नेप्लिज हिमालयन एसोसियसन एबर्डिनको अध्यक्षमा पुन: क्षेत्री

बेलायत । स्कटल्याण्डको एबर्डिनबासी नेपालीहरूको साझा संस्था नेप्लिज हिमालयन एसोसियसनले नविन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

एसोसिएसनको शनिवार सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा पुनः क्षेत्रीको नेतृत्वको ११ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो। समितिको उपाध्यक्षमा संचारकर्मी डा. शिव तिवारी रहनु भएको छ भने सचिवमा डा. टंक दाहाल (मुकुल दाहाल) र कोषाध्यक्षमा डा. दिलीप उप्रेती चयन हुनु भएको छ। त्यसैगरी, सहसचिवमा लव सिम्खडा र सहकोषाध्यक्षमा श्रीकृष्ण भेटवाल (कृश भेटवाल) छानिनु भएको छ।

नयाँ कार्यसमितिका सदस्यहरुमा मुना सापकोटा, राज क्षेत्री, सगुन पौडेल, गुरु भण्डारी र शर्मिला अधिकारी चयन हुनु भएको छ। नयाँ कार्यसमितिमा अधिकांश पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिनु भएको छ।

संस्थाको नयाँ कार्यसमितिको कार्यकाल आगामी २ वर्षको लागी हुनेछ।

अधिवेशनमा अघिल्लो २ वर्षे कार्यकालको प्रगति विवरण र आर्थिक प्रतिवेदन (आय-ब्यय विवरण) प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथी भएको खुल्ला छलफलपछि बहुमतले पारित गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियाका लागि पूर्व अध्यक्ष डा. नारायण श्रेष्ठको समयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचनको जिम्मा दिइएको थियो । निर्वाचन समितिमा संस्थाका पूर्व अध्यक्षहरु टक थापा र मीन भट्ट तथा पूर्व सल्लाहकार अनल गौतम सदस्य रहनु भएको थियो।

नयाँ कार्यसमितिको घोषणा गर्दै डा. श्रेष्ठले अत्यन्तै सौहार्द्धपूर्ण वातावरणमा सर्वसम्मतिबाट नयाँ समिति गठन भएकोमा खुसी व्यक्त गर्नु भयो। उहाँले नयाँ कार्यकालको लागी शुभकामना दिँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा एबर्डिनमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर हरेक सामाजिक गतिविधीहरुमा हातेमालो गर्ने प्रतिवद्दता जनाउनु भयो।

मुकुल दाहालद्वारा संचालित नेप्लिज हिमालयन एसोसिएसनको अधिवेशन कार्यक्रममा पूर्व सल्लाहकारहरूको तर्फबाट तोया सापकोटाले निवर्तमान कार्यसमितिको प्रशंसा गर्दै धन्यवाद तथा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो। अधिवेसन समाप्ति लगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान कार्यसमिति, निर्वाचन समिति र एबर्डिनबासी सम्पूर्ण नेपालीहरूलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्दै निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्ने निर्णय गरेको छ।

कार्यसमितिको अर्को बैठक आगामी शनिवारको लागी तय गरिएको छ।

एबर्डिनमा सन २००७ स्थापित यस संस्थाले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ। कोभिडको यो विषम परिस्थितिमा पनि विभिन्न संघसंस्थाहरुसंगको समन्वयमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको छ भने राष्ट्रिय अनुसन्धान केन्द्र, रवि लामिछाने फ़ाउण्डेशन लगायतका संघसंस्थालाई सहयोग रकम नेपाल पठाएको छ।

त्यस्तै एनआरएनए स्कटल्याण्डमार्फत नेपालीको उपचारको लागी समेत रकम उपलब्ध गराएको छ। साथै यो संस्थाले नेपाली बालबालिकाहरूलाई लक्षित गरी विगत ८ वर्षदेखी निरन्तररूपमा नेपाली भाषाको कक्षा संचालन गर्दै आइरहेको छ भने नियमित साहित्यिक कार्यक्रमहरूको आयोजना समेत गर्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री