एनआरएनए युकेमा आर्थिक अनुशासनको जग बसाएका कोषाध्यक्ष रोकाले उपाध्यक्षमा उम्मेदवारी दिने

लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चालेका छन् । सधैँ आर्थिक घोटालाको आरोप लागिरहने एनआरएनए युकेमा उनी कोषाध्यक्ष भएपछि बैँकिङ प्रणालीबाट मात्र कारोबार गर्ने व्यवस्था गरेका छन् भने अनावश्यक बिल भर्पाई पेश गरी संस्थाबाट भुक्तानी लिने प्रथाको अन्त्य गरेका छन् । उनकै कार्यकालमा लेखा समिति खडा गरिएको छ । एनआरएनए युकेको आर्थिक कारोबारलाई आन्तरिक लेखा परिक्षण गरी हरेक तीन/तीन महिनामा कार्यसमितिमा प्रतिवेदन पेश गर्ने परम्पराको विकास गरेका छन् ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिकाको बरंजामा जन्मेका रोका मगर विद्यालय अध्ययन गर्दादेखि नै सामाजिक कार्यमा लागेका हुन् । बीई र एमईमा डिस्टिङसन ल्याएका रोका मगरले बेलायतमा नेपाल इन्जिनियर्स एसोसिएसनको शाखा स्थापना गरेका हुन् । उनले नेपालमा म्याग्दी, लमजुङ, बाग्लुङ, गोरखा, सोलुखुम्बु, धादिङ, दोलखा,सोलुखुम्बु लगायतका जिल्लाहरुमा लघु जलबिद्युत स्थापना गरिसकेका छन् भने उनी टिडी इनर्जी एण्ड मल्टीकन्सन्ट्रक्सन नेपालको संचालक रहेका छन् । यसका साथै २५ मेघावाटको दरबाङ हाइड्रोको संचालक, कलेज फर इन्फरमेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङको संचालक र लामा आर्टिटेक्ट एण्ड डिजाइनको पनि संचालक रहेका छन् ।

म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका सल्लाहकार र मगर संघ युकेका आजिवन सदस्य रहेका रोकामगर हाल बेलायतको जोसेफ गालाघर लिमिटेडमा सिनियर साइट इन्जिनियरका रुपमा कार्यरत छन् ।

बेलायतमा रहेका नेपाली समुदायको हकहित र अधिकारका लागि एनआरएनए युकेलाई नेपाली समुदायको एकता र सामूहिक आवाज मुखरित गर्ने थलो बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।  ‘एनआरएनए युकेलाई नयाँ गति र दिशा दिन तथा नेपाली समुदायको एकता र सामूहिक आवाज बनाउने अठोटका साथ मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ,’रोका मगरले भने, ”विगतमा झैं यसपटक पनि मेरो यस अभियानमा सबैको साथ,सुझाव र समर्थन पाउनेमा विश्वस्त छु ।”

रोका मगरले ७ बुँदे प्रतिबद्धता तथा अभियान समेत सार्वजनिक गरेका छन् । जसमा नेपाली समुदायमा एकता र सामूहिक आवाज बनाउने, एनआरएनए युकेलाई सबैको साझा संस्थाको रुपमा अनुभूति दिलाउने, संस्थागत शुद्धीकरण, समुदायमा एकीकरणमा जोड दिने, गोर्खाहरुको समस्यालाई एनआरएनए युकेको पहिलो प्राथमिकतामा राखी गोर्खासित आवद्ध संस्थाहरुसंग मिली काम गर्ने, एनआरएनए युकेको दुरगामी योजना स्थापना गर्ने, विदेशमा नेपाली भाषा,संस्कृती र पहिचान फैलाउने आदि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री