नेपाललाई बेलायतको रेड लिष्टबाट हटाउन एनआरएनए युकेद्वारा दुवै देशका सरकारसित माग  


लण्डन । कोभिड महामारीलाई कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यावहारिक मापदण्ड हटाउन गैरआवासीय नेपाली संघ, यूकेले दुवै देशका सरकारसँग माग गरेको छ ।
एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले बुधबार दुवै देशका सरकारलाई पत्र लेखी नेपाल र बेलायतबीचको यात्रामा राखिएका अव्यवहारिक मापदण्ड पुनरावलोकन गर्न माग गरेका हुन् ।
अध्यक्ष गाहा मगरले बेलायतका यातायात मन्त्री र लण्डनस्थित नेपाली राजदूतमार्फत नेपाल सरकारलाई बेग्लाबेग्लै पत्र लेखेका छन् ।
बेलायती यातायात मन्त्री ग्रान्ट साप्सलाई लेखिएको पत्रमा बेलायतले अझै पनि नेपाललाई रेड जोनमा राखेर नेपाल–बेलायत यात्रामा समस्यायुक्त प्रावधान राखिएको भन्दै ध्यानाकर्षण गराइएको छ । नेपालमा कोरोना संक्रमण दर निरन्तर घटिरहेको र छिमेकी भारतलाई समेत एम्बर जोनमा राखिएको अवस्थामा नेपाललाई रेड जोनमा राख्नु तर्कसंगत नभएको गाहा मगरले पत्रमा उल्लेख गरेका छन् ।
गोर्खा सैनिक, तिनका परिवारसहित करिब डेढ लाखको हाराहारीमा रहेका नेपालीहरुलाई ब्रिटिश सरकारले तय गरेको यात्रा मापदण्डले निकै असर पुर्याइएको पत्रमा उल्लेख छ । नेपालबाट आउनेलाई ११ दिनसम्म महंगो होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियमको सान्दर्भिकता हटिसकेको पनि गाहा मगरले पत्रमा उल्लेख गरेका छन् ।
युरोपेली युनियनका अधिकांश मुलुकले नेपाललाई रेड जोनबाट हटाइसकेको अवस्थामा बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाई यात्रा तथा आवागमन सहज बनाइदिन आग्रह गरिएको छ ।
बेलायत सरकारले निर्धारण गरेको मापदण्डका कारण अत्यावश्यक कामका लागि नेपाल जानुपर्नेहरुलाई समस्या भएको भन्दै कोरोना महामारीको परिवर्तित अवस्था, कोभिडविरुद्धको खोप लगायतलाई आधार मान्न पनि अनुरोध गरिएको छ ।
त्यस्तै, बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीमार्फत नेपाल सरकारलाई पठाइएको पत्रमा यात्रा मापदण्ड सहज बनाउन सरकारी तवरबाटै पहल गर्न आग्रह गरिएको छ ।
बेलायतमा बसोबास गर्ने अधिकांशले कोभिडविरुद्धको खोप दुवै डोज लगाइसकेको र नेपालमा पनि खोपको विस्तार भइरहेको सन्दर्भ कोट्याउँदै अध्यक्ष गाहा मगरले नेपाल र बेलायतबीचको सदियौंदेखिको सम्बन्धलाई सुदृढ पार्दै यात्रा मापदण्ड सहज बनाउन आग्रह गरिएको छ ।
बेलायत सरकारको जारी मापदण्डका कारण चाड दशैं, तिहार लगायतका आउँदै गरेका नेपालीहरुको महान पर्व परिवारसँगै बसेर मनाउने चाहनामा पनि अवरोध पुग्ने अध्यक्ष गाहा मगरले लेखेको पत्रमा उल्लेख छ । आवागमनको नियम सहज भए बेलायतमा रहेका हजारौं नेपाली नेपाल आई चाडपर्व मनाएर बेलायत फर्किन सक्ने विषयमा पनि ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री