मंगलबार, फागुन १८ २०७७ | Tue, March 02, 2021
नेपालको समय: ०१:१२ | UK Time: 19:27

‘गोरखा समुदायमा डा. लक्सम्बाजस्तो व्यक्ति जन्मन अब कति समय लाग्ला ?’

वीनेपाली
२०७७ माघ २५ गते ९:५५

डा चन्द्र लक्सम्बा

बहुआयामिक व्यक्तित्वका धनी, बेलायतस्थित नेपाली समाजका एक अग्रज सदस्य डा.चन्द्र लक्सम्बाको ५९ वर्षको उमेरमा २६ जनवरीका दिन बेलायतमा निधन भयो । पूर्व गोरखा सैनिक डा. लक्सम्बाको नेपालको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ तर लामो समयको अन्तराल र धेरैवटा परिचयको थाकमुनी उनको त्यो योगदान धेरैलाई थाहा नहुन सक्छ ।
यसै सन्दर्भलाई उजिल्याउन वि.सं. २०३४ देखि २०४२ सम्म डा. लक्सम्बासँग सहकार्य गरेका तत्कालिन विद्यार्थी नेता तथा हाल बेलायतमा रहनुभएका डा. अच्युत गौतमसित केही कुराकानी गरिएको थियो ।
डा. चन्द्र लक्सम्बासित गौतमको भेट २०३४ सालतिर अमृत साइन्स क्याम्पस, अस्कलमा आइएस्सी पढ्दा भएको थियो । उहाँहरु भेट हुँदा विद्यार्थी आन्दोलन शुरु भएको थिएन । एउटै कक्षा भएकाले पढ्ने, बास्केट बल, भलिबल खेल्दा उहाँहरूबीच भेट हुन्थ्यो । २०३५/३६ सालतिर विद्यार्थी आन्दोलनको ताप बढ्न थालेपछि उहाँहरुबीच सहकार्य र निकटता बढ्यो । त्यतिबेलाको सन्दर्भ सम्झँदै गौतम भन्नुहुन्छ, “उहाँ पनि वामपन्थी झुकावको हुनुहुँदो रहेछ, म पनि त्यस्तै विचारको थिएँ ।”
तर विद्यार्थी आन्दोलनले गति लिँदालिँदै गौतम पक्राउ परे । डा. लक्सम्बा भने क्याम्पसमा नै विद्यार्थी आन्दोलनमा सक्रिय रहे । अमृत क्याम्पसमा त्यतिबेला प्रहरीको ज्यादति अचाक्ली नै थियो । छतबाट विद्यार्थीलाई हुत्याइ दिनेसम्मको । डा. लक्सम्बालगायतका विद्यार्थीहरुले त्यसको डटेर प्रतिकार गर्नुभयो ।
२०३६ सालभन्दा अगाडि काठमाडौँका क्याम्पसहरुमा न त तत्कालिन नेकपा माले निकट अखिल पाँचौँको संगठन थियो न त झापा विद्रोहको नाम नै कसैले लिन चाहन्थ्यो । विद्यार्थी आन्दोलन शुरुवात हुँदा पनि अखिल पाँचौँको खासै नेतृत्वदायी भूमिका थिएन । तर आन्दोलन चर्कदै जाँदा र अन्तिमसम्म आइपुग्दा अखिल पाँचौँ महत्वपूर्ण शक्तिका रुपमा स्थापित भयो । गौतम भन्नुहुन्छ, “विद्यार्थी आन्दोलनले तत्कालिन मालेलाई दिएको उपलब्धि अभूतपूर्व र अनपेक्षित थियो ।” किनभने त्यतिबेलासम्म नेपाली काँग्रेस निकटको नेपाल विद्यार्थी संघ, पुष्पलालको कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संघहरु मात्र चिनिएका थिए । नेविसंघका अध्यक्ष बलबहादुर केसी, पुष्पलालको विद्यार्थी संगठनका अध्यक्ष शरणविक्रम मल्ल लगायतले पञ्चायतसित विद्यार्थीका तर्फबाट गरेको सम्झौता बहुसंख्यक विद्यार्थीहरुले मानेनन् । उनीहरुले केसी र मल्ललाई ठेलामा राखेर काठमाडौँ शहर परिक्रमा मात्र गराए । त्यहीक्रममा तत्कालिन शाही नेपाल वायुसेवा निगममा आगजनी भयो भने न्यूरोडमा गोली चल्यो । त्यसैको दबाबमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । जेलमा रहेका राजबन्दी रिहाइ गर्न सहमत भए । तत्पश्चात भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देशभरका करिब ६०/६५ क्याम्पसमध्ये ५५ वटा त मालेनिकट अखिल पाँचौँले जितेको थियो । काठमाडौँ उपत्यकामा सबै क्याम्पस अखिलले जितेको थियो । पद्मकन्यामा मात्र मिश्रित प्यानल आएको थियो ।
गौतम भन्छन्, “२०३५/३६ सालको विद्यार्थी आन्दोलनमा चन्द्रजी लगायतका विद्यार्थीहरुको नेतृत्वदायी भूमिका थियो । यदि त्यो विद्यार्थी आन्दोलन सफल नभएको भए २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली र अहिले गणतन्त्र आउन सम्भव हुँदैनथ्यो ।”

