शुक्रबार, माघ ९ २०७७ | Fri, January 22, 2021
नेपालको समय: १५:३८ | UK Time: 09:53

सामूहिक लगानीको प्रयास

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ मंसिर २९ गते १०:३३

व्यक्तिगत रूपमा नेपालीहरूले व्यवसाय सञ्चालन गरेर बेलायतमा बसेको पाइन्छ । एकाध औँलामा गन्न सकिनेबाहेक धेरै व्यवसायीहरूको हालत सधैं काममा व्यस्त रहनुपर्ने र कुनै न कुनै काममा अल्झिरहनुपर्ने हुन्छ । व्यवसाय गर्न चाहेका केही आर्थिक क्षमता भएका व्यक्तिहरू आफ्नो स्थायी कामको कारण स्वाट्टै काम छाडेर व्यवसायमा आउन नसक्नु स्वाभाविक पनि हो ।

सन् १९९९ तिर नै हामी केही साथीहरू म, रूपक श्रेष्ठ लोक गुरुङ, राजाराम गिरीलगायतले मिलेर अलि ठूलो रेस्टुरेन्ट खोल्नपर्छ कि भनेर विभिन्न चरणमा छलफल गर्यौं । राति अबेला काम सकेर छलफल थालेर चिचेस्टरबाट पोर्टसमाउथमा बिहान ५ बजेतिर बिक्रीमा रहेको एउटा ठाउँ हेर्न गएको ताजा सम्झना छ । पछि खै के कसो भएर यो प्रक्रिया रोकियो र हामीले सोचेको जस्तो काम गर्न सकेनौं ।

केही वर्षपछि एनआरएनको स्थापना यूकेबाट भएसँगै विदेशमा बस्ने नेपालीहरूले सामूहिक रूपमा नेपालमा लगानी गर्ने प्रचारप्रसारहरू हुन थाल्यो । हङकङबाट यूके आउनुभएका अशोक श्रेष्ठ दाइले सन् १९९८ देखि विभिन्न ठाउँमा सफल रूपमा रेस्टुरेन्ट सञ्चालन गरिरहनुभएको थियो । यूकेमा पहिलो एनआरएनको संयोजक महन्त श्रेष्ठको कार्यकालपछि गठन भएको पहिलो कार्यसमितिमा अशोक श्रेष्ठ अध्यक्ष रहेको टिममा म पनि सहराष्ट्रिय संयोजक भएको थिएँ । मैले सधैँ सामूहिक रूपमा पहिला नेपालमा भन्दा बाहिर जो जहाँ बसेका छौं, त्यहीँबाट व्यवसाय सुरु गर्नुपर्छ भन्ने गर्थें । थुप्रै अवसरहरू भएको ठाउँमा नै स्थापित हुन सक्यौं भने त्यसैबाट जम्मा भएको थोरै पुँजीले पनि नेपालमा ठूलाठूला काम गर्न सकिन्छ । जसले गर्दा नाफामूलक मात्रभन्दा सेवामूलक कामहरू पनि गर्न सकिन्छ । जसले नेपाल र नेपालीको दैनिक आवश्यकताहरू पूरा गर्न सहयोग पुग्ने छ । एनआरएनमा सँगै काम गर्दा अशोक दाइसँगको मेरो सम्बन्ध झनै गाढा हुन गयो । उहाँले रेस्टुरेन्टहरु चलाउँदै फेरि बिक्री गर्दै आउनुभएको थियो । सन् २००५ बाट अब एउटै नामबाट एउटै प्रकारको रेस्टुरेन्ट सो एसियाको फ्रेन्चाइज खोल्ने तयारीमा लाग्नुभएको थियो । उहाँले यसै मुताविक क्याम्बर्लीमा सन् २००७ मा पहिलो शाखा खोल्नुभयो । जुन रेस्टुरेन्टले सफलता हासिल गरेको थियो । मैले बेलाबखत उहाँलाई केही साथीहरू मिलेर यस्तै रेस्टुरेन्ट खोल्नुपर्छ होला भन्ने सल्लाह दिन्थेँ ।

त्यहीँबेला म बस्ने गरेको वर्दिङको प्रमुख बजारमा एउटा राम्रो घर (चर्च) बिक्रीमा थियो । मैले उहाँलाई हेर्न बोलाएँ र त्यो ठाउँ लिने निर्णय भयो । सुरुमा स्थानीय साथीहरू मिलेर लिने कुरा भयो । मैले यस अभियानलाई दिगो र उदाहरणीय बनाउन तत्कालीन एनआरएन अध्यक्ष उपेन्द्र महतो र सदस्य जीवा लामिछानेलाई समेत संलग्न गराउन सके राम्रो हुने सुझाव दिएँ । जसअनुसार उहाँहरूले सहर्ष स्वीकार गर्नुभयो । अब कम्पनी दर्ता गर्ने क्रममा नाम छान्न थाल्यौँ । यो योजनामा संलग्न सबै साथीहरूको नामको पहिलो अक्षरबाट ‘शुभकाम’ SHUBAKAM राखियो । ‘एस’ बाट सुरेन्द्र,‘एच’ बाट हितमान गुरुङ, ‘यू’ बाट उपेन्द्र महतो, ‘बी’ बाट भोगेन्द्र शर्मा ,‘ए’ बाट अशोक श्रेष्ठ, ‘के’ बाट खनाल, ‘ए’ बाट एन्ड, ‘एम’ बाट माधवलाल श्रेष्ठ ।

पछि केही साथीहरू थपघट भए । हामीले पूरा घर करिब मिलियन पाउन्डमा किन्ने भएका थियौँ । वकिलमार्फत बैनाबट्टा भएसकेको थियो । यही बिचमा अशोक दाइको छोरा प्रितम अकस्मात् बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो । यही दौडधुपमा अशोक दाइ केही कमजोर हुनु स्वाभाविक थियो । एक दिन मलाई तुरुन्त भेट्नुपर्ने भयो, आउनु भन्नुभयो । म उहाँलाई भेट्न गएँ । उहाँले आफूलाई मुटुको बाइपास गर्न अर्को हप्ता जानपर्ने बताउँदै अब फर्केर आएपछि पनि पहिलाको जस्तो सक्रिय जीवन बिताउन नसकिने भएकोले यो योजना यदि आँट गर्ने हो भने गर्नु भन्नुभयो । मैले तुरुन्तै ”यो मात्र एउटा योजना हैन यसले दूरगामी महत्त्व र असर पर्ने हुँदा म एक्लैले गर्न सम्भव हुँदैन बरु अहिले केही बिग्रेको छैन, पछि फेरि तपाई ठीक हुनुभएपछि विचार गरौंला” भनेँ । त्यसपछि हाम्रो वकिलमार्फत यो काम बिचमा नै रोक्यौँ । सबैसँग उठाएको लगानी गर्ने भनिएको पुँजीको केही खर्च कटाएर फिर्ता गर्यौँ । यसरी एउटा सम्भावित सुनौलो अवसर गुमाउनुपर्दा केही दुःखी हुनु त स्वाभाविक थियो । तर, नहुने कुरा जोड गरेर मात्र पाइँदैन भनेर चित्त बुझायौं।

श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक