मेरो जीवन: साँखुदेखि पोखरासम्म

१९८७ साल कात्तिक १९ गते काठमाण्डौंको साँखुस्थित शंखरापुरमा जन्मिएदेखि सुरु भएको हो मेरो जीवन । त्यतिबेलाको केटाकेटी दौंतरी साथीहरुसँग खेल्दैमा मैले साँखुमा १२ वर्ष बिताएको रहेछु । मेरो ठूल्दाई व्यापारी थिए । १३ वर्षको उमेरमा दाइले मलाई उनीसँगै बुटवल लगे । घर छाडेको मैले त्यो पहिलो चोटी हो । घर छाडेपछि त्यतिबेला परदेश गएको भन्ने चलन थियो । मेरो जिन्दगीको पहिलो परदेश नै बुटवल हो। दाइहरुको विवाह सिन्धुपाल्चोकको स्याउलेमा भएको थियो । १० सालमा हामी लागेको पार्टी सरकारले प्रतिबन्ध लगाएपछि ११ सालमा सिन्धुपाल्चोक आएर नयाँ काम सुरु गरें ।

मसहित साथीहरु मिलेर गरेको काम नौलो थियो। पाङताङको दुई वटा गाउँको जडिबुटी मैले संकलन गर्थें। हामीले ठेक्का नै लिएका थियौं – एक वर्षको १० हजारमा । गाउँमा खोजेको जडिबुटी औषधिका लागि प्रयोग हुन्थ्यो। त्यो सिन्धुपाल्चोकमा जतिअन्त कहीं छैन । पाखैभरि छ । वनैभरि छ । त्यतिबेला रसुवा पनि पुगे जडिबुटी खोज्दै। २/ ४ महिना वनमा पसेर जडिबुटी खोज्ने काम गरेपछि मलाई दिक्क लाग्यो । गाउँमा जडिबुटी खोजेर काठमाण्डौं लिएर जानुपर्ने भएपछि झण्झट लाग्यो । उही ठेकेदारलाई नै जिम्मा दिएँ मैले । अनि छाडेँ ।

पछि सेलाङको वनमा गएर फेरि हिंगुवाको मुन्टा खोज्ने काम गर्न थालें। तिब्बतियन डल्लेचिया पनि भन्छन् त्यसलाई। गाउँतिर भोटे चिया भनेर चिनिन्छ । अहिले पनि सेलाङको जंगलैभरि भोटे चिया छ । रातो–रातो जस्तो, खैरो–खैरो पालुवा आउँछ त्यसको । हामीले पात टिपेर संकलन गर्ने गरेका थियौं । त्यतिबेला एक बोराको एक रुपैयाँ तिर्नुपर्ने थियो सरकारी राजश्व । जिल्ला वन कार्यालयलाई तिनुपर्ने । काठमाण्डौंमा धार्नीको २/३ रुपैयाँ पाइन्थ्यो। सेलाङमा संकलन गरेको भोटे चियालाई हामीले १० पैसामा किन्थ्यौं । किनेकोलाई सुकाउनुपर्थ्यो। तीन महिना जंगलभित्र बसेर चिया टिप्दा त्यतिबेलाको तीन हजार रुपैयाँ कमाई हुन्थ्यो । यो काम ३ वर्षजति गरें । एकचोटी चियापत्ति बिकेन । पत्कर जस्तो हुन्थ्यो राख्ने ठाउँ पनि धेरै चाहिन्थ्यो । धेरै झण्झटिलो भयो । पछि छाडेँ।

त्यतिबेला म साह्रै रमाइलो मान्छे थिएँ । म भर्खरको केटो, ठिटो, चिटिक्क परेको थिएँ । गीत गाउने, नाच्नमा म माहिर थिएँ। दिनको चालीस/पचास वटा गीत गाउँथे । म सबैसँग मिल्ने पनि थिएँ । मलाई त्यतिबेला सबैले मन पराउँथे । ललितबहादुरकै घरमा बस्ने खाने भएकाले मलाई उनैकी छोरीले खाना, खाजा दिन्थिन् । रहँदा बस्दा प्रेम भयो उनैसँग ।अनि आफैंले मन पराएर मागेर विवाह गरेको १३ सालमा । पहिलो सन्तान छोरी आफ्नै काखमा मरेकै कारणले मलाई स्याउले बस्न मन लाग्न छाडिसकेको थियो । स्याउलेमा बस्न साह्रै दिक्क लाग्न थाल्यो । कहाँ जाउँ, के गरुँ भएपछि २२ सालमा चौतारा आएर होटल थापेको थिएँ । त्यो त्रिभुमान दाइको घर थियो । २५ सालमा स्याउलेको पसल सालोलाई बेचेर हिँडे । स्याउले छाडेपछि कहाँ जाउँ के गरुँ भन्ने भयो । नारायणगढको कल्याणपुरमा गएर १० कठ्ठा जग्गा किनें । जग्गा किनिसकेपछि चौतारामा सबैले उता बस्न पर्दैन भनेर गाली गरेँ । चौतारा नै बस्न सबैले सुझाए । चौतारामा मेरो घर जग्गा थिएन । नारायणगढमा नजानू भन्ने सबैले भनेपछि त्रिभुमान दाइले २ सय रुपैयाँमा जग्गा दिनुभयो । कुविण्डे जाने चोकको जग्गा । २०२५ सालमा जग्गा किनेर २६ सालमा घर बनाएँ । अनि म त्यतै बस्न थालेँ । २८ सालमा सबै परिबार ल्याएर केही समय त्यही घरमा बसी पछि गैरी गाउँमा भरिपूर्ण दाइको घरमा बसियो ।

चौतारा बस्दै गर्दा २९ सालमा पीपलडाँडा जाने चोक छेउमा घर बनाएको हो । त्यतिबेला त्यो घरको जग्गा ३६सयमा किनेको थिएँ । घर एक तल्ला थियो । योसँगै चौतारामा मेरो दुई वटा घर भयो । कुविण्डे चोकको पहिल्यै लिएको र पीपलडाँडा जानेचोक छेऊमा अर्काे । पछि दुई वटा किन चाहियो भन्ने घरसल्लाहअनुसार मैले कुविण्डे चोकको घर ३९ सालमा ७० हजारमा बेचिदिएँ । त्यो पैसाले माथिको घरको तल्ला थपें।

चौतारामा बस्दा धेरै काम गरियो। राजनीति समाजसेवा लगायत धेरै ठाउँमा काम गरियो । धार्मिक काम पनि धेरै नै गरियो  ।चौतारामा हुने सामाजिक काममा म अभियन्ता नै थिएँ । २००७ सालमा प्रजातन्त्र आएपछि सबै कांग्रेस थिए। म पनि भएँ। वर्ष दिनपछि  कांग्रेसबाट छुट्टिएर अरु पार्टी पनि भए । आठ सालमा पार्टी फरक भयो हाम्रो। साथी प्रेम र म सँधै एउटै पार्टीमा हुन्थ्यौं । त्यतिबेला हामी किसान सभा भन्ने पार्टीमा लाग्यौं । यो कम्युनिष्ट पार्टी हो । त्यो बेलामा असनको गंगालाल भन्नेले साँखुमा आएर संगठन बनाएको थियो । हसियाँ हथौडा, तीन तारा भन्ने पार्टी पनि भएको थियो त्यतिबेला। हामी कम्युनिष्ट पार्टीको भएपछि कांग्रेसविरुद्ध नाराबाजी गर्ने गथ्यौं । यस्तै हुँदा २००८ सालमा म जेल परें। हनुमानढोका अगाडीको थानामा बसेको हो त्यतिबेला । पुलिसले मसहित धेरैसाथीहरुलाई लगेर थुनेको थियो। थानामा बलदेव बाहुन डिएसपी थिए, मानन्धर इन्सपेक्टर थिए । मलाई जेलमा त्यतिबेला बलदेव बाहुनले हे… गोविन्द भनेर बोलाए । मैले ‘किन हजुर भन्नु न’ भन्दा उनले ‘यस्तो चट्टचट्ट परेको केटो, खाउँला, लाउँला भन्ने बेलामा यस्तो पार्टीमा लागेर हुन्छ’ भनेर सोधेँ । मलाई के भनुँ कसो गरुँ भयो । अनि मैले त्यतिबेला ‘सबै गए अनि गएको’ भनेर ती डिएसपीलाई भनेको थिएँ । कुरा गर्दै जाँदा उनले भने,–‘तिमी जागिर खान्छौं’ । मैले भनेँ–‘के मा ’ । ती डीएसपीले त्यतिबेला ‘हवल्दार दिन्छु’ भनेका थिए । तलब चाहिँ जम्मा २२ रुपैयाँ । मैले उनलाई ‘यति तलबले चुरोट खानै पुग्दैन के काम गर्ने’ भनें । उनी मज्जाले हाँसे । उनले मलाई ‘यस्तो पार्टी, सार्टीमा नलाग, छाड् दे’ भनेर सुझाए । त्यतिबेला म डेढ महिना जेलमा बसेको थिएँ ।

कम्युनिष्ट पार्टीको नेता निर्मल लामालाई आठ सालमा भगाएको मैले हो थानाबाट। जेल लैजाने तयारी थियो, सही गर्दागर्दै उनी भागेका हुन् । चप्पल हातमा समातेर भागेका हुन् । उनलाई चैं पाटनमा पक्रेको थियो प्रहरीले । त्यतिबेला कांग्रेसले उल्लु काम गर्दै गयो। हामीले कम्युनिष्ट पार्टीको तर्फबाट कांग्रेसविरुद्ध नारा गर्ने गर्दथ्यौं। त्यही पार्टी भन्यो । बेलुका जाँडरक्सी खायो । झण्डा बोक्यो । हाम्रो दिनचर्या यसरी नै बित्थ्यो। नौ सालमा हामी फेरि जेलमा पर्यौं । अनि मैले पार्टी छाडें । पछि माणिकलाल श्रेष्ठ, प्रेमबहादुर कंसाकार, रेवतीरमण श्रेष्ठको पार्टीमा लागें । नौ सालतिर त्रिभुमान श्रेष्ठ दाइलाई २५ रुपैयाँ लिएर कम्युनिष्ट पार्टीको सदस्य बनाएको हो मैले । हाम्रो साथी दुई जना गएर जनवादी पार्टीको सदस्य बनाउँदै म भोटाङसम्म पुगें। जिल्लातिर राजनीति सुरु गर्दै गर्दा १० साल भयो । त्यतिबेला मातृकाप्रसाद प्रधानमन्त्री थिए । उनले हाम्रो जनवादी पार्टी नै ब्यान्ड गरिदिए। कंसाकार, माणिकलालहरुको पार्टी हो त्यो । त्यतिबेला उनी नेताहरु पक्राउमा परे । बीचमा खासै राजनीति  गरिएन। घर व्यवहार र काममै व्यस्त भइयो। २०३२ सालमा चौतारामा राजनीति गर्दा स्व. खिलबहादुर भावुक प्रधानपञ्च र म उपप्रधानपञ्च भएँ । भावुक काठमाण्डौंमा नेत्रविक्रम थापासँग बस्थे । मैले नै चौतारामा सम्हाल्थे । जनमत संग्रहमा भने बहुदललाई जिताउन पर्छ भनेर लागियो तर हारियो । त्यसपछि राजनीतिमा प्रत्यक्ष सहभागी नभए पनि कम्युनिष्टहरुलाई नै सहयोग समर्थन गर्दै आएको छु ।

मलाई आफू नपढेकोमा साह्रै खिन्नता थियो । नपढेकै कारण म जति राजनीति गरे पनि सँधै कार्यकर्तामै सीमित भएँ । अरु साथीहरु भने नेता भए। मैले नपढेका कारण आफू कार्यकर्ता मात्रै हुनुपरेकाले मैले छोराहरुलाई राम्ररी पढाउने सोच लिएको थिएँ। जेठो छोरो आनन्द जन्मेको १ महिना पछि चिना लेखाउन गएको थिएँ । कम्युनिष्ट पार्टीकै साथी थियो मेरो शिवप्रसाद भन्ने । उ कहाँ म गएको थिएँ । चिना बनाएपछि मैले उनलाई ‘मैले यो छोरो डाक्टर बन्दैन’  भनेर सोधेंको थिएँ । मलाई याद छैन मैले किन त्यतिबेला डाक्टर भन्ने शब्द आयो । धेरैबेर चिना हेरेपछि उनले मलाई ‘तिम्रो छोरा डाक्टर बन्छ’ भनेका थिए । अनि मैले त्यति बेला भने, ‘आनन्दलाई डाक्टर बनाउने’ मैले प्रतिज्ञा नै गरेको थिएँ । त्यसैगरी दुई वर्ष पछि ‘जयन्द्र चैं के बन्छ’ भनेर पनि सोधेको थिएँ चिना बनाउँदा । उनले ‘जे बनाए पनि बन्छ’ भनेपछि ‘इञ्जिनियर बनाउने’ त्यही बेला भनेको थिएँ। कान्छो छोरा चार वर्षपछि जन्म भयो । उसको चिना चाहिँ मेरो अर्को साथी मंगलराज जोशीले बनाएको थियो । उनी दरबारको पनि ज्योतिष थियो। उनैले ‘कान्छा वकिल वा नेता बन्छ’ भनेका थिए ।

जेठा आनन्द र माइला जयन्द्रले प्राथमिक शिक्षा स्याउलेमा नै पायो । जेठा छोरालाई केही समय काठमाडौँमा बोर्डिंगमा पनि राखे तर पछि चौताराकै हाइ स्कुलमा पढाएँ । कान्छो छोरा सुरेन्द्र स्याउलेमा पाँच वर्ष मात्रै बसेकोले स्कुल शुरु भएकै थिएन। सात वर्षको उमेरमा एकैपटक तीन कक्षामा चौतारामा नै भर्ना भएको थियो । सबैले राम्रै पढ्थे । मैले खासै उनीहरुको पढाई बारे कहिले पनि चिन्ता लिन परेन । आनन्दले एसएलसी पास गर्ने बित्तिकै महाराजगंजमा हेल्थ असिस्टेन्ट पढाइ शुरु गर्यो। त्यहाँ पास हुने बित्तिकै डाँडापाखरमा जागिर खान थाल्यो र भाइहरुलाई पनि सहयोग गर्न थाल्यो । उसका धेरै साथीहरु पढ्न विदेश गएपनि उसले भने कुरेरै भए पनि नेपालमा नै पढेर डाक्टर भयो । उसको आमा अलि बिरामी भएको कारण उसले औषधि उपचारमा धेरै नै सहयोग गर्यो। २०५३ साल तिरबाट रेडियोलोजिस्ट भएर पोखरामा आएपछि अहिलेसम्म यहीँ नै बसेका छौँ ।

यो लेख सुरेन्द्र नेपाल श्रेष्ठद्वारा लिखित “मेरो आधा शताब्दी” पुस्तकमा प्रकाशित भएको थियो । सुरेन्द्र नेपाल  श्रेष्ठका पिता गोविन्द दास श्रेष्ठको १३ दिन अगाडी देहावसान भयाे । आज वहाँको तेह्रौं पुण्य तिथिको अवसरमा उहाँप्रति हार्दिक श्रद्धान्जलि । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री