एनआरएनए यूकेको चुनाब नजिकिदै गर्दा आर्थिक हिनामिनाको विषयमा किन अलमल ?

नमस्कार, सर्वप्रथम मेरा केहि भनाई वा सुझाब राख्नु पहिले यहाँहरुमा मेरो छोटो परिचय, म अमृत घले २००८ देखि वेल्सको राजधानी कार्डिफमा बस्दै आईरहेको छु। बस्दै जाँदा यहाँका अग्रज दाजुभाई दिदीबहिनीहरु संग चिनजान परिचय स्वाभाविक रुपले पनि हुने नै भयो। यसै क्रममा साथि भाईहरुको घरमा जाने आफुले पनि बोलाउने हुँदाहुँदै यहाँका संस्थासंग आबद्ध भै आफूलाई पनि समाज भित्र रहेर सामाजिक कामहरु गर्नु पर्छ भन्ने रुची रहेको र हामी जहाँ बसे पनि हामीले बिर्सनु नहुने हाम्रो नेपाली भाषा, आ-आफ्नो संस्कार सहितको पहिचान र कला-संस्कृति ईत्यादीलाई हामीले सिरोपर गर्यौं भने मात्र दीर्घकालिन रुपमा अवश्य जानेछ भन्ने मलाई लाग्दछ।

२००९ सेप्टेम्वरमा स्थापित भएको वेल्सको नेपाली संस्था ‘नेपाली समाज वेल्स यूके’ले वर्ष भरि हुने विशेष कार्यक्रमहरु दशैं तिहार, नयाँ बर्ष , हरितालिका तिज , समर भेटघाट (BBQ) एवं विभिन्न संस्थागत मनोरन्जनात्मक कार्यक्रमहरुका साथै एकअर्कासंग भलाकुसारी हुने कार्यक्रममा सहभागी हुँदै सहयोगको भावना बढाउनुनै मेरो रुची को विषय थियो।

२०११ मा ‘नेपाली समाज वेल्स यूके’को कार्यसमिति सदस्यदेखि सह कोषाध्यक्ष हुँदै, २०१६ सेप्टेम्बर देखि उपाध्यक्ष र २०१८ देखि २०२० को सेप्टेम्बरसम्म अध्यक्ष रहंदा संस्थाले गर्नु पर्ने विभिन्न तहका कामहरु गरियो धेरै सामाजिक कामहरु थाती थिए तर अचानक कोरानाको तिब्र प्रभाबले संस्थाका कार्यक्रमहरु ठप्प जस्तै भयो। तर पनि हामी चुप लागेर बसेनौ त्यस समयमा हाम्रो संस्थाले धेरै बिधार्थीहरुलाई समयमै राहत वितरणको कार्यक्रम तदारुकताका साथ अघि बढायो । एनआरएनए युके राज्य समन्वय परिषद् वेल्ससंग पनि सहकार्य गरेर अरु धेरै समाज सेवाका कामहरु भए।

कोबिड(१९ को बिशेष परिस्थितिले गर्दा भर्चुअल महाधिबेशन मार्फत १३ फेब्रुअरी २१ मा ‘नेपाली समाज वेल्स यूके’को नयाँ नेतृत्व चयन गर्दै पुर्ब अध्यक्ष र सल्लाहकारको भूमिका निभाईरहेको छु। १५ सेप्टेम्बर १९ देखि एनआरएनए युके राज्य समन्वय परिसद वेल्सको उपाध्यक्षको रुपमा काम पनि गरिरहेको छु।

मेरा सुझावहरु :

प्रजातान्त्रिक देशमा बसेपछि एक साधारण नागरिकको हैसियतले पनि चित्त नबुझेको ठाउँमा बोल्न पाउनु, लेख्न पाउनु नैसर्गिक अधिकार हो। सामाजिक संस्थामा भएका गल्तिहरुमा खबरदारी गर्ने अधिकार पक्कै पनि सबैलाई हुन्छ। ११ अक्टोबर २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संग अहिले आएर ८२ देशमा संगठन विस्तार भैसकेको छ।

