सोमबार, जेठ ३१ २०७८ | Mon, June 14, 2021
नेपालको समय: ०७:३४ | UK Time: 02:49

प्रधानमन्त्री ओलीलाई सुझाव

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ जेठ ११ गते १७:३१

नेपालको घटनाक्रमहरु हेर्दा वाक्क भएर केही समयदेखि कुनै राजनीतिक लेख लेख्ने जाँगर चलेको थिएन । कहिलेकाही फेसबुकमा छोटो विचार व्यक्तगर्दै आएको छु ।आज बिहानै (मे २२) मित्र डा. राजुबाबु श्रेष्ठको फेसबुक वालमा एउटा पोस्ट देखें। काममा आउने क्रममा मनमनै सोच्दै थिए राजुजीले कसरी यो पोस्ट गर्नुभएछ ? कहिलेकाहीँ कुरा हुँदा मैले त नेपालको खबर नै पढ्न छाडिसकेँ भन्नु हुन्थ्यो । एकपटक त को छ अहिले नेपालको प्रधानमन्त्रीसम्म भनेको याद छ । हामी धेरै पहिलादेखि एउटै पार्टीमा आवद्ध भएर काम गरेका थियौं। पार्टी फुट्न थालेपछि भो मलाई अलि आत्मकेन्द्रीत हुन दिनु होला भनेर राजनीतिक रूपमा हाम्रो सम्बन्धविच्छेद जस्तै भएको थियो । भेटघाट र फोनमा हामीले राजनीतिक कुरा खासै गर्ने गरेका पनि छैनौं। आज एक्कासी वहाँको यस्तो पोस्ट “पुन संसद विघटन ओलीको पाताल भासिने कदम हो । अब जनआन्दोलनको बिकल्प छैन ।” आएकोले फोन नै गरेर थप जानकारी लिन मन लाग्यो। वहाँको दाइले अमेरिकाबाट हिजो फोन हुँदा नेपालमा त फेरि संसद भंग गर्यो नि भन्नुभएकोले के रहेछ भनेर आफैँ समाचारहरु केलाउन थाल्नुभएछ । नेपालको खबर नहेरेको दुई महिना भैसकेको रहेछ। सत्ताको लागि मानिसहरू यति धेरै किन लिप्त हुँदोरहेछ भन्ने उत्सुकता बढेछ वहाँमा । नैतिकताको कुरा त छाडौं कानुन संविधानले स्पष्ट व्यवस्था गरेका प्रावधानहरुलाई पनि किन यसरी मनपरी व्याख्या विश्लेषण गर्न सकेको होला ? आफूले गरेको काम अदालतले गलतभन्दा भन्दै त्यसको पूर्ण फैसला नआउँदै फेरि किन सदन भंग गरेको होला ? विश्वासको मत पाउन नसकेपछि फेरि त्यही नेतालाई संविधानको अर्को धाराअनुसार सरकारको नेतृत्व गर्न कसरी दिएको होला ? नयाँ प्रधान मन्त्रीको रूपमा शपथ लिँदा शपथमा भएको शब्द राष्ट्रपतिले दुईपटक दोर्याउँदा त्यो पर्दैन भन्नसक्ने प्रम कस्तो होला ? प्रधानमन्त्री भएपछि विश्वासको मत लिनपर्ने बाध्यात्मक व्यवस्थालाई उल्लंघन गर्दै आफू नै पदमा बहाली छँदै अर्को धाराअनुसार सरकार बनाउन सहज गरेको भन्दै जम्मा २१ घण्टा (राति सुत्ने समयसहित) समय दिने राष्ट्रपति पनि उस्तै । आफूले बहुमत जुटाउन सक्ने अवस्था छैन भन्दै अर्को प्रम बनाउन निवेदन दिने व्यक्तिले फेरि मेरो साथमा १५३ जना सांसद छ भनेर आफूले नै सरकार बनाउन पाउनुपर्छ भनेर दावी गर्ने र त्यसलाई हो क्यारे भन्ने कस्तो होला ?

यसपाली राजुजीसँग धित मर्ने गरी राजनीतिक विषयमा छलफल भयो । मैले विषयलाई अलि अर्कै ढंगले प्रस्तुत गर्ने प्रयास गरेँ । हो, ओलीले गर्न नहुने कामहरू त गरेको नै हो तर अन्य नेताहरु पनि हुतिहारा साबित भए नि । समयमा नै उपयुक्त कदम चाल्न नसक्दा यस्तो अवस्था व्यहोर्न पर्यो । पार्टी एउटै हुँदा नै अब मिल्न सकिँदैन भनेर किन ठहर गर्न सकेन ? पार्टी एकताको नाममा लामो समय खेर गयो ।  समय घटकी सकेपछि केही गर्न खोजियो तर सोचेजस्तो काम भएन । अदालतले सदन भंग गरेको मुद्दा जिताई सकेपछि नयाँ सरकार दिन लामो समयसम्म निर्णय लिन सकेन। अहिले अन्तिम निर्णय गर्दा ढिला भैसकेको थियो। प्रम ओलीले चालेका कदमहरु संवैधानिक त छैन नै तर अन्य नेताहरुमा पनि त्यो जालझेललाई बुझेर समयमा नै प्रतिरोधात्मक कदम चाल्न नसक्नु ठूलो कमजोरी हो भन्दै थिएँ बीचमै वहाँले थप्नुभयो-देशको नेतृत्व गर्ने मानिसले संबिधान, अन्य पार्टी, नेता र जनताको भावनाको कदर नगर्ने हो भने कि त स्वेच्छाचारी शासक हुँ भन्न पर्यो तर जे मन लाग्यो त्यही गर्ने जग हँसाउने अनि संबिधान नियम कानुनको दुहाई दिन कसरी मिल्छ त ? प्रश्न गर्नु भो। मनमनमा म अलि उत्साहित भएको थिएँ सबैले यसरी कुरा बुझी दिनेभए हामीले मात्रै कुरा उठाउँदा एउटा पार्टीको झोले भएको आलोचना खेप्न पर्दैन थियो नि !

