गोरखा सत्याग्रहद्वारा अनसनमा सहयोग पुर्याउने सबैमा आभार

लण्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आमरण अनसनमा सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
समितिका संयोजक सन्तोष थलङ तथा प्रमुख संयोजक कृष्णबहादुर राईले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सबैको सहयोगका कारण नै अनसन सफल भएको बताएका छन् ।
सत्याग्रहले राखेको माग बेलायत सरकारका भेट्रान मन्त्री र बेलायतका लागि नेपाली राजदुत दुवै जना अनसनस्थलमा नै आई पूरा गरेकाले अनसन समाप्त गरिएको सत्याग्रहले बताएको छ । यसलाई सबै नेपालीहरुको ऐतिहासिक नैतिक विजय ठहर विज्ञप्तिमा गरिएको छ ।
हेर्नुहोस पूर्ण पाठ
ब्रिटिश गोरखाहरु माथि बेलायती रक्षा मन्त्रालय (MoD) द्वारा २०७ बर्ष अघिदेखि भएको अमानविय बिभेद बिरुद्ध आरम्भ गरिएको समानताको आन्दोलन ले तिन दशक पार गरिसक्दा पनि समस्या समाधान गर्न बेलायत सरकार तत्पर नभएपछि, बाध्य भएर गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले २१ जुलाई २०२१ देखि अन्तिम निर्णायक आन्दोलन आरम्भ गरेको थियो।
गोरखा आन्दोलनको इतिहासमा, बिभिन्न गोरखा संघ संस्थाहरुले आ-आफ्नै ढंगले आन्दोलन गरेता पनि कसैबाट निस्वार्थ र निर्णायक आन्दोलन हुन नसकेपछि, तत्कालीन बि.गे.सो. र यु.बि.जि.एन. को सकृयता र सबै गोरखा संस्थाहरुको समर्थनमा २४ अप्रिल सन २०१३ मा ” गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति गठन भएको थियो ।
यो संघर्ष समितिले ७ नोभेम्बर २०१३ बाट निर्णायक आन्दोलन स्वरूप रिले अनसन सहित आमरण अनसन आरम्भ गरेको थियो । ज्ञानराज राई ले १५ दिन सम्म आमरण अनसन गरे पश्चात् बेलायत सरकारले गोरखाका मुद्दा छानबिन गर्न एक सर्वदलीय संसदिय समिति गठन गरेको थियो। सो समितिले प्रस्तुत गरेको प्रतिवेदन माथि कुनै छलफल नभएपछि, सन २०१७ मा पून: सत्याग्रहले ३ महिने अल्टिमेटम दिएर आमरण अनसन घोषणा गरेपछि बेलायत सरकार त्रिपक्षीय प्राबिधिक संयन्त्र गठन गरि बेलायती सर्बदलीय संसदीय समितिको प्रतिवेदनमा आधारित भई गोरखाहरुका सम्पूर्ण मुद्दाहरुमा वार्ता गर्न सहमत भएको थियो ।
ब्रिटिश सरकारका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि र भुतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राबिधिक समितिले एक बर्ष समय लगाएर तयार गरेको प्रतिवेदन सन २०१८ को आरम्भ मै बेलायत सरकार र नेपाल सरकार लाई बुझाएका थिए । जस्को कार्यान्वयन ३ देखि ६ महिना भित्रै गरिने भनिएको थियो ।
तर सन् २०२१ को उत्तरार्ध सम्म, राजनैतिक तथा कुटनैतिक तवर बाट अनेकौं पहल गर्दा पनि प्रतिबेदन को कार्यान्वयन गरि समस्या समाधान गर्ने कुनै तादरुक्ता नदेखाएपछि, यो अन्तिम निर्णायक आन्दोलनका लागि २१ जुलाई २०२१ बाट सत्र दिने रिले अनसन सम्पन्न गरेपश्चात ०७ अगष्ट २०२१ बाट हाम्रा सहासी अभियन्ताहरु क्रमशः श्री ज्ञानराज राई, श्री धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घले ले आमरण अनसन आरम्भ गरेका थिए ।
यो निर्णायक आन्दोलनको आरम्भ बाटै बिशेष गरी ब्रिटिश भेट्रान तथा न्याय प्रेमी बेलायती नागरिकहरुले हरेक दृष्टिकोणले अहोरात्र साथसहयोग दिएका थिए । यदि वहाँहरूको ससक्त सहभागिता नरहेको भए, हाम्रो आन्दोलनका लागि त्यो स्तरमा संचार माध्यमहरुले बेलायत सरकार माथि दबाब सृजना गर्न सक्ने थिएनन् होला ! त्यसैगरी, बेलायतमा रहेका नेपाली संघ संस्थाहरु, बिद्धान, बुद्धिजीवी, न्याय प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को ऐक्यबद्धता, हौशला एवं साथ सहयोगले आन्दोलनलाई गन्तब्यमा पुर्याउन ठूलो सहयोग पुगेका छ ।
नेपाल सरकारलाई जिम्मेवार बनाउदै समस्या समाधान का लागि अग्रसर गराउन अहोरात्र प्रभावकारि पहल गर्ने गोरखा सत्याग्रह नेपालका पदाधिकारीहरु र बौद्धिक जगत बाट यस आन्दोलनलाई ससक्त बनाई नेपाल र बेलायत सरकारलाई गम्भीर दबाब दिन प्रो. डाक्टर यूवराज संग्रौलाले खेल्नु भएको महत्वपूर्ण भूमिका यो आन्दोलनका लागि कोशेढुंगा साबित भएको छ । नेपालका प्रबुद्ध नागरिक समाज, प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय संसदहरु कानुन ब्यावसायी, मानव अधिकारकर्मीहरुले यो मुद्दा गोरखाहरुको मात्र नभएर नेपालको राष्ट्रिय मुद्दा भएकाले सबै नेपाली यस आन्दोलनमा सहभागी हुन आव्हान गरेर नेपाल सरकारलाई थप जिम्मेवार बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
बेलायत, हङकङ, नेपाल लगायत बिश्वका बिभिन्न मुलुकमा रहेका ब्रिटिश गोरखा परिबारले यो आन्दोलनलाई आत्मसात गर्दै, सामुहिक रुपमा साथै ब्यक्तिगत रुपमा आर्थिक, नैतिक एवं भौतिक रुपमा पुर्याएको योगदानले हाम्रा ३ महान सत्याग्रहीहरु र सम्पूर्ण अभियन्ताहरुलाई ठूलो हौशला र सहास मिलेको थियो ।
अन्ततः उल्लेखित सम्पूर्ण संघ संस्थाहरु तथा ब्यक्ती ब्यक्तीत्वहरुको अमूल्य साथ सहयोग, योगदान, अनि गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको दृढ संकल्प र महान सत्याग्रही श्री ज्ञानराज राई श्री धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घले को अदम्य साहसका कारण, आमरण अनसन को तेह्रौँ दिनमा गोरखाका माग सम्बोधन गर्ने प्रतिबद्धता सहितको लिखित सहमति पत्र लिएर बेलायती भेट्रान मन्त्री लियो डोखेर्टी र नेपाल सरकार का तर्फबाट बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी अनसन स्थल मै उपस्थित भएपछि अनसन तोडिएको थियो ।
यो सम्पूर्ण गोरखाहरु र स्वाभिमानी नेपालीहरुका लागि एैतिहासिक नैतिक बिजय हो । उक्त सहमति पत्रानुसार आगामी डिसेम्बर २०२१ भित्र ब्रिटिश सरकार, नेपाल सरकार र गोरखा सत्याग्रह बिच निर्णायक त्रिपक्षीय वार्ता गरि सदाका लागि समस्या समाधान गर्ने प्रतिबद्धता उल्लेख भएको छ ।
अन्त्यमा, यो आन्दोलनलाई ऐतिहासिक रुपमा सफल बनाउन आ-आफ्नो ठाउँबाट रचनात्मक योगदान पुर्याउनु हुने बेलायतमा रहेका नेपाली संघ संस्थाहरु, ब्याक्ती बिशेष, संचारकर्मी, बौद्धिक जगत, न्याय कर्मि उधमी, ब्यावसायी, ब्रिटिश भेट्रान संघ संस्था, न्याय प्रेमी बेलायती नागरिकहरु, संचार जगत साथै आन्दोलनलाई ब्यावस्थापन गर्न अहोरात्र सकृय भूमिका निर्वाह गर्ने गोरखा सत्याग्रहका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु लगायत गोरखा भान्जा भान्जीहरु प्रति “गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति” ससम्मान आभार ब्यक्त गर्दछ ।
जय गोरखा !!!
सन्तोष थलङ कृष्ण बहादुर राई
(संयोजक -यूके/नेपाल) (प्रमुख संयोजक)
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
२१ अगष्ट २०२१

प्रतिक्रिया

सम्बन्धित सामाग्री