चीनका प्राध्यापक वाङलाई नेपाल प्रज्ञालङ्कार, भारतका क्षेत्रीलाई भानु प्रज्ञा

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन, शीतल निवासमा बुधवार आयोजित पुररस्कार समर्पण समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कारहरू र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ जना प्रतिभाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मान दोसल्ला, फूलको माला र सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उहाँको बैँक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपति मार्फत् वाङलाई हस्तान्तरण गरिने छ ।

यसैगरी राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत् भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गर्नुभयो । क्षेत्री पनि अस्वस्थताका कारण समारोहमा उपस्थित हुन असमर्थ हुनुभएका कारण कुलपति मार्फत नै उक्त पुरस्कार अर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत् परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने दुई लाख राशिको नगद पुरस्कार उहाँको बैँँक खातामा दाखिला गरिने छ ।

यसैगरी राष्ट्रपतिद्वारा नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (कोभिडका कारण चैत्र १६ गते दिवंगत भइसक्नुभएको) का प्रतिनिधिका उहाँका भाइ साहित्यकार तेजप्रकाश श्रेष्ठलाई अर्पण गरियो । राष्ट्रपतिले समारोहमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र संस्कृति दर्शनशास्त्र पुरस्कार, प्रा.डा. तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत गर्नुभएको थियो । उक्त पुरस्कारहरूको राशि दुई/ दुई लाख रहेको छ ।

यसैगरी रविमान लमजेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य)लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरतलाई नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधी भाषा) साहित्य पुरस्कार (तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गर्नुभएको थियो । स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित हुनुभएको थिएन । यी प्रज्ञा पुरस्कारहरूको राशी एक /एक लाख नगद रहेको छ ।

राष्ट्रपतिले राष्ट्रिय कविता महोत्सव २०७७ र २०७८ का विजयी कविहरूलाई पुरस्कार अर्पण गर्नुभयो । २०७७ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने भैरवी भूगोल (नुवाकोट), द्वितीय हुने प्रज्वल अधिकारी (लमजुङ), तृतीय हुने गणेशप्रसाद खतिवडा (सोलुखुम्बु), देवकी अभिलाषी (दोलखा) र रेजिना आपगाईं (तेह्रथुम)लाई पुरस्कार र पदक अर्पण गरिएको थियो ।

समारोहमा राष्ट्रपतिले २०७८ सालको राष्ट्रिय कविता महोत्सवका विजयी कविहरू प्रथम कविता राई (भोजपुर), द्वितीय अमृता स्मृति (धादिङ) र तृतीय हुने सविता बराल (ताप्लेजुङ), निरञ्जनाकुमारी चन्द (बर्दिया) र प्रकाश सिलवाल (नुवाकोट)लाई नगद, पदक र सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो । कविता महोत्सवमा प्रथम हुने कविलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तिन जनालाई जनही ३० हजार नगदका साथै स्वर्ण, रजत र काँस्य पदक प्रदान गरिएको थियो ।

प्रत्येक तीन वर्षमा प्रदान गरिने नेपाल प्रज्ञालङ्कार सम्मानबाट पहिलो पटक मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङवेईलाई विभूषित गरिएको छ । उहाँलाई ‘माउन्टेनिअस किङ्डम अफ नेपाल’ (सन् १९८०), ‘द नेसनालिटिज अफ नेपाल’ (सन् १९८०), ‘नेपालः गाइड टु वल्र्ड स्टेटस्’ (सन् २००४), ‘नेपालः पिपल एन्ड कल्चर’ (सन् २००७) आदिजस्ता प्राज्ञिक महत्त्वका अनुसन्धानपूर्ण कृतिका माध्यमबाट नेपालको राष्ट्रिय गौरवलाई चीनलगायत अन्तर्राष्ट्रिय जगतमा फैलाउन पुर्याउनुभएको विशिष्ट योगदानको उच्च सम्मान गर्दै २०७६–२०७८ का लागि उक्त सम्मान अर्पण गरिएको हो ।

पाँच दशकभन्दा लामो समयदेखि दर्शनशास्त्र विषयका क्षेत्रमा अध्ययनअनुसन्धान, ‘इथिक्स अफ द हिन्दुज’ (२०३९), ‘दर्शनशास्त्र : एक परिचय’ (२०४०), ‘दर्शनशास्त्र परिचय’ (२०६५), ‘धर्म इन द हिन्दु इथिक्स’ (२०७५) लगायतका गहन दार्शनिक कृतिहरूको लेखन र प्रकाशनका साथै प्राध्यापनका माध्यमबाट पुर्याउनुभएको विशिष्ट योगदानको उच्च सम्मान गर्दै २०७७–२०७८ सालका लागि ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र संस्कृति दर्शनशास्त्र पुरस्कार’ प्रा.डा.वीरेन्द्रप्रसाद मिश्रलाई प्रदान गरिएको हो । पाँच दशक लामो समयदेखि साधनारत रही अध्ययन अनुसन्धान, ‘नेपालभाषा सर्ट स्टोरिज’ (सन् १९७७), ‘नेवारी फ्रेज बुक’ (सन् १९८९), ‘लेक्सिकोग्राफी इन नेपाल’ (२९९८) लगायतका कृतिहरूको लेखन र प्रकाशन तथा मातृभाषाहरू र भाषा विज्ञानसँग सम्बद्ध अनेकौँ ग्रन्थहरूको सम्पादनका माध्यमबाट नेपालका मातृभाषाहरूको श्रीवृद्धिमा पुर्याउनुभएको विशिष्ट योगदानको उच्च सम्मान गर्दै प्रा.डा.तेजरत्न कंसाकारलाई २०७७–२०७८ को ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रदान गरिएको छ । भारतको आसाममा रहेर सात दशक लामो समयदेखि कला र विचारको सुन्दर संयोजनसहित ‘बसाइँ’ उपन्यास (२०१४), ‘अतृप्त’ उपन्यास (२०२६), ‘तीन दशक, बिस अभिव्यक्ति’ कथासङ्ग्रह (सन् १९८३), ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यास (२०५०) लगायतका उत्कृष्ट आख्यान सृजनाका माध्यमबाट नेपाली साहित्यको समृद्धिमा पुर्याउनुभएको महनीय योगदानको उच्च सम्मान गर्दै ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई अर्पण गरिएको छ ।

छ दशकभन्दा लामो समयदेखि साधनारत रही नाटक, कविता, निबन्ध र समालोचनाका साथै रुसी भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट रुसी भाषामा अनुवादका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धि गर्न र नेपाल राष्ट्रको गौरवलाई अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्नमा समेत विशिष्ट योगदान पु¥याउनुभएकोमा वरिष्ठ साधक कृष्णप्रकाश श्रेष्ठलाई २०७६–२०७७ सालको ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गरिएको छ । यो पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय भए पनि पुरस्कार अर्पण गर्न बाँकी छँदै २०७७ चैत्र १६ गते नै कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमणबाट उहाँको दुःखद निधन भएको थियो । सम्मान उहाँका भाइ तेजप्रकाश श्रेष्ठले थाप्नुभएको थियो ।

पाँच दशकभन्दा लामो समयदेखि साधनारत रहेर उत्कृष्ट आख्यान, कविता र निबन्धसृजनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा गर्नुभएको अमूल्य योगदानको कदर गर्दै २०७७ सालका लागि वरिष्ठ साहित्यकार हरिहर खनाललाई र चार दशक लामो समयदेखि कवितासृजना र खोज–अनुसन्धानात्मक समालोचनाका माध्यमबाट पु¥याउनुभएको महत्त्वपूर्ण योगदानको कदर गर्दै २०७८ का लागि ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ रविमान लमजेललाई प्रदान गरिएको छ ।

त्यस्तै २०७७ सालका लागि पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषाहरूमध्ये पाँच दशकभन्दा लामो समयदेखि कविता र निबन्धसृजनाका माध्यमबाट नेपालभाषा साहित्यको समृद्धिमा पुर्याउनुभएको गहकिलो योगदानको सम्मानस्वरूप पूर्ण वैद्य (पूर्णबहादुर वैद्य) लाई र तराई÷मधेस क्षेत्रमा बोलिने मातृभाषामध्ये केवरत भाषासाहित्यको श्रीवृद्धिमा पुर्याउनुभएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप चतुर्भुजलाल दास केवरतलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ प्रदान गरिएको छ । यसै गरी २०७८ सालका लागि पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाहरूमध्ये गुरुङ भाषासाहित्यको श्रीवृद्धिमा तीन दशकदेखि लेखन, सम्पादन र प्रकाशनका माध्यमबाट पु¥याउनुभएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप इन्द्रबहादुर गुरुङलाई र तराई/मधेसमा बोलिने मातृभाषाहरूमध्ये दुई दशकभन्दा लामो समयदेखि सृजना, अनुसन्धान, सम्पादन र प्रकाशनका माध्यमबाट अवधी भाषासाहित्यको श्रीवृद्धिमा पुर्याउनुएको योगदानको कदरस्वरूप हंसावती कुर्मीलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ प्रदान गरिएको छ ।

सम्मान तथा पुरस्कार सर्पणपछि समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गर्नुभयो । उहाँले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा–प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै महत्वपूर्ण कृतिहरुमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भाषा, साहित्य, इतिहास, सामाजिकशास्त्र तथा दर्शनशास्त्रलगायतका विधामार्फत् नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टाहरूलाई आफूले सम्मानित तथा पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । राष्ट्रपतिले नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेका प्राज्ञिक कार्यहरूको प्रशंसा गर्नुभएको थियो ।

समारोहमा बोल्दै कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र विषयक्षेत्रका वाङ्मयगत विधा÷उपविधाहरूमा प्राज्ञिक अनुसन्धान एवम् मौलिक सृजनाका माध्यमबाट लामो समयदेखि साधनारत रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल राष्ट्र एवम् नेपाली जातिको गौरव बढाउन गहकिलो र विशिष्ट योगदान पु¥याएका प्रतिष्ठित साधकहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको बताउनुभयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँगसँगै प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा, साहित्य र अनुवादका क्षेत्रमा योगदान दिने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि सम्मान गर्न थालेको जानकारी दिनुभयो ।

उपकुलपति डा. जगमान गुरुङले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रज्ञा सम्मान तथा पुरस्कारका लागि प्रतिभा छनोट गर्दा योगदान, समुदाय र भूगोलजस्ता कुरालाई विशेष ध्यान दिइएको बताउनुभयो ।

राष्ट्रिय कविता महोत्सव २०७७ को कविता छनोट समितिमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल संयोजक, कवि स्नेह सायमि र कवि प्रभा भट्टराई सदस्य रहनुभएको थियो । यसै गरी २०७८ सालको कविता महोत्सवमा कविता छनोट समितिका संयोजकमा प्रा.डा. पौडेल संयोजक रहनुभएको थियो भने प्राज्ञसभा सदस्य ध्रुव मधिकर्मी र कवि तथा समालोचक डा. विन्दु शर्मा सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री