दुखका साथ भन्नु पर्दा एनआरएनए बेलायतमा जस्तै अरु देशहरुमा पनि यस्ता खालका आर्थिक हिनामिना भए-भएनन त्यो सम्बन्धित देश र अन्तररास्ट्रिय समन्वय परिसद्लाई अवगत होला नै ? तर आफु नै बसेको देश बेलायतमा भने देशै भरि आर्थिक अपारदर्शिताको हल्ला मचिरहंदा र एक किसिमले भ्रस्टाचार भएको प्रमाणित भई सक्दा पनि त्यस विषयमा सहि सम्बोधन हुन् ढिलाई हुनु दु:खद मात्रै होईन यो एउटा दुर्भाग्य पनि हो।

म एक सामान्य व्यक्तिको हैसियतले र लामो समय देखि संघ संस्थामा रहेर काम गर्दै आएको अनुभब एवं सिधा कुरा भन्नु पर्दा जात जाती, थर, नातागोता साईनो, धर्म, राजनीति आफ्नै ठाउँमा छ । तर संस्थाको नेतृत्व भित्र रहेर कामहरु गर्दा आम जनताले रुचाउने सेवा मुलक कामहरु गर्नुपर्छ भन्ने मेरो मान्यता हो। यहाँ मलाई कुनै पक्षमा लाग्नु छैन, मलाई लाग्नु छ त केवल संघ संस्थाको मुख्य मेरुदण्ड मानिने आर्थिक पाटोको पक्षमा। संस्थाको आर्थिक हिसाब किताब भित्र कुनै भ्रस्टाचार गरिन्छ र विधि, विधान र प्रक्रियालाई लत्याएर भ्रस्ट प्रवृतिलाई प्रोत्साहन दिईन्छ भने त्यसको बिरुद्धमा लाग्नु छ मलाई। व्यक्तिको पछाडी दौडनु छैन मलाई, तर त्यस्ता व्यक्तिले भित्र्याउने खराब आचरणको खिलाफमा आवाज बुलन्द पार्नु छ मलाई। जहाँ भ्रस्ट हुन्छन र भ्रस्टाचार मौलाउँदै जान्छ त्यहाँ तपाई हामी चुपचाप लागेर बस्नु हुन्न यस्ता ठाउँमा खबरदारी गर्ने तपाई हामी सबैको कर्तव्य एवं दायित्व हो। त्यहि भ्रस्ट र भ्रस्टाचारी प्रबृत्तिहरुबाट मुक्त बनाउन नसकेर नै नेपालमा भ्रस्टाचार मौलाएर आज देश दयनीय अबस्थामा पुगेको छ। तपाईं हाम्रा आखाँ रसाउँछन् देशको हालत देखेर, देशको व्यथा सुनेर। हामी नेपाली हामीलाई बस्नु पर्ने बेलायतमा, कमाउनु पर्ने पाउण्ड, लगाउनु पर्ने ब्रान्डेड फेसन तर वानि र सोच उही पुरानै ?

एनआरएनए युके बेलायतस्थित एक सामाजिक संस्था हो र बेलायतमा रहेका करीव ३ सय भन्दा बढी अन्य सामाजिक संस्थाहरुको एउटा अभिभावक संस्थाको रुपमा चित्रण गरिन्छ एनआरएनए युकेलाई। यति हुँदाहुँदै पनि यो कार्यसमितिको कार्यकाल शुरु भए लगत्तै एनआरएनए युकेका चार उपाध्यक्षहरु राम चन्द्र पोखरेल , प्रेम गाहा मंगर , नारायण कडेल र मोहन कार्कीबाट पुर्ब कार्यसमितिले बुझाएको आर्थिक रिपोर्ट र त्यस भित्र भएका अपारर्दिर्श क्रियाकलापका बारेमा बोलेका र उठाएका सबालहरुमा छानबिन समितिको प्रतिबेदनले समेत प्रमाणित गरिसकेको यस अबस्थामा समेत वर्तमान कार्यसमिति चुपचाप रहनु लज्जास्पद मात्र होईन यो दुर्भाग्यपूर्ण छ ।

बिभिन्न शिर्षकमा भएका भनिएका सवै विल र खर्चका विवरण सदस्य सामु प्रस्ट रुपमा देखाउनु पर्ने कि नपर्ने ? संस्थाले गरेका वैकिंग कारोवारहरु कार्यसमितिमा प्रस्तुत एवं छलफल हुनुपर्ने कि नपर्ने ? कार्यसमितिका चार उपाध्यक्षहरुले उठाएका आर्थिक तथा सांगठानिक बिकृतिका मुद्दाहरुलाई जनभावना अनुसार सहि सम्बोधन हुनु पर्ने कि नपर्ने? कार्यकाल सकिएको झन्डै दुई वर्ष वित्ता समेत आर्थिक पाटो सहि सलामत बुझाउन नसक्ने पूर्व कार्यसमिति र अहिले सम्म पनि ढाकछोप गरेर भ्रस्टाचारीलाई उन्मुक्ति दिन लागि परेको बर्तमान कार्यसमितिले यसको नैतिक जिम्मेवारी लिनु पर्ने कि नपर्ने ? प्रस्न हजार छन् तर उत्तर कहाँ बाट पाउने ?

एनआरएनए युके वर्तमान अध्यक्ष पुनम गुरुङज्युको यो करिब दुई वर्ष कार्यकाल भित्र कोबिड(१९ को समस्याले पनि सोचेजति कामहरु गर्न सकिएन होला त्यो आफ्नो ठाउँमा छ।

तपाईंहरुले हेर्नुभएकै होला बेलायती प्रधानमन्त्रीले आफ्नो क्वार्टर मर्मत सम्भार गर्दा समेत पार्लियामेन्टमा सांसदहरुले कहाँबाट पैसा ल्याएर गरियो भनेर प्रस्न गरेको, त्यहि हो प्रजातन्त्र। तर एनआरएन युके भित्र चित्तबुझ्दो अनुसारको आर्थिक पारदर्शी नदेखिएको क्रममा कार्यसमितिको छलफलमा खबरदारी गर्दा शत्रु जस्तो व्यवहार गरेको सुनियो चार उपाध्यक्षहरुलाई, कठै विचरा तपाईंहरु, नेपाली समाजका बुद्दिजिबिहरु?

एनआरएनए युके हामी सबैको एउटा साझा घर हो हामी सबैको एउटा परिवार हो त्यहि घरको अभिभावक हो अध्यक्ष। आफ्नो परिवारलाई छलफलको माध्यमबाट निस्कर्षमा पुर्याएर यस कार्यसमितिलाई सार्थक बनाउन अन्तिम समयसम्म कोसिस गर्नु पर्ने दायित्व हो अध्यक्षको तर त्यसो भएको देखिएन। यो भन्दा पहिले पनि योगेन क्षेत्री र महेन्द्र कंडेलको विवादित विषयले झण्डै दुईवटा एनआरएनए भोग्नु परेको थियो युकेले, तत्कालिन आईसीसी अध्यक्ष शेष घले सहितको प्रयासले टरेको थियो त्यो दुर्घटना, त्यहि दुर्घटना दोहोरिएको देख्न नपरोस भन्ने हामी आम बेलायती गैर आवासीय नेपालीहरुको सुझाब हो।

मलाई लाग्छ चार उपाध्यक्षहरुको आवाज भनेको संस्थाको आर्थिक पाटोमा व्यक्ति बिशेषले हिनामिना गरिएकोमा खबरदारी साथै चेतावनी हो तर एनआरएनए युके समग्र संस्थालाई दोष दिएको होइन। एनआरएनए युकेको पुर्ब अध्यक्ष योग कुमार फगामीको पालामा बेलायतको चारै राज्य मा राज्य विस्तारसहित उहाँको कार्यकाल भरि अरु थप कार्यक्रमहरु पनि भए त्यो भन्दा पनि महत्वपूर्ण कुरा गत चुनाबमा कोषको व्यापक दुरुपयोग संगै यो आर्थिक पाटोमा ठुलो लापरवाही वा कमिकमजोरी भएर नै अहिलेको आर्थिक सम्बन्धि मुद्धाले वेलायती अदालतको ढोक्का ढक-ढकाउन पुगेको बुझिएको छ।

झन्डै २ लाख नेपाली बस्ने देश बेलायतमा एकदमै कम मात्रामा सदस्य हुनुको मुख्य कारण पनि गैरआवासीय नेपाली संघ बेलायत भित्र व्यापारिक, जातीय र राजनैतिक चलखेलले जरो गाड्नुले हो जसलाई जरैदेखि उखलेर फाल्ने बेला आएको छ। यदि गैर आवासीय नेपाली संघ बेलायतलाई एक स्वच्छ साझा संस्थाको रुपमा विकास तथा स्थापित गर्न सकियो भने सदस्य बनाउन हामी सबैलाई हौसला मिल्नेछ।

एनआरएनए युकेले यहाँका नेपालीहरुको मन जित्न नसक्नुको मुख्य कारणहरु आर्थिक घोटाला गरेर , जातीय विभेद गरेर , अध्यक्ष भएपछी आफु नै सर्वेसर्वा भन्ने ठानेर , राजनीतिक प्रभावमा परेर आफ्नो जिम्मेवारी विर्सनाले संस्थाको साख खस्किदै गएको छ। संस्थाको उद्देश्य एकातिर छ तर काम भने अर्को तिर छ। हामीलाई मिठा भाषण चाहिएको छैन ? संस्थागत रुपमा रहेर ईमान्दारी , समाज भित्रको भावनालाई बुज्ने , संगठनलाई हाक्ने कर्मठ साहसी व्यक्तित्व हुनु पर्छ भन्ने मेरो भनाई हो। हुनत यहाँ म भन्दा अरु अग्रज बुद्दिजीवि महानुभाबहरु धेरै हुनुहुन्छ तर मैले भन्न चाहेको के हो भने म जस्तो एउटा साधारण व्यक्तिले त कहाँनिर गलत भएको छ भनेर देखेको छु भने तपाईं आफुले आफुलाई बुद्दिजीवि भन्ठान्नेले बुझु भएन?

अब भन्नु होस कसरी आउदै गरेको चुनावमा हामीले जनतालाई सदस्य बनाउन र भोट माग्न जाने ? साँचो कुरा बोलौं? तपाईंहरुको ड्रामाले मलाई त लाज लागेको छ।

यो आर्थिक अपारदर्शी सम्बन्धि मुद्दालाई विवादित नवनाएर छिटै पूर्णता पाउने काम होस् ता कि एक कुसल महिला नेतृत्व भन्दै गर्दा कालो दाग लिएर अवकाश लिन नपरोस। यदि सहि बेलामा सहि काम गर्नु चुक्नु भयो भने तपाईलाई पनि पछी सम्झिंदा आफ्नो यो कार्यकाल र क्रियाकलापले घाटीमा केहि अड्के जस्तो भान होला र जनतालाई पनि त्यहि भान अबस्य हुनेछ। तपाईको दायाँ बायाँ अगाडी पछाडी कान फुक्ने बुद्दिजीविहरु नहोला भन्न सकिन्न तर त्यस्ता कान फुक्नेहरुको कुरा अर्को कानले उडाउन सके कल्याण होला। अर्कोतिर पुर्ब अध्यक्ष फगामीज्युले भन्नु हुन्छ कागले कान लग्यो भन्दैमा कागको पछी नलाग्नु, हजुरले पनि सोच विचार गर्नुस आम जनताले पनि कुन चाँही कागले कुन चाँही कान लग्यो हेरिरहेको छ।

(घले एनआरएनए युके राज्य समन्वय परिसद वेल्सका उपाध्यक्ष हुन )

प्रतिक्रिया

सम्बन्धित सामाग्री