इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई आफ्नो घर छाड्न इजरायली अधिकारीहरुले चेतावनी दिएपछि विवाद उत्पन्न भएको थियो । उक्त जमिन एक यहूदीको भएको इजरायलको भनाई छ । जेरुसेलम इजरायली र प्यालेस्टिनी दुबै समुदायका लागि पवित्र स्थल पनि हो ।

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि “भूमि कब्जा गर्न खोजेको” भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो । इद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो ।

यो घटना आगोको फिलिङ्गो सावित भयो । आफूमाथि क्षेप्यास्त्र हानेपछि निकै बलशाली इजरायल चुप लाग्ने कुरै थिएन । उसले हमास विरुद्ध आक्रामक कारबाही गर्ने चेतावनी दियो । इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गर्ने स्थान र क्षेप्यास्त्र उत्पादन गर्ने ठाउँ, विद्रोही कमान्डरहरु, उनीहरुका घर र ठुल्ठूला अग्ला भवनलाई निशाना बनाइएको जनाएको छ जसबाट एसोसिएटेड प्रेस, अल–जजिरा टिभी जस्ता सञ्चार गृह रहेको टावर भवन पनि बम हमलाबाट ढालिएको छ । इजरायलतर्फ लुकिछिपी प्रवेश गर्न हमासले बनाएका भूमिगत सुरुङहरु ध्वस्त पार्नु पनि इजरायलको उद्देश्य रहेको सेनाको भनाई छ ।

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि गत शनिबार परेको थियो । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आइतबार बसेको बैठक पनि कुनै निर्णयमा नपुगी टुङ्गिएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ । उता, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

शनिबार भएको यस्तै हमलामा मोहम्मद अबु हताबले ठूलो पारिवारिक क्षति व्यहोर्नु परेको थियो । उहाँले भन्नुभयो, “इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ । एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।” यो त प्रतिनिधि घटना मात्र हो । गाजामा यस्ता पीडादायी घटना दिनहुँ भइरहेका छन् । यसपटकको आक्रमण सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनु भएको छ । यस पटकको आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ ।

सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भिषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए । दुबै पक्षबीच युद्धबिराम गराउन करिब तीन महिना लागेको थियो । त्यतिबेला पनि प्रधानमन्त्री रहेका बेन्जामिन नेतन्याहूले हालको युद्ध रोकिन पनि केही समय लाग्ने चेतावनी दिनु भएको छ । त्यसैले तत्कालै युद्धबिराम हुने सम्भावना निकै झिनो छ । करिब पाँच माइल चौडा र २५ माइल लम्बाईमा फैलिएको गाजापट्टीमा करिब २० लाख प्यालेस्टिनीको बसोबास छ ।

लेखक

दुई वर्षका अवधिमा चार पटक संसदको चुनाव भएपनि बहुमत ल्याउन असफल भएका प्रधानमन्त्री नेतन्याहूले सम्भवतः चाँडै हुने अर्को चुनावमा आफूलाई पुनः उदय गराउने योजनामा पनि रहेको आशंका गर्न सकिन्छ । प्रधानमन्त्रीको पूर्ण आदेश पाएको इजरायली सेनाले आइतबार ५४ वटा लडाकू बिमान प्रयोग गरी गाजाका ३५ ठाउँमा बम हमला गरेका थिए । सेनाको भनाईमा यी हमलाहरु खासगरी हमास र इस्लामिक लडाकू विरुद्ध केन्द्रित छन् तर यी आक्रमणमा मारिनेहरु ज्यादातर महिला, बालबालिका र अरु सर्वसाधारण छन् । केही लडाकूहरु पनि मारिएका खबर सार्वजनिक भइरहेका छन् ।

इजरायली आक्रमणको प्रतिरोध गरिरहेका हमास लडाकूहरुले दक्षिणी इजरायली भूमिमा लगातार क्षेप्यास्त्र प्रहार गरेर परिस्थितिलाई अझ उत्तेजित बनाएका छन् । यसबाट मङ्गलबारसम्म २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ जसमा इजरायलतर्फ १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार हमासले तीन हजार भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्वीट गर्दै संयुक्तराज्य अमेरिकाले शान्त, व्यापक कुटनीतिक प्रयास जारी राखेको तथा आफूहरुले परिस्थितिलाई तत्काल समाधान गर्न निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले द्वन्द्वका बारेमा आफूहरुले इजरायल र इजिप्टका समकक्षीसँग वार्ताहरु गरिरहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तीन दिनको अवधिमा दोस्रो पटक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरी गाजाको हमास सरकारसँग तत्कालै युद्धबिराम गर्न आग्रह गर्नु भएको छ । तर राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै इजरायलले विगत आठ दिनदेखिको आक्रमणलाई निरन्तरता दिइरहेको छ । सोमबार अबेर पनि प्रधानमन्त्री नेतन्याहूले सुरक्षा अधिकारीसँगको बैठकमा गाजाबाट भइरहेका आतंकवादी हमलाको प्रतिरोधलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ताकि सबै इजरायली नागरिकले सुरक्षित महसुस गर्न पाउन् ।

इजरायल र प्यालेस्टिनीको विवाद आआफ्नो अस्तित्वसँग जोडिएको विषय हो । हमास समूहले इजरायलको स्वतन्त्र अस्तित्व र पहिचान मेटाएर प्यालेस्टाइन देश निर्माण गर्न चाहन्छ । अहिलेको परिस्थितिमा त्यो सम्भव छैन, तर इजरायलले पनि प्यालेस्टिनी जनतालाई सम्मानजनक व्यवहार दर्शाउन जरुरी छ । प्यालेस्टिनी जनताको स्वतन्त्र अस्तित्वलाई इजरायलले मान्यता दिनसके वर्षौंदेखिको यो द्वन्द्व सम्भवत समाधानतर्फ उन्मूख हुनेछ । अहिले, जेरुसेलममाथिको अधिकार, पश्चिमी किनारामा इजरायली बस्ती बिस्तार, प्यालेस्टिनी शरणार्थीको फिर्ती तथा लडाकू समूहको उदयले द्वन्द्वको तत्कालै शान्तिपूर्ण समाधानमा व्यवधान उत्पन्न गराउने निश्चित छ । बरु, इजरायल र हमासले एकअर्का विरुद्ध गरिरहेका जथाभावी हमलाबाट आम सर्वसाधारणलाई जोगाउन विशेष सतर्कता अपनाउनु जरुरी छ ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया

सम्बन्धित सामाग्री