मिनुसँगको भेटघाट र विवाह

अखिल नेपाल भारतीय एकता समाजको सम्मेलनमा भाग लिन हामी नेपालबाट नयाँ दिल्ली गएका थियौं । मणि थापा, हितमान शाक्य र म अलि धेरै मिल्थ्यौं । कुरै कुरामा अब घुम्न छाड्नु पर्यो । घरमा आमा अलि बिरामी हुनुहुन्छ । विवाह गरेर घरबार गर्नुपर्छ होला भनेर कुरा गरेको थिएँ । यो शायद २०४५ साल तिरको कुरा हुनुपर्दछ । त्यसपछि म जागिर खाएर दोलखाको पिखुतीमै बसेको थिएँ । २०४५/४६ सालको जनआन्दोलन पछि घोषणा भएको संविधानअनुसार पहिलो संसदीय निर्वाचनमा पार्टीलाई सहयोग गर्न र बीएड परिक्षा दिन म बेतलवी बिदामा बसेको थिएँ । त्यतिखेर बेलुकी सधैं हामी घण्टाघरको तल भेटघाट गर्थ्यौं । त्यो राजनीतिक सम्पर्क स्थल थियो हाम्रो ।
दशैँभन्दा केही समय अगाडी एक दिन हितमानजीले अलि अप्ठ्यारो मान्दै तिमीले विवाह गर्ने भनेको हैन ? अन्तरजातीय विवाह गर्छौ ? भनेर सोध्नु भयो । मैले ‘हो अब विवाह गर्नुपर्छ’ भनेपछि खै एउटा फोटो लेउ त भन्नु भयो । मसंग वालेटमा भएको फोटो दिएँ । मैले ‘के हो र कुरा’ भनेर सोधेको थिएँ । ‘मेरो आफ्नै भान्जी हो केही दिन पछि कुरा गर्छु’ भन्नु भयो । केही दिन पछि एउटा फोटो ल्याएर ‘हेर त मन पर्छ’ भन्नु भयो । मिनुको कलेज पढ्ने ड्रेस लगाएको फोटो रहेछ । उ बाग्लुङमा विश्वास परिवारमा राम्रो गीत गाउने रहेछ । घरबाट विवाहको कुरा चलेपछि हितमानजीले उसको कलालाई पार्टीले प्रयोग गर्न पाईयोस् भनेर मसंग विवाह गरिदिन पाए हुन्थ्यो भन्ठान्नु भएको रहेछ ।
मैले ‘हुन्छ’ भनेपछि दशैँ अगावै बाग्लुङ जाने कुरा भयो । उहाँ गैसक्नु भएको थियो तर चौतारामा मेरो मिल्ने साथी दुर्गामान श्रेष्ठको आमाको स्वर्गारोहण भएकोले म केही दिन पछि जाने निर्णय गरेँ । त्यसपछि दशैँ तिहार भएर बाग्लुङ जान पनि पाइएन र खबर गर्न पनि सकिएन । अहिलेको जस्तो सजिलो थिएन सम्पर्क गर्न । म बीएड दोश्रो वर्षको तयारी गर्न कीर्तिपुर बस्न थालेको थिएँ । एक दिन हितमानजी आउनुभयो र मलाई कराउनु भयो । आउँछु भनेर नआएकोले मिनुको घरमा सबैले उहाँलाई तिमीहरु राजनीतिमा लाग्नेहरुको विश्वास हुन्न भनेका रहेछन् । मैले मेरो कुरा सुनाएपछि ‘ल त्यसो भए आज राति नै पोखरा जाऔं’ भन्न थाल्नु भयो । खासै मसंग त्यतिखेर पैसा हुँदैनथ्यो । केही गर्न परेमा बा वा दाइहरुसंग माग्नुपर्थ्यो तर संयोगवस जीन्दगीमै पहिलोपल्ट बीएड पहिलो वर्षमा बोर्ड छैठौं भएर केही दिन अघि मात्रै २ हजार रुपैयाँ पाएको थिएँ । खल्तीमा पैसा भएकोले तुरुन्तै ‘हुन्छ’ भनेर हामी रात्री बसबाट पोखरा गयौं । त्यतिखेर हितमानजीले कंगो किनेर लानु भएको थियो ।
पोखरा-बाग्लुङ बाटो बन्दै थियो हामी डम्फरमा चढेर बाग्लुङ पुग्यौं । हामी हितमानजीको दाजु महेन्द्र मामाको घरमा बसेका थियौं तर उहाँहरु सबै काठमाण्डौंतिर सरिसक्नुभएको थियो । मिनुको घरमा गएर कुरा गर्यौं । मिनु लजाएर खासै बोलेको थिइनन् म भने धेरै बोलें क्यारें । त्यसपछि मिनु र उसको साथी शोशील हामी बसेको घरमा आए । त्यहाँ पनि केही कुराहरु भए । दुवैले मन पराएपछि मिनु आई.ए को परीक्षा दिएर बसेकोले सकिएपछि बीए पढ्न काठमाण्डौं बस्ने, हामी नजिक रहने र पढाइ सकिसकेपछि विवाह गर्ने कुरा भयो । फर्कने बेलामा एकपटक भेटेर जाऔं न भनेर भन्दा हितमान जीले ‘भो पर्दैन’ भन्नु भयो र मैले पनि कर गर्न सकिनँ । मन गह्रुँगो गर्दै फर्कन पर्यो । त्यतिबेला रेडियोमा “म तिम्रो शहर छोडी टाढा” बोलको गीत बजिरहेको बाटोमै सुनिएको थियो । तिमीसंग कहिल्यै नभेट्नेलाई ‘तिमीसंग कहिल्यै नछुट्ने कसम खाँदैछु’ भन्दै हिडें । बाटोमा लामो छलफल भयो । एकपटक भेट्न त दिनु पर्थ्यो भनेर म भन्ने तर उहाँ आफ्नो निर्णय सही थियो भन्नेमा हुनुहुन्थ्यो । मैले तपाईको बेलामा थाहा पाउनुहुन्छ भनेको थिएँ । काठमाण्डौ आएर मैले सबैकुरा मणि थापाजी लाई सुनाएँ । उहाँ हाँस्दै हुनुहुन्थ्यो । उता मिनु भने पर डाँडासम्म आएर हेर्न थालिछन् । भेट नभएकोमा दिनभरी रुँदै बसिछन् ।
केही हप्तापछि मिनुको बुवा काठमाण्डौं आउनुभएको रहेछ । त्यो मंसिर महिना हुनुपर्छ । वटुमा श्याम श्रेष्ठजीको पसलमाथि बसेर कुराकानी भयो । ‘छोरी मान्छेको विवाहको कुरा गरेर फेरि पछि केही भयो भने राम्रो हुँदैन, त्यसैले अहिले नै विवाह गर्न पर्ने भएको छ’ भन्नुभयो । मैले पनि ‘हुन्छ, भैहाल्छ नि’ भनेँ । त्यही ठाउँमा क्यालेण्डर हेरेर फाल्गुन ८ गतेको साईत तय भयो । मैले घरमा खासै केही कुरा गरेको थिइनँ ।
मशाल चौथाे महाधिवेसन, सर्वहारावादी संगठन, मसाल डा.बाबुराम भट्टराईसंग पार्टी मिलेर एकता केन्द्रको महाधिवेशन चितवनमा हुँदै थियो । त्यसमा भाग लिन मिनु पनि बाग्लुङबाट आउने भइन् । मलाई पनि जानुपर्छ भनेको थियो तर मेरो बीएडको परीक्षा त्यही बेला भएकोले नजाने निर्णय गरें । जुन अहिले सम्झिँदा अचम्म लाग्छ । हुनेवाला श्रीमतीसंग विवाह पहिला १५ दिन संगै बस्न पाएको अवसरलाई भन्दा मैले कसरी परीक्षालाई प्राथमिकता दिए हुँला ? अधिवेशनभन्दा केही दिन अगाडी मिनु काठमाण्डौं आइन् । म कीर्तिपुरमा थिएँ । त्यतिबेला म बाग्लुङकै होमबहादुर थापाजीसंग उहाँकै कोठामा बस्थेँ । मैले मिनुलाई दाइ भाउजु र आमासँग पनि भेट गराएँ । मिनुले पनि उसको मामा फूपूहरुसँग भेट गराइन् । कहिले टेम्पो, कहिले मिनीबस, कहिले पैदल यात्रा गर्दा रमाईलै भयो । मिनु र लक्ष्मी, शारदा शर्मा खाटमा अनि म तल ओछ्यान लगाएर सुत्ने व्यवस्था मिलाएको थिएँ । म पढिरहेको थिएँ । मिनु खाटबाट लडेर भुँईमा झरिन् राति २ बजेतिर । म पढ्दै थिएँ । के गरुँ के गरुँ जस्तो लाग्यो । छुने हिम्मत गरिनँ र लक्ष्मीलाई उठाएर मात्रै मिनुलाई उठाउन लगाएँ ।
त्यतिखेर बदाम र सुन्तला खाएको अझै याद ताजै छ । एक साँझ कीर्तिपुरको कोठाको छतमा बसेर वरपर हेर्दा खुबै रमाईलो लागेको थियो । जीवनमा पहिलोपटक र एकैपटक यस्तो अनुभव गरियो । उनीहरु चितवन हिँड्ने दिन बिहान म परीक्षामा जानु पर्ने थियो । खै कसरी हो मसंग एउटा प्लास्टिकको औंठी हात परेको रहेछ । छुट्टिने बेलामा बडो डराउँदै औलामा प्लाष्टिकको औठी लगाएर हातमा म्वाई खाएँ । पहिलो पटक ७२ घण्टाको बसाईमा ।
मेरो परीक्षा सकियो । मिनु चितवनबाट नै बाग्लुङ गइन् । म चौतारा गएँ । त्यसपछि हामी बीच चिठ्ठी पत्र आदानप्रदान भयो । मैले दैनिकी नै पठाउँथे । त्यो तीन महिना तीन दिन जस्तो बित्यो । विवाहको तयारीको लागी जयन्द्र दाइसंग पैसा मागेँ । दाइले २८ हजार दिनुभयो । सामान्य किनमेलमा नै सबै पैसा सकियो । जुत्ता किन्न पाइएन र आनन्द दाइको जुत्ता नै लगाउने भएँ । त्यतिखेर बुबा आमा पनि बालुवाटारमा रत्नध्वज प्रधानको बहिनीको घरमा बस्थ्यौं । मेरो विवाह हुने भएकोले एक महिनाको लागी माथी एउटा थप कोठा पनि लिएका थियौं । फागुन ६ गते म आनन्द दाइ, अग्नी सर र पहिला बाग्लुङमै काम गर्नु भएको दाइको साथी डा.बासु पाण्डे पोखरा गएर होटल आनन्दमा बस्यौं । त्यही पुरानो बजारको किरण मास्केसंग भेट भयो । उहाँ पनि बाग्लुङमै काम गर्नुहुँदो रहेछ । बलेवासम्म जहाजमा गएपछि त्यहाँबाट थप बाटो हिड्यौं । शोभा माइजु, चमेली नीनीहरु पनि संगै परिएछ । हामी महेन्द्र मामाहरुकै घरमा बसेका थियौं । दिउँसो मिनुकोमा भोज खाएर बेलुका मेरो जन्ती जानेहरु सबै पार्टीकै साथीहरु थिए । यानप्रसाद गौतम त्यतै हुनुहुँदो रहेछ । विवाह पछि आफन्तको घरमा भित्राउन हुन्न भनेर त्यही महेन्द्र मामाको घर अगाडी विजय अंकल (संगीता बहिनी) को घरमा बस्यौं । भोलिपल्ट बिहानै ट्रक चढेर पोखरा होटल आनन्दमै आएर दिउँसो आराम गर्यौं र रात्री बसबाट काठमाण्डौं लाग्यौं । मिनु रुन छाडेकी थिइनन्, बाटोभरी रोइन् । मैले अपराध नै गरेँ कि जस्तो लागेर मुग्लीन पुगेपछि बाध्य भएर ‘तिमी रुने मात्र भए हाम्रो विवाह भैहाल्यो जुन दिनसम्म तयार हुदिनौ माइतमै बस्नु । म तिमीलाई पुर्याउन बाग्लुङ फर्कन्छु’ भने पछि मात्र अलि चुप लाग्न थालिन् । बिहानै बालुवाटार पुग्यौं । निरे दिदी पनि आउनु भएको रहेछ । आमा बा पनि हुनुहुन्थ्यो । त्यही घरमा सामान्य रुपमा भित्राउने काम भयो । विवाहको कुरा गदा आमाले ‘साँच्चै हो र विवाह गर्ने’ भन्नु हुन्थ्यो । बुहारी भित्राएपछि मात्र विश्वास गर्नु भयो । म चौताराको उ बाग्लुङको कसरी विवाह भयो भन्नेहरु अहिलेसम्म पनि धेरै छन् ।

श्रेष्ठको मेरो आधा शताब्दी पुस्तकबाट

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री