एउटै इमेलबाट दिइएका एक हजार मत खारेज गर्न दीपक श्रेष्ठको माग

लण्डन । एनआरएनए युकेको निर्वाचनमा एउटै इमेल आइडी प्रयोग गरी दिइएका करिब एक हजार मत खारेज गर्न अध्यक्षका प्रत्याशी दीपक श्रेष्ठले माग गरेका छन् ।
बुधबार साँझ एक प्रेस वक्तब्य जारी गर्दै उनले एउटै ईमेल आइडीको प्रयोग गरी हजारौंको संख्यामा मतदान हुनुले निर्वाचनको मर्यादा, नैतिकता र वैधानिकतामा गम्भीर प्रश्न उठाएको बताएका छन् । ”यसरी अवैध तरिकाले गरिएको मतदानको आधारमा आउने नतिजाले आम मतदाताको अभिमतको प्रातिनिधित्व गर्न नसक्ने र वैधानिक रुपमा समेत मान्य नहुनेमा कुनै दुई मत छैन” उनले बक्तब्यमा भनेका छन् ।
ब्रिटिश भोटिङ कम्पनीले नै गलत भनी प्रश्न उठाएकाले यो विषयमा आवश्यक छानबिन गर्न र यदि अवैध तरिकाले मतदान गरिएको पाइएमा ती १ हजार मतहरु खारेज गरी अन्य वैध मतहरुको आधारमा मात्रै नतिजा प्रकाशन गर्न उनले माग गरेका छन् ।
प्रेस वक्तव्य :
आदरणीय बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
सर्वप्रथमत: एनआरएनए युकेको हालै सम्पन्न निर्वाचनमा उत्साहजनक रुपमा सहभागी हुने एवम् मेरो उम्मेद्वारीको पक्षमा मतदान गर्नुहुने तपाईं सबैप्रति फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, निर्वाचनको नतिजाका लागि धैर्यतापूर्वक पर्खिरहनुभएकोमा पनि आभार व्यक्त गर्दछु ।
यसैबीचमा निर्वाचन नतिजा प्रकाशन हुनुपूर्व हाम्रो निर्वाचनमा अनलाइन भोटिङको सेवा उपलब्ध गराएको ब्रिटिश कम्पनी च्वाइस भोटिङले एउटै ईमेल आइडी प्रयोग गरी करिब हजारको संख्यामा मतदान गरिएको विषयमा चासो र आशंका व्यक्त गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भ मा मैले निर्बाचन समिति लाई पटक पटक ध्यानाकर्षण गराएको पनि स्मरण गराउन चाहन्छु ।
एउटै ईमेल आइडीको प्रयोग गरी हजारौंको संख्यामा मतदान हुनुले निर्वाचनको मर्यादा, नैतिकता र वैधानिकतामा गम्भीर प्रश्न उठाएको मेरो ठहर छ । यसरी अवैध तरिकाले गरिएको मतदानको आधारमा आउने नतिजाले आम मतदाताको अभिमतको प्रातिनिधित्व गर्न नसक्ने र वैधानिक रुपमा समेत मान्य नहुनेमा कुनै दुई मत छैन ।
तसर्थ, ब्रिटिश भोटिङ कम्पनीले नै गलत भनी प्रश्न उठाएको यो विषयमा आवश्यक छानबिन गर्न र यदी अवैध तरिकाले मतदान गरिएको पाइएमा ती १ हजार मतहरु खारेज गरी अन्य वैध मतहरुको आधारमा मात्रै नतिजा प्रकाशन गर्न जोडदार माग गर्दछु ।
अवैध मतहरु खारेज नभएको अवस्थामा प्रकाशित नतिजा मान्य नहुने र त्यसविरुद्ध कानूनी उपचार समेत खोज्न वाध्य हुने भएको कारण त्यसतर्फ सचेत रहेर समयमै उपयुक्त निर्णय लिनुहुन म निर्वाचन समितिलाई आग्रह गर्दछु ।
धन्यवाद ।
दीपक श्रेष्ठ
अध्यक्ष उम्मेद्वार
एनआरएनए युके
४ अगस्ट २०२१

प्रतिक्रिया

सम्बन्धित सामाग्री