अक्सफोर्डको खोपले देखायो वृद्धवृद्धामा उच्च भाइरस प्रतिरोधी क्षमता

लण्डन । कोरोना भाइरसविरुद्धमा खोप विकासमा अग्रपंक्तिमा रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोपका बारेमा चासो चलिरहँदा सो खोपको दोस्रो चरणको परीक्षणको नतीजा सार्वजनिक गरिएको छ ।

‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित लेखअनुसार सो खोपले वृद्धावस्थाका मानिसहरुमा पनि युवावस्थाका मानिसहरुमा जत्तिकै भाइरस प्रतिरोधी क्षमताको विकास गरेको पाइएको छ ।

लेखका अनुसार ५६० जना स्वयंसेवकहरुमा दिइएको खोपको परिणामको विश्लेषणबाट सो निस्कर्ष निकालