प्रवासी नेपाली मञ्च युकेद्वारा भूपू गोर्खाका मागहरू यथाशीघ्र पूरा गर्न माग

लन्डन । प्रवासी नेपाली मञ्च युकेले आमरण अनसनमा बसिरहेका भूपू गोर्खा सैनिकका समान पेन्सन लगायतका मागहरू पूरा गराउन जोड दिँदै आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

सङ्गठनका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष भक्त गुरुङको नेतृत्वमा संगठनका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बेलायतका प्रधानमन्त्रीको कार्यालय अगाडि अनसन बसिरहेका सत्याग्रही नेतृत्वकर्ता ज्ञानराज राईलगायतका अनसनकारीहरूलाई भेटी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको थियो ।

उक्त अवसरमा सत्याग्रह आन्दोलनका संयोजक कृष्ण राईलाई अध्यक्ष भक्त गुरुङले सङ्गठनको तर्फबाट ऐक्यवद्धता पत्र हस्तान्तरण गर्नुहुँदै भूपु गोरखा सैनिकहरूका मागहरू नितान्त जायज रहेको बेलायत सरकारले अविलम्व यी मागहरू पूरा गरोस् भन्ने चाहना बेलायतका आम जनसमाजको रहेको चर्चा गर्नु भयो । अध्यक्ष गुरुङले सत्याग्रहीमाथि कुनै पनि किसिमको प्रहरी हस्तक्षेप र बलको प्रयोग सैह्य नहुने चर्चा गर्नुहँदै प्रहरीका यस्ता मानव अधिकारविरोधी कार्यप्रति विरोध जनाउनुभयो  ।

अर्का वक्ता संगठनका पूर्व अध्यक्ष दिनेश घिमिरेले यो देशको सुरक्षाका लागि जीवनको बलिदान दिन समर्पित भूपू गोरखाहरूका जायज मागहरू बेलायत सरकारले विना हिच्किचाहट यथाशीघ्र पूरा गर्नु पर्दछ भन्नुहुँदै सत्याग्रह आन्दोलनको पक्षमा बेलायती जनसमाजको समेत समर्थन रहेका चर्चा गर्नु भयो ।

यसैगरी महासचिव सुरेशजङ्ग शाहले गोरखा सैनिकहरूको योगदानले यो माटो र मुटुसँग सम्बन्ध राखेको चर्चा गर्नु हुँदै भूपू गोरखाहरूप्रति बेलायती सरकारले पक्षपातपूर्ण ब्यवहार गर्नु नहुने आमजनसमाजको धारणा रहेको विचार ब्यक्त गर्नु भयो ।

यसअघि केन्द्रीय सदस्य नरेन्द्र तामाङ्गले सत्याग्रह आन्दोलनप्रति आमजनसमाजको चिन्ता रहेको र सरकारले भूपू गोरखा सैनिकका मागहरू पूरा गरी उनीहरूको योगदानको कदर गर्नु पर्ने कुरा प्रकाश पार्नुभयो।

उक्त अवसरमा आन्दोलनका संयोजक कृष्ण राईले भूपू गोरखा सैनिकहरूका समस्या र सत्याग्रह आन्दोलनको उद्देश्य बारे जानकारी दिनु भएको थियो ।

ऐक्यवद्धता प्रतिनिधि टोलीमा सहभागिता राख्नुहुने अन्य केन्द्रीय पदाधिकारीहरूमा उपाध्यक्ष सरस्वती केसी, उपाध्यक्ष तुङ्गभद्र भुषाल, कोषाध्यक्ष पुन्य रेग्मी, विभागीय प्रमुखहरू जीवन सेन, बालकृष्ण भुषाल, ह्यारी गुरुङ, केन्द्रीय सदस्यहरू प्रकाश कँडेल, प्रेम गुरुङ र क्षेत्रीय सदस्य भिमलाल भट्टराई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ऐक्यवद्धता कार्यक्रमपश्चात सोही मागलाई सरकारी स्तरबाट कुटनीतिक पहलका लागि अध्यक्ष भक्त गुरुङको नेतृत्वमा गएको प्रवासी नेपाली मञ्च युकेको उक्त प्रतिनिधि मण्डल नेपाली राजदूतावासमा गई राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र ग्रहण गर्नुहुँदै राजदूत रेग्मीले यी सबै विषयहरूमा आफ्नो कुटनीतिक पहल भइरहेको र सक्दो प्रयास गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । राजदूत रेग्मीले बेलायतमा रहेकानेपाली जनसमाजका समस्याहरूमा जहिले पनि राजदूतावास सहयोगी रहने चर्चा गर्नुहुँदै यहाँको जनसमाज रसंघसंगठनहरूसँगै दूतासले सहकार्य गरेर नेपालको विभिन्न क्षेत्रको विकासका लागि सक्दो सहयोग जुटाउन चाहेको विचार व्यक्त गर्नु भयो ।

यसअघि अध्यक्ष भक्त गुरुङले ज्ञापनपत्र पढेर हस्तान्तरण गर्नु हुँदै भूपू गोरखा सैनिकका असमान पेन्सन लगायतका मागहरू पूरा गराउन र कोभिड १९ भ्याक्सिन नेपाललाई उपलब्ध गराउन बेलायत सरकारसँग कुटनीतिक पहल गरिदिन माग गर्नुभयो । उहाँले नेपाली नागरिकताको निरन्तरताको लागि पनि नेपाल सरकारसँग पहल गरिदिन माग गर्नु भयो ।

उक्त अवसरमा पूर्व अध्यक्ष दिनेश घिमिरे र महासचिव सुरेशजङ्ग शाह लगायतका पदाधिकारीहरूले मन्तव्य राख्नु भएको थियो ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमपश्चात समृद्ध नेपाल, सुखी नेपालीका लागि बेलायतबाट पुर्याउन सकिने सहयोग र सम्भावना बारे अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा नेपालको विकासका लागि विभिन्न सम्भावनाहरूको चर्चा गरिएको थियो र अन्तमा हाललाई नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउन प्रवासी नेपाली एकता मञ्च युके र राजदूतावासको सहकार्य अगाडि बढाउने निर्णय गरिएको थियो ।

यस अघि प्रवासी नेपाली मञ्च युकेद्वारा राजदूतको स्वागत सम्मानमा एक भर्चुअल कार्यक्रम गरी भर्चुअलरूपमा सम्मान अर्पण गरिएको स्वागत अभिनन्दनपत्र यसै अवसरमा उपाध्यक्ष सरस्वती केसीले पढेर सुनाउनु भएको थियो भने अध्यक्ष भक्त गरुङले राजदूत रेग्मी र उपनियोग प्रमुख रोशन खनाललाई खादा लगाई अभिनन्दन पत्रद्वारा सम्मान अर्पण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री