एनआरएनए युकेको निर्वाचन अनलाइनबाट गरिने

लण्डन । गैरआवासीय नेपाली संघ युकेको यही जुलाई ३१ मा हुने निर्वाचन अनलाइनबाट गरिने भएको छ ।

एनआरएनए युके कार्यसमितिको हिजो बसेको बैठकले यसवर्ष अनलाइनबाट मतदान गर्ने निर्णय गरेको हो । एनआरएनएका अष्ट्रेलिया, अमेरिका राष्ट्रिय समन्वय समितिमा यसअघि नै अनलाइनबाट निर्वाचन गर्ने गरिएको भए पनि बेलायतमा भने परम्परागत रुपमा आफैँ उपस्थित भएर निर्वाचन गर्ने गरिएको थियो ।

अध्यक्ष श्रीमती पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले समितिको साधारण सभा जुलाई १८ तारिखका दिन भर्चुअलरुपमा गर्ने निर्णय गरेको छ भने नयाँ कार्यसमितिका लागि उम्मेदवार बन्न चाहनेहरुका लागि उम्मेदवारी शुल्क यसअघिकै कायम गर्ने भएको छ । तर उम्मेदवारी शुल्क भने एनआरएनए युकेको खातामा भुक्तानी हुनुपर्ने छ । गत निर्वाचनमा भने नगद बुझाउनु परेको थियो ।

बैठकले एनआरएनए बेलायतअन्तर्गतका सबै राज्य परिषदहरुको निर्वाचन राष्ट्रिय समन्वय परिषदले अपनाएको निर्वाचन प्रणाली अनुसार र केन्द्रिय निर्वाचन समितिको मातहत तथा राज्य समन्वय परिषदको परामर्शमा सम्पन्न गर्ने निर्णय गरेको छ । राज्यपरिषदहरुले राज्य समन्वय परिषदको परामर्शमा आवश्यकताअनुसार निर्वाचन उपसमिति बनाउन सक्ने छन् । यस्ता उपसमितिहरुको क्षेत्राधिकार निर्वाचन समितिले तोक्नेछ ।

बैठकले एक सदस्यसहित पाँच सदस्सीय निर्वाचन समिति गठन गर्न र निर्वाचनसम्बन्धी सम्पूर्ण कार्ग गर्न प्रमुख निर्वाचन प्रमुख महेन्द्रराज कंडेललाई जिम्मेवारी दिएको छ ।

बैठकमा एनआरएनए यूकेका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कंडेल, निर्वतमान अध्यक्ष तथा आईसीसी सदस्य योगकुमार फगामी तथा बेलायतबाट आईसीसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु दयानिधी सापकोटा, रामशरण सिंखडा ,सुरोज मास्के, अर्कराज तिम्सेनाको उपस्थिती रहेको थियो । साथै एनआरएनए यूकेका पदाधिकारी तथा सदस्यहरु, चारवटै राज्य परिषदका अध्यक्षहरु पनि बैठकमा उपस्थित थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री