नेपालमा मुख्यमन्त्री हेरफेर र विश्वमा छोटो र लामो समय शासन गर्ने शासकहरु

प्रदेश नम्बर १ का मुख्य मन्त्री भीम आचार्य

केपी ओलीलाई सबैभन्दा बढी आरोप लगाउनेमध्ये अष्टलक्ष्मी शाक्य पनि थिइन् । पार्टी एकताको नाममा उनलाई बागमती प्रदेशको मुख्य मन्त्री हात पर्यो । तर नयाँ पार्टी बनेपछि उनको पद पनि धरापमा पर्यो । जे भए पनि इतिहासमा पहिलोपटक महिला मुख्य मन्त्रीको नाम दर्ज गर्न भने सफल भइन् । कतै छोटो समयको लागि मुख्यमन्त्री बनेको रेकर्ड पनि दर्ज होला कि भन्ने खस् खस् लागेर यसो हेरेको उत्तराखंडमा हरीश रावतको दोश्रो कार्यकाल एक दिनको लागि मात्रै थियो। त्यसरी नै तीन दिन मुख्यमन्त्री हुनेहरू महाराष्ट्रमा देवेन्द्र फन्दाभिस, कर्नाटकमा वी एस येद्युरप्पा, उत्तर प्रदेशमा जगदम्बिका रहेछन् । सन् १९८९-२००४ सम्म चार पटक मुख्यमन्त्री बनेका ओमप्रकाश चौतला सन् १९९० को जुलाई १२ देखि १७ सम्म जम्मा छ दिन र त्यही वर्षको १७ मार्च देखि ६ अप्रिलसम्म १७ दिनको लागि मात्रै मुख्यमन्त्री बनेका थिए । बिहारका चाणक्य भनेर चिनिने नीतिशकुमार सात पटक गरी १५ वर्ष २७४ दिन मुख्यमन्त्री भएका थिए । पहिलोपटक मुख्यमन्त्री सन् २००० मा मार्च ३ देखि १० सम्म जम्मा सात दिनको लागि बनेका रहेछन् । त्यसैगरी सबैभन्दा बढी समय राज्य गर्ने मुख्यमन्त्रीको इतिहास सिक्किमका पवनकुमार चाम्लिङको छ । उनले १२ डिसेम्बर १९९४ देखि ६ मे २०१९ सम्म निरन्तर शासन गरेका थिए । बढी समय शासन गर्ने महिला मुख्यमन्त्री भने दिल्लीका शैला दीक्षितले सन् १९९८ डिसेम्बर ३ देखि २०१३ को डिसेम्बर २८ सम्म १५ वर्ष २५ दिन सत्तामा रहेकी थिइन् । दोश्रोमा जयललिताले तमिलनाडूमा १४ वर्ष १२४ दिन शासन गरेकी थिइन् । तेस्रोमा सन् २०११ में २० देखि ममता बनर्जीले वेस्ट बंगालमा शासन गर्दै आएकी छिन्।

६ फेब्रुवरी १९५२ देखि हालसम्म शासन गरेर संसारमै जीवित पहिलो शासक बन्ने अवसर बेलायतकी महारानी एलिजाबेथ दोश्रोलाई मिलेको छ । उनी क्यानाडा, अस्ट्रेलिया र न्युजिल्याण्डका साथै सन् १९६३ अगस्त ६ देखि अफ्रिकी राष्ट्र जमाइकाको पनि राष्ट्र प्रमुख हुन् । त्यसो त अहिलेसम्म सबैभन्दा लामो समय राजा बन्ने इतिहास भने फ्रान्सका राजा लुई चौधौँले रचेका छन् । उनले १४ में १६४३ देखि १ सेप्टेम्बर १७१५ सम्म ७२ वर्ष ११० दिन अविछिन्न रूपमा शासन गरेका थिए। त्यस्तै थाइल्याण्डका राजा भुमिबल अदुल्यादेज (रामा नवौँ) ले पाएका छन् । उनले सन् १९४६ जुन ९ देखि १३ अक्टोबर २०१६ सम्म २५ हजार ६९४ दिन अर्थात् ७२ वर्ष ११० दिन शासन गरेका थिए। त्यस्तैगरी अस्ट्रिया र स्वीजरल्याण्डको बीचमा अवस्थित अति सानो देश लिन्चेस्टाइन (जहाँको राष्ट्रिय भाषा जर्मनी, मुद्रा स्वीस फ्र्याङ्क, जनसंख्या करिब ३९ हजार, प्रतिव्यक्ति आय १ लाख भन्दा माथि ) का राजा जोहान दोस्रा हुन् । उनले सन् १८५८ नोभेम्बर १२ देखि ११ फेब्रुवरी १९२९ सम्म राजकाज सम्भालेका थिए ।

सुरेन्द्र श्रेष्ठ

यी सबै विश्व रेकर्डलाई तोड्न बेलायतकी महारानीले अर्को करिब तीन वर्ष केही महिना राज्य गर्नु पर्ने हुन्छ । संसारमा लामो शासन गर्नेहरुको नामावलीमा बेलायतका महारानी भिक्टोरियाले सन् १८३७ देखि १९०१ सम्म ६३ वर्ष २१६ दिन, जापानका सम्राट हिरो हितो सन् १९२६ देखि १९८९ सम्म ६२ वर्ष १३ दिन, चाइनाका क्विङ साम्राज्यका दुई राजाले झण्डै १२२ वर्ष , डेनमार्क/ नर्वेका राजा क्रिस्टियन दोश्रोले ५९ वर्ष ३३० दिन , नेदरल्याण्ड्स का रानी विलहेइमीनाले ५७ वर्ष २८६ दिन , फ्रान्सका राजा लुई पन्धौंले ५९ वर्ष १८ दिन , मोनाकोका दुई राजा होनोरे पहिलो र तेस्रोले लगभग ११९ वर्ष, मोन्टेनिग्रोका राजा निकोलासले ५८ वर्ष १०५ दिन , ब्राजिलका सम्राट पेद्रोले ५८ वर्ष २२२ दिन राज्य गरेका थिए ।

आज फेरि एक नम्बर प्रदेशमा भीम आचार्यलाई एमालेले मुख्यमन्त्री चयन गरेको छ । त्यहाँ नयाँ राजनीतिक समीकरणको कारण उनको पद पनि धरापमा पर्ने देखिन्छ । लामो समयसम्म आफ्नो गुटको बाहेक अरुलाई कुनै पनि पद दिन तयार नभएका ओलीमा एक्कासी यस्तो परिवर्तन देखिनु आश्चर्य नै मान्नु पर्दछ। यस्तो व्यवहार पहिलादेखि नै देखाउन सकेको भए नेकपाको विघटन यसरी हुने थिएन । मरे पछि औषधी भने जस्तो अहिले गरेका प्रयासहरु खासै सफल हुने देखिँदैनन् । समकालिन नेपाली राजनीतिक पार्टीको नेतृत्वमा रहेका नेताहरुको यो अन्तिम अवसर हो। अहिलेको गठबन्धनलाई साँच्चिकै सफल बनाउन सकियो भने अब आउने केही समय नेतृत्वमा निरन्तरता हुनेछ । राजनीतिक स्थिरता र नेतृत्वको दृढ इच्छा शक्ति भएमा अहिलेसम्म राजनीति गर्नेहरु माथि उठेका धेरै प्रश्नहरु निराकरण भई देशले सही गति लिने र भावी नेतृत्व लाई सफलताउन्मुख नेपाल जिम्मा लगाउन सकिने छ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री