मलाई खै किन हो वहाँको वाल फेरि हेर्न मनलाग्यो। पछिल्लो पोस्ट ठ्याक्कै दुई महिना अगाडी मार्च २० मा यस्तो लेख्नुभएको रहेछ, “नेपालमा नीति नियम र कानुनको लडाई व्यर्थ छ, नागरिक समाजको नेतृत्वमा न्यायको लडाइँ भए केही होला की ?” राजुजीले नेपालको राजनीतिक चहलपहल बारे जानकारी नलिएको दुई महिना भएको वहाँको फेसबुकको पोस्टले पनि प्रमाणित गर्यो । राजनीतिमा चासो दिन्न भन्दाभन्दै पनि हाम्रो विगतले गर्दा वर्तमानलाई पूरै परिवर्तन गर्न नसकिने रहेछ । सक्रियरूपमा राजनीतिमा लाग्नेहरुले मात्रै सबै घटनाक्रमहरु बुझ्छन् भन्ने पनि होइन रहेछ। भए गरेका घटनाहरु दैनिक रूपमा जानकारी नभए पनि हेर्न थालेपछि एकै नजरमा आफ्नो दृष्टिकोण बनी हाल्नेरहेछ। राजनीतिक चेत भएका पढे लेखेका बौद्धिक व्यक्तिहरूले व्यक्त गर्ने  टिप्पणीहरुलाई स्वतन्त्ररूपमा ग्रहण नगरी हिजोको उसको राजनीतिक पृष्ठभूमि के थियो सबैजना त्यो खोजी गर्नेतिर लाग्छन् । मानिसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न नसक्ने हाम्रो आदत बनिसकेको छ। ठीक र बेठीकभन्दा पनि कसले किन कसरी त्यस्तो विचार व्यक्त गरे भन्ने खोजीमा लाग्छौं । फेरि अर्काथरी मान्छे हुन्छन् आज एक पक्षको वकालत गर्ने अनि व्यक्तिगत स्वार्थ र भविष्यको सुनिश्चितताको लागि तुरुन्तै अर्को क्याम्पमा पुग्ने अनि हिजो आफूले व्यक्त गरेका विचारको विपरीत घाँटी सुक्ने गरी चिच्याउने । हिजो पनि आफू नै ठीक आज पनि आफू नै ठीक प्रमाणित कसरी हुन सक्छ ? कमसेकम हिजो मैले गलत बुझेँ वा त्यो गलत थियो । आज मैले आफूलाई सुधारेजस्तो लाग्छसम्म त भन्नसक्नु पर्ने होइन र ? अझ सार्वजनिक जीवन बिताउने, राज्यको ठूलो पदमा बहाली भएका जिम्मेदार मानिसहरूले नै दुई घण्टा नटिक्ने कुरा गरेर दुनियाँलाई गुमराहमा राख्न खोज्ने नेतृत्वलाई तत्कालीन रूपमा केही फाइदा भएजस्तो त होला तर कालान्तरमा त्यसले नकारात्मक परिणाम नै ल्याउने छ। फेरि राजुजीको पछिल्लो यो पोस्टले पनि मलाई अलि आकर्षण गर्यो “न त वर्तमान परिस्थितिसंग भाग्न सकिन्छ न केही गर्न सकिन्छ। ओली भालुको कन्पट हो ।”

अहिलेको अवस्थामा प्रधानमन्त्रीको पद कुनै पनि हालतमा छाड्नै नचाहने ओलीज्यूलाई मेरो मन देखिकै एउटा सुझाव छ। अहिले कोरोनाले देश आक्रान्त छ, सबैतिर निषेधाज्ञा जारी नै छ। तुरुन्त संकटकाल घोषणा गरी मन लागुन्जेलसम्म राष्ट्रपति र प्रधान मन्त्री बन्दा राम्रो हुन्छ । राष्ट्रपतिले पनि सिफारिश पुग्ने बित्तिकै स्वीकार गरिहाल्ने छ। संविधानको खिल्ली योभन्दा बढी उडाउन आवश्यक छैन। अन्य नेता पार्टी वा जनताहरुले कोरोनाले छाडेपछि कि प्रतिकार गर्ने छ अन्यथा दास बन्न स्वीकार र तयार हुने नै छ । न्याय, कानुन, प्रजातन्त्र, गणतन्त्रको दुहाई दिँदै गर्नै नपर्ने हुनै नसक्ने निर्वाचनको कुरा गर्न छाडी कोरोनाको प्रतिकार गर्न लाग्दा बेश होला । त्यतिन्जेल तपाईंको राणा शासनपछि लगातार पाँचवर्ष प्रधान मन्त्री हुने इच्छा पनि पूरा भैसक्ने छ । आवधिक चुनावमा दुईतिहाई भन्दा बढी मत पाइने काम गरेर आजीवन प्रधान मन्त्री बन्ने रहर पनि पूरा हुनेनै छ । बाँकी हजुरहरुको निगाहा !

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक