहिले स्केन्डिभिकियन देशहरू र हल्याण्डबाट धेरै आयात भैरहेकोमा अब अमेरिका, रसिया, चाइनाबाट पनि थप मात्रामा ग्यास ल्याउने तयारी भइरहेको छ । स्वाथ्य सेवामा अति आवश्यक परीक्षण गर्ने रगत राख्ने ट्यूब संसारभरि अपुग भएको छ । त्यही कारणले गर्दा बेलायती स्वास्थ्य सेवाले अति आवश्यक अवस्थामा बाहेक अरुलाई यो सेवा दिन बन्द गरेको छ।

गरीब अविकसित देशहरूमा यस्ता समस्याहरू देखा परिरहने हुँदा गारो भए पनि स्वीकार गर्ने बानी बसाउन पर्ने हुन्छ नै । तर विकसित देशहरूमा यस्तो समस्या आउँदा भने अलि धेरै असहज महशुस हुनु स्वाभाविक हो । कुनै एउटा क्षेत्रमा कमी कमजोरी हुन गए सिंगो सिस्टममा नै गडबडी हुने हुँदा त्यस्तो अवस्थामा के गर्ने भन्ने सबैले सोच्न नसक्नु स्वाभाविक नै हो । पटकपटक यस प्रकारको समस्या देख्न भोग्न पर्ने भए पछि भने बिस्तारै बानी पर्दै जाने नै छ । तर शुरुको कोभिड कालमा सार्वजनिक भएको एउटा तथ्याङ्कअनुसार संसारभर नै त्यहाँका रैथानेहरुभन्दा आप्रवासीहरुले नै धेरै भाग दौड गरेको र अनावश्यक मात्रामा सामान थुपारेको देखियो।

आज तेल भरेर आइरहँदा मैले यो कुराहरू सम्झिँदै आएको थिएँ। एक्लै भएको हुँदा सबै कुरा सम्झेर मुस्काउँदै पनि थिएँ। हामी मान्छेहरुमा के मानवीयता घट्दै गएको हो त ? जति सभ्य सुसंस्कृत देशमा बसेर पनि आफैँले मात्रै पाए पुग्ने वा मलाई मात्र भए हुन्छ भन्ने मानसिकता हुने नै रहेछ । सबैतिर अभाव भएर ठूलो समस्या भयो भने थुपारेको सामान प्रयोग गरेर आफू मात्रै कहिलेसम्म बाँच्ने होला ? अभाव समस्या पनि सबैले सहज रूपमा स्वीकार गर्न किन नसकेको होला जस्तो लाग्यो । कामबाट फर्कि‌ंदा अर्को आधा ट्यांकी तेल भर्न पर्छ होला भनेर घर आउँदा बाटोमा पर्ने पाँच वटा पेट्रोल पम्पमा पसेको कहीँ पनि नपाइए पछि घरमा आएर मिनुसँग अरु त हैन दाल, चामल र गेडागुडीको जोहो चाहिँ गर्न पर्छ कि भनेर सल्लाह भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक