विनेसाम युके पश्चिम शाखाको त्रैमासिक गोष्ठी 

लण्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) युके पश्चिम शाखाको को त्रैमासिक गोष्ठी भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ। दुईवटा सेसनमा आयोजित कार्यक्रमको पहिलो सेसन विनेसाम युके दक्षिण शाखाको अध्यक्ष विजय हितानको अध्यक्षतामा भएको थियो। दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा नोभेम्वरमा हुन गइरहेको युद्ध साहित्य गोष्ठी कसरी गर्ने, कसलाई निमन्त्रणा गर्ने इत्यादि विषयमा पहिलो सेसनमा छलफल गरिएको थियो।
विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बूको प्रमुख आतिथ्यता तथा विनेसाम पश्चिम शाखाका अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा सम्पन्न दोस्रो सेसन पश्चिम शाखाकी सचिव शान्ति लिम्बुद्वारा संचालन गरिएको थियो। विनेसाम केन्द्रीय महासचिव इजरायलबाट सुनिता राईले “म आफैँलाई खोजिरहेकी छु” भन्ने शीर्षकको कविता वाचन गरी शुरु भएको भर्चुअल गोष्ठीमा विश्वभरबाट धेरै जनाको उपस्थिति रहेको थियो।
पश्चिम शाखाका उपाध्यक्ष भरत लोहोरुङ राईले कार्यक्रममा स्वागत मन्तब्य दिनुभएको थियो। आफ्ना सिर्जना वाचन गर्ने क्रममा मोहन राजले म्यान्मारबाट “थोत्रिन लागेको कपडा” शीर्षकको कविता, अमित थेबेले “हिउँदे झरी”, भारत दिल्लीबाट डाक्टर नाज सिंहले “शब्दको अपहरण”, थिर थापाले “झ” शीर्षकको मुक्तक, जित छन्त्यालले ४ वटा मुक्तक, सेमन्त राईले गजल, पश्चिम शाखाका सल्लाहकार दुत पुनले “नाफा नोक्सान बराबर” शीर्षकको कविता, नानु रानाले मुक्तक अनि औतारी साइँलाले कविता, अध्यक्ष लालसुन्दर राईले कविता वाचन गरेर कार्यक्रमलाई रोमान्चक बनाएका थिए ।
भरत लोहोरुङ राईले मुक्तक के हो, कसरी लेख्नु पर्छ, कहाँबाट आयो भन्ने बारेमा जानकारी दिँदै भूपी शेरचनको मुक्तक सुनाउनु भएको थियो। अमेरिकाबाट विनेसाम केन्द्रीय उपाध्यक्ष डेञ्जोम साम्पाङ्गले कार्यक्रमको प्रसंशा गर्दै मन्तब्य दिएका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि सुरेन्द्र लिम्बूले कार्यक्रम अति नै राम्रो रहेको, महिलाहरुको एकदम धेरै सहभागिता रहेको भन्दै कार्यक्रमको प्रसंशा अनि धन्यबाद दिएका थिए ।
अन्त्यमा अध्यक्ष लालसुन्दर राईले दक्षिण शाखा अध्यक्ष विजय हितान र वहाँका सम्पूर्ण टिमलगायत प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु, केन्द्रीय उपाध्यक्ष डेन्जोम साम्पाङ्ग, केन्द्रीय महासचिव सुनिता राईलगायत उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री