जनसम्पर्क समिति बेलायतले एनआरएनए अध्यक्षमा रविना थापालाई सहयोग गर्ने

फाइल फोटो

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ ।

समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्यसमेत हुन् ।
बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिबारे विभिन्न निर्णय भएका छन्।

यस्तै, बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रीयसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनेसमेत निर्णय गरिएको छ। संघको अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

रबिना थापालाई सघाउने निर्णय भएको छैन: सभापति गुरुङ

यसैबीच नेपाली कांग्रेसको भ्रातृसंस्था, नेपाली जनसम्पर्क समिति युके, का सभापति युवराज गुरुङले एनआरएनए केन्द्रको चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको खुलासा गरेका छन्।

सभापति गुरुङले नेपाली जनसम्पर्क समिति युके कार्यसम्पादन समितिको आइतबार बसेको बैठकमा क्रियाशील सदस्यता नवीकरण र अधिवेशनको बारेमा मात्रै निर्णय भएको स्पष्ट पारे।  रबिना थापालाई सहयोग गर्ने भन्ने बारे बैठकले कुनै निर्णय गरेको छैन।  त्यसैले कुनै भ्रममा नपर्न म आदरणीय जनसमुदायमा अनुरोध गर्दछु,” उनले भने।

गुरुङले सोमबार एक विज्ञप्ति निकाल्दै एनआरएनए आइसीसीको आगामी निर्वाचन सम्बन्धमा नेपाली कांग्रेस पार्टीको निर्देशन अनुसार नै नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग र समर्थन गर्ने जनाए । उनले आफ्नो हस्ताक्षर विना जनसम्पर्क समिति  युकेको  लेटरहेडको दुरुपयोग गरिएको बारे समितिले छानबिन शुरु गरेको पनि बताएका छन्।

गत अगष्ट ८ तारिखमा अल्डरशटमा एनआरएनए युकेका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै एनआरएनए युकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले पनि आगामी निर्वाचनमा  एनआरएनएको अध्यक्ष पदमा कुल आचार्यलाई जिताउन सार्वजनिक रुपमा अपिल गरेका थिए।

हाल काठमाडौँमा रहेका आचार्यले यसै साता एनआरएनएको रुपान्तरणको एजेन्डा सहित अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री