‘गौरवको महिना’ मा ब्लगर लेक्स लिम्बुको नयाँ भिडियो

लण्डन । युके निवासी नेपाली ब्लगर लेक्स लिम्बुले आज जुन १ तारिखमा आफ्नो नयाँ भिडियो गौरव सार्वजनिक गर्दै गौरवको महिना मनाउँदैछन् ।

गौरव महिना विश्वभरका सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुको उत्सवप्रति समर्पित छ । लिम्बु र अविस्कार राई अभिनित भिडियोमा दुईजना समयौनिक पुरुषहरुबीचको प्रेमलाई दर्शाइएको छ भने विशेष उपस्थीतिका रुपमा लिम्बुका आफ्नै बुबाआमालाई समेत देख्न सकिन्छ ।
विज्ञापन शैलीको उक्त छोटो भिडियोको निर्देशन रामुना पुनले गरेका हुन् भने सुशान्त विष्टको साउण्डट्रयाक ‘म तिम्रोको’ समेत मिश्रण रहेको छ । यो भिडियोको छायांकन युकेको ह्याम्पशायरमा चाउटन भिलेजमा गरिएको हो ।

लिम्बुले सन् २०१८ मा एउटा युट्युब भिडियो सार्वजनिक गर्दै आफ्नो यौन झुकावबारे सार्वजनिक गरेका थिए ।
लिम्बु भन्छन् – ‘सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुका प्रति र अहिलेसम्मको हाम्रा यात्राप्रति ध्यान केन्द्रीत गर्न गौरवको महिना उत्तम तरिका हो । जब तपाई आफू जो हो त्यसमा गर्व गर्न सक्नुहुन्छ, त्यो कति सुन्दर हुनसक्छ भन्ने यो छोटो भिडियोमार्फत मैले सार्वजनिक गर्न चाहेको हुँ । यद्यपि सुरुमा मैले मेरो भिडियोसँगै देखापर्ने व्यक्ति खोज्नका लागि संघर्ष गर्नुपरेको थियो । आविस्कार यो परियोजनाका लागि आउँदा म ढुक्क भएँ ।’
निर्देशक रामुना आफ्नो अनुभव बाँड्दै भन्छिन् – ‘जब लेक्सले यो भिडियो गौरवका लागि मसँग सम्पर्क गरे, तब म कथाको सरलताबाट तुरुन्तै आकर्षिक भएँ । व्यापक सन्दर्भमा यसको वजन निकै भारी थियो । तर चारैजना पात्रहरुबीच साटासाट गरिएको भावनाको तरलता वास्तविक, विश्वसनीय, कच्चा र सबै कुरा सरल बनाउने खालको छ । मैले यो कथालाई प्रेमका साथ बुझें र छायांकन गरें । म सबैले यो कथालाई यसैगरी स्वीकार गर्ने अपेक्षा गर्दछु । मेरा लागि गौरव भनेको तपाई आफू जो हो त्यही हुने र तपाईले जे चाहेको यो उसलाई प्रेम गर्ने धारणा हो । न त धेरै, न त अरु कुनै ।’
भिडियोमा गौरवको रुपमा अभिनय गरेका आविस्कार आफ्नो अनुभव बाँड्दै भन्छन् – ‘गौरवको महिनाले पहिले तपाई आफैँमा को हो भन्ने स्वीकारोक्तिलाई प्रतिनिधित्व गर्छ । साथै तपाईमात्र एक्लो हुनुहुन्न भन्ने महसुस गराउने चीजलाई प्रतिनिधित्व गर्छ । तपाई भन्न सक्नुहुन्छ कि किन मैले यो भिडियोमा काम गरें? यद्यपि नेपाली समुदायमा सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुलाई सचेत बनाइएको छ तर मेरो विचारमा यो अझै पनि संवेदनशील विषय हो । यो भिडियो बनाएर र यसरी प्रस्तुत गरेर यसले मान्छेको सोंचमा विस्तारै परिवर्तन ल्याउने र मान्छेहरुलाई यसविषयमा अझ बढी सहज बनाउने आशा छ ।’
अमेरिका बाहिरका धेरै मानिसका लागि समयौनिक व्यक्तिहरुको अधिकारहरु परिवर्तन गर्न सफल प्रदर्शनका रुपमा परिचित स्टोनवाल विद्रोह भएको महिना जुन महिनालाई गौरवको महिनाका रुपमा छानिएको हो । पछिल्ला वर्षहरुमा जुन महिनाको दोस्रो शनिबारलार्ई नेपाल गौरव यात्राका रुपमा मनाइँदै आएको छ । सन् २०१९ देखि गौरव यात्रा काठमाडौँमा मनाइँदै आएको छ।
रिलमा प्रेमीप्रेमिका भए पनि लेक्स लिम्बु र आविस्कार राई वास्तविक जीवनमा प्रेमसम्बन्धमा भने छैनन् ।

भिडियो हेर्न तलको लिङ्क हेर्नुहोला ।

https://www.youtube.com/watch?v=d1jJIvFLVLY

प्रतिक्रिया

सम्बन्धित सामाग्री