बेलायतमा गोरेबहादुर खपाङ्गीमगरको पाँचौ स्मृति दिवस 

लण्डन । मगर संघ युकेले पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगरको पाँचौँ स्मृति दिवस मनाएको छ ।
संघका अध्यक्ष सुनिल रानामगरको अध्यक्षता तथा महासचिव रुद्र थापामगरको संचालनमा आइतबार फेल्थाममा भएको कार्यक्रममा अध्यक्ष राना, पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा र वेस्ट लण्डन शाखाका अध्यक्ष टेक रानामगरले खपाङ्गी मगरको तस्वीरमा खादा, पानसमा बत्ती प्रज्वलन र पुष्पगुच्छा अर्पण गरेका थिए । सो अवसरमा वहाँको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। गोरेबहादुर खपाङ्गीको जीवन यात्राका बारेमा गोरेबहादुर खपाङ्गी फाउण्डेसनका अध्यक्ष हुमबहादुर थापामगरले प्रकाश पारेका थिए ।
नेपालको आदिवासी आन्दोलन र चेतनाका पर्याय गोरेबहादुर खपाङ्गीको जन्म २००३ साल उदयपुरको थाक्लेमा भएको थियो । मोटरसाइकल दुर्घटनामा परेका उनको ७० वर्षको उमेरमा २०७३ साल भदौ ११ गते न्यूरो अस्पताल बाँसबारीमा उनको निधन भएको थियो।
खपाङ्गी बाल्यकालदेखि नै पढाईमा अब्बल ब्यक्ति थिए। आफू अध्ययन तथा अध्यापन गराउँदै जनचेतनाको प्रतीक बन्दै गए। उनले समाजशास्त्रीहरुले भन्दा पहिले नेपाली समाजको अन्तर्वस्तु बुझेका थिए । शुरुमा कम्युनिस्ट राजनीतिमा लागेका उनी जनआन्दोलनपछि पहिचानको राजनीतिमा होमिएका थिए ।
मगर संघ युकेको त्रैमासिक बैठक पनि भएकोले धेरै विशिष्ट ब्यक्तिहरु, कार्य समितिका पदाधिकारी, सदस्यहरु, संरक्षक पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, ट्रस्टीहरु, शाखाका अध्यक्षहरु महिला तथा युवाहरूको सहभागिता रहेको थियो ।  यसका साथै प्रत्यक्ष उपस्थित हुन नसकेकाहरुले जुमबाट भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री