राजनीतिक प्रस्ताव नेकपाको सञ्जीवनी बुटी बनोस् 

नेकपा एमाले र नेकपा माओवादी मिलेर निर्माण भएको नेकपा भित्र हाल देखिरहेको असहज परिस्थितिले यस पार्टीका दशौं लाख कार्यकर्ता, शुभेच्छुक तथा आम नेपाली नागरिकहरुलाई चिन्तित बनाइरहेको छ । गत संसदीय निर्वाचनमा नेपाली जनताको अपार समर्थनबाट झन्डै दुई तिहाई मत प्राप्त सरकारको हाल सम्मको कामहरु विगतको सरकारहरूको जस्तै कर्मकाण्डी हुनुको साथै सबै नेपालीहरुले अपेक्षा गरेअनुरुप नहुँदा जनतामा तीव्र आक्रोश मौलाइरहेको परिस्थितिमा नेकपा एकताबद्द भएर कसरी आफैंले घोषणा गरेका प्रतिवद्धताहरु पूरा गर्दै जनताको अपेक्षाहरु पूरा गर्दै जान सकिन्छ भनेर केन्द्रीत हुनुको सट्टा विभिन्न गुट उपगुटमा विभक्त भई आफ्ना आसेपासे भक्तहरुलाई अवसर दिलाउने  प्रमुख उद्देश्यका साथ सौदाबाजीमा तल्लीन हुनु अत्यन्तै दुखित बनाउने कुरा हो।

विवादको निरन्तरता 

पूर्व नेकपा एमाले भित्र लामो समयसम्म पार्टीको नेतृत्वमा रही प्रभावकारी भूमिका निर्वाह गरिसक्नु भएका वरिष्ट नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनबाट नेतृत्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी वलीलाई हस्तान्तरण गर्नु परेको पीडा हालसम्म पनि मन, वचन र कर्मले स्वीकार गर्न नसकी पार्टीमा गुटलाई बचाई राख्नु पनि नेकपाभित्र संधै देखिने गरेको विवादको एक उल्लेख्य कारण हो। यसभित्र अन्य समान स्वार्थ भएका समूहहरुले मलजल गर्ने काम गरिरहेका छन्। यसको साथसाथै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा वलीले योग्यता र क्षमतालाई आधार बनाई समग्र पार्टीभित्र न्यायोचित नेतृत्व प्रदान गर्न नसक्नु त्यतिकै जिम्मेवार छ। लगभग आधा शताब्दी नेपाल र नेपाली जनताको उत्थानको लागी भनी आफ्नो जीवन अर्पण गर्ने हाल नेकपाको नेतृत्व तहमा रहेका नेताहरुले हाल नेपाली जनतालाई देखाइरहनु भएको लाखे नाचले उहाँहरुलाई  हिनताबोध हुनुपर्ने होइन ? एकाइसौं शताब्दीका नेपाली जनहरूलाई त्यति अबुझ नसम्झनु होला ताकी तपाईंहरूको हर कुकर्मको बहिखाता राख्न उनीहरु असक्षम छन्।

कार्यकर्ता तथा आम नागरिकमा निराशा

विश्वभर भौतिक विकासले  गगन चुमिरहेको बेला अपार प्राकृतिक सम्पदा र परिश्रमी जनताको धनी नेपालले भने विकासको गतिलाई पहिल्याउन नसक्दा लाखौं बहुमूल्य श्रम विदेशिइरहेको छ। राजनीतिक स्थिरता र नेकपाको झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारले तीन करोड नेपाली जनताको समसामयिक अपेक्षाहरुलाई क्रमिकरुपमा पूरा गर्दै जानेछ भन्ने अपेक्षा गरिएकोमा यसको विपरीत नेकपाको नेतृत्व तहमा नै देखिएको निम्नस्तरको आरोप प्रत्यारोपले नेकपाका दशौं लाख कार्यकर्ता र आमनेपाली नागरिकहरुलाई गहिरो चोट पुर्याएको छ। हाल प्राप्त राजनीतिक उपलब्धिको माध्यमबाट अन्य सामाजिक, आर्थिक र भावनात्मक विकासको लागि नै राजनीतिक नेतृत्वले आह्वान गर्नासाथ लाखौं नेपाली जनताले आफ्नो ज्यानको समेत पर्वाह नगरी साथ दिएकै हुन् ।

हरेक कर्म निरपेक्ष नहुने प्राकृतिक नियम भएको  हुँदा नै ब्रह्माण्डमा हजारौं वर्षदेखि विभिन्न परिवर्तनहरू भइरहेका छन् । राजनीतिक नेतृत्वको कुकर्मको घैला पनि दिनानुदिन भरिंदै जान थाल्यो भने धमिलो पानीमा माछा मार्न बानी परेका शक्तिहरु एकजुट भई नेपाली जनताले हासिल गरेका राजनीतिक अधिकारहरु समेत दाउमा नपर्ला भन्न सकिन्न ।

राजनीतिक प्रस्ताव 

नेकपाको सरकारले जनअपेक्षा अनुरुप काम नगर्नुको साथै पार्टी कमिटीको निर्णय पालना नगरी एकलौटी ढंगले चलेकोले पार्टीको उपल्लो तह सचिवालयको बैठकको लागी बहुमत सदस्यहरूले लिखित माग गरे बमोजिम बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको लामो राजनीतिक प्रस्ताव नेकपाको विधान र विभिन्न समयमा भएका निर्णयहरुको आधारमा कति वैधानिक वा यसभित्र समेटिएका विषयवस्तुहरु राजनीतिक प्रस्तावको रूपमा लिपिबद्ध हुनु उचित वा अनुचित के हो भन्ने कुराको बहस निरन्तर रहिरहनेछ । यसको लावा नेपाली राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान पुर्याई उच्च कद बनाउन सफल ब्यक्तिबाट पार्टीलाई नयाँ जीवन दिन स्पष्ट र नीतिगत योजनाहरु समेटिनुको बदला सामान्य नागरिकको स्तरबाट अप्रमाणित घटनाहरूलाई राजनीतिक प्रस्तावको अंश बनाउनुले कतै उहाँकै उच्च कदलाई गिज्याईरहेको त छैन ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा वली र उहाँका समर्थकहरुले अर्को कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेश गर्नुभएको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिंदै आगामी सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी दिएका छन् । उहाँहरूकै शब्दमा के आरोप पत्रहरूको खातले मात्रै विद्यमान नेकपाको समस्या समाधान गर्ला वा विभाजनको मार्गचित्र कोर्ला ?

भगवान श्री रामले एउटा दुखी धोबी दम्पतीको टिप्पणी सुनेर आफ्नो धर्मपत्नी सीतालाई अग्निपरीक्षा दिन बाध्य बनाएका थिए भने आफ्नै समकक्षी अध्यक्ष तथा बहुसंख्यक नेपाली जनताहरूले उठाएका पश्नहरुको जवाफ उचित र सम्मानजनक ढंगले दिनु सम्माननीय प्रधानमन्त्री तथा उहाँको समूहको नैतिक तथा पदीय जिम्मेवारी भित्र पर्दैन र ? यसको विपरीत आरोप प्रत्यारोपमा उत्रिएर राजनीतिक प्रस्ताव पेश गर्ने होडमा लाग्नुभन्दा पार्टी एकताको भावना र मर्मको सम्मान गर्दै एकल राजनीतिक प्रस्ताव निर्माण गर्नेतर्फ दुवै अध्यक्षहरुले आगामी दश दिनको समय उपयोग गर्न सके नेकपा तथा नेपाली जनताको हितमा हुनेछ। भ्रष्टाचार रोकथाममा कडाई गर्ने जागरुकता तथा मनसाय हो भने वि सं २०४६ को राजनीतिक परिवर्तनपश्चात उच्च पदमा विराजमान भएका जति सबैको सम्पत्ति छानबिन गरी सत्य तथ्य पत्ता लगाउन र अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति राष्ट्रियकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समयानुकूल यथार्थमा नै स्वतन्त्र र सक्षम बनाउनेतर्फ तपाईंहरूको ध्यान गएमा पक्कै पनि सारा नेपाली जनता तपाईंहरूको प्रसंशा गर्न कन्जुस्याइँ गर्ने छैनन् । यति साहस देखाइ दिनु भयो भने मात्रै तपाईंले भन्ने गरेका “म पनि भ्रष्टचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ” तथा “मेरो नाफाको जिन्दगी नेपाल र नेपाली जनताको हितमा” भन्ने भनाइहरूले न्याय पाउने छन् ।

हाल संकटमा रहेको नेकपाको एकतालाई बचाई लाखौं कार्यकर्ता र नेपाली जनताको भावनाको सम्मान गर्नु नेकपाको तलदेखि उच्च नेतृत्वसम्म रहेका सबैको प्रमुख जिम्मेवारी हो। यसको लागी सबै नेता तथा कार्यकर्ताहरू संयमित भएर सोहीअनुरुप नेतृत्वलाई सल्लाह सुझावहरु दिंदै आगामी दिनमा कसरी एकतालाई मजबूत बनाई सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने अभियानमा टेवा पुर्याउन सकिन्छ त्यतातर्फ आ-आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ । यसको विपरीत विभिन्न गुट उपगुटलाई मलजल पुर्याइ ब्यक्तिगत स्वार्थमा लिप्त हुने क्रमलाई निरन्तरता दिएमा भिरबाट लड्दै गरेको गाई लाई राम राम भन्नुबाहेक कसैले केही गर्न सक्ने छैनन्।

विशेष गरेर नेकपाको सचिवालयमा रहेका सबै पदाधिकारीहरुले  आ-आफ्ना दम्भ, कुण्ठा, गुटगत स्वार्थबाट माथि उठी पार्टी एकताको भावना र मर्मलाई आत्मासात गर्नु पहिलो कर्तव्य हो। दश दिनपछि बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रस्तावको नाममा आरोप प्रत्यारोपहरूको जुहारी चलाउनुको बदला सबै पदाधिकारीहरुले आ-आफ्नो कमीकमजोरीहरूको समीक्षा गर्दै नेकपालाई सञ्जीवनी बुटी साबित हुन सक्ने एकल राजनीतिक प्रस्ताव तयार गर्न सक्नु पर्दछ । तबमात्र तपाईंहरूले हालसम्म नेपाली जनतालाई देखाएको क्षमताको उच्च सम्मान हुनेछ ।

एकल राजनीतिक प्रस्ताव समस्या पैदा गर्नेभन्दा समस्या समाधानका उपाय र योजनाहरूको बारेमा विस्तृत दस्तावेज बनोस् । जसले  निर्वाचनको समयमा नेपाली जनता सामु कबुल गरेका र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य प्राप्तिको लागी सरकारले चाल्नु पर्ने कदमहरूको बारेमा स्पष्ट निर्देशन गरोस् । अर्को तर्फ फुट र बिग्रहबाट ग्रसित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्द र मजबुत बनाउन पार्टीका सबै नेताहरुलाई गुट र उपगुटमा रमाई पार्टीलाई कमजोर बनाउनुमा भन्दा एकतावद्द भई काम गर्न सक्ने वातावरणको निर्माण गरोस् । यसै राजनीतिक प्रस्तावले सम्माननीय प्रधानमन्त्रीले एक अन्तरवार्तामा नेपाली जनतासामु बोलेको कुरामा कटिबद्ध हुँदै लामो राजनीतिक अनुभव प्राप्त गरिसकेका दोस्रो पुस्ताका नेताहरुलाई नेतृत्व सम्हाल्न तयार हुनको लागी औपचारिक आह्वान गर्न पनि कन्ज्स्याइँ नगरोस् । प्रायः सचिवालयमा रहनुभएका सबै पदाधिकारीहरु राजनीतिक उच्च पद हासिल गरी आफ्नो योग्यता र क्षमताको उपयोग गर्ने अवसर पाइसकेका तर बहुसंख्यक नेपाली जनताको मन जित्न असफल नेताहरु हुनुहुन्छ । त्यसैले अब तपाईंहरुले नेपाल र नेपालीको खुशीको लागी योग्य र सक्षम पुस्तालाई अवसर दिंदा नै सबैको हितमा हुनेछ।

 

विदुर खत्री

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री