डा अच्युत गौतम

गौतम आफैँ जेलबाट छुटेपछि संगठन बनाउन त्रिचन्द्र कलेजमा स्थानान्तरण भएका थिए । उनी त्यहाँको स्ववियुमा काम गर्दै २०३९ मा सभापति निर्वाचित भएका थिए भने डा. लक्सम्बा २०३६ सालमा अमृत साइन्स क्याम्पसको स्ववियु सभापति भएका थिए । दुर्गम ताप्लेजुङबाट एसएलसी पास गरेर आएका लक्सम्बालाई काठमाडौँको स्थानीय र सम्भ्रान्त वर्गका विद्यार्थीहरु समेत अध्ययन गर्ने अमृत साइन्स क्याम्पसमा लोकप्रिय केले बनायो त ? गौतम भन्छन्, “चन्द्रजी आन्दोलनले खारिएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा राजनीतिक चरित्र र क्षमता थियो । आन्दोलनमा सशक्त भूमिका निभाउनेले नै स्ववियू निर्वाचनमा मौका पाउँथ्यो ।”
क्याम्पस अध्ययनका क्रममा करिब आठवर्ष लामो सहकार्य गरेका गौतमलाई डा. लक्सम्बाको अध्ययन, खेलकुद लगायतका विषयमा पनि जिज्ञासा राखियो । गौतम त्यतिबेलाको विद्यार्थी जीवनको सबिस्तार व्याख्या गर्दै भन्छन्, “विद्यार्थी नेता बन्नु अहिलेजस्तो थिएन । पढाइमा उत्कृष्ट बन्नु अनिवार्य नै थियो । नेतृत्व पंक्तिमा बसेकाहरु खेलकुदमा भाग लिएमा, लवाइखवाइ, बानीब्यहोरामा स्मार्ट भएमा मात्र विद्यार्थीको मन र मत जित्न सकिन्थ्यो ।” त्यतिबेलाका स्ववियूका नेताहरु प्रायजसो पढाइमा पनि अब्बल थिए ।
विद्यार्थी राजनीतिमा चम्किएका बेला डा.लक्सम्बालाई तत्कालिन राज्यसत्ताले विदेशमा अध्ययनको प्रलोभन देखाएको पनि चर्चा हुन्छ । त्यसबारेमा गौतमलाई केही जानकारी पो छ कि ? गौतम भन्छन्, “विद्यार्थी आन्दोलनका उत्कृष्ट नेताहरुलाई किन्ने, प्रलोभन देखाउने त्यतिबेला कुनै नौलो कुरा थिएन । हामी सबैलाई त्यस्तो प्रयास गरिएकै हो । तर विद्यार्थी आन्दोलनमा रहुञ्जेल चन्द्रजीले आफ्नो कर्तव्य पूर्णरुपमा निर्वाह गर्नुभयो । त्यस्तो प्रलोभनमा चुक्नु भएन ।”
काठमाडौँमा बीएस्सी पूरा गरे पछि लक्सम्बा धरान झरे । त्यहाँ उनले घोपा क्याम्पमा केही साल गरे, विवाह गरे र ब्रिटिश सेनामा भर्ती भए ।
बेलायती सेनामा भर्ती भएपछि केही वर्ष गौतम र लक्सम्बाको सम्पर्क टुट्यो । सन् २००२ तिर गौतम अमेरिकामा पीएचडी गर्न जान ठीक्क परेका थिए । कलेज पनि छानिसकेका थिए । यस्तैमा काठमाडौँमा छुट्टीमा पुगेका लक्सम्बासित गौतमको भेट भयो । के गर्दैछौ, कसो गर्दैछौ भलाकुसारी भएपछि लक्सम्बाले गौतमलाई अध्ययनका लागि बेलायतमा आउन अनुरोध गरे । गौतम स्मरण गर्दै भन्छन्, “‘म युकेमा छु । म पनि पीएचडी भर्ना भएको छु । सानो घर पनि किनेको छु । अब हामी सँगै बसौँ, सँगै पढौँ । पैसाको कुनै चिन्ता लिनु पर्दैन’ भनेर ढाडस दिनुभयो । मलाई पनि विदेशमा कहाँ बस्ने, के गर्ने भन्ने चिन्ता थियो । उहाँलाई नभेटेको भए म युके आउने थिइनँ ।”
गौतमको बुझाइमा लक्सम्बा सबैका लागि उत्तिकै सहयोगी थिए । सकेको मद्दत गर्थे । साथीभाइलाई सहयोग गर्न पछि नहट्ने स्वभावका थिए ।
विद्यार्थी जीवनबाट छुटेको लामो समयपछि भेट्दा पनि लक्सम्बाको विचारमा गौतमले कुनै फरक पाएनन् । परिवेश बदलिएका थिए । दुवैको अध्ययन, भोगाइ र अनुभवहरु पनि फरक थिए । तैपनि विचार दुवैको उस्तै थियो । गौतम भन्छन्, “‘स्कुलिङ’ एउटै भएकाले परिवेश फेरिए पनि हाम्रो सोच उस्तै थियो । त्यसले हामीलाई निकट बनायो । अर्को अर्थमा हामीले एक अर्कालाई ‘रिडिस्कभर’ गर्यौँ ।”
पीएचडी पनि लक्सम्बा र गौतमले एउटै सरे विश्वविद्यालयबाट गरे । लक्सम्बाले उनलाई आफूले काम गरेका स्थानहरु देखाउँदै भन्थे रे, “हेर, म यहाँ बसेर काम गर्दा तिमीहरुलाई सम्झन्थेँ । तिमीहरु कहाँ के गर्दैछौ होला भनेर कल्पन्थेँ” । गौतम भन्छन्, “उनी साथीबेगर बस्न नसक्ने र पुराना साथीहरुलाई नबिर्सने किसिमका थिए ।” निकटका साथीहरुमाझ लक्सम्बा भन्ने गर्थे रे, “साम्राज्यवादीको बन्दुक यति लामो समयसम्म बोकेँ तर मेरो आत्माले कहिल्यै शान्ति पाएन ।”
कुराकानीको अन्त्यमा गौतमलाई सोधियो, ‘लक्सबाको निधनबाट नेपाली समाजले के गुमायो ?’ उनले जवाफ थियो, “व्यक्तिगत रुपमा मैले बीसौँ वर्षदेखिको निकट मित्र गुमाएँ । नेपाली विद्यार्थी आन्दोलनले एक सशक्त नेता गुमायो । नेपालको विद्यार्थी आन्दोलनको नमूना थिए उनी । बेलायतको नेपाली समाजले नयाँ विचार बोक्ने, राजनीतिक रुपले सचेत, प्रगतिको सोच राख्ने व्यक्तित्वको कमी महसुस गर्नेछ । गोरखा भूतपूर्व सैनिक समुदायबाट उहाँजस्तो व्यक्ति निस्कन अब कति समय लाग्ला ?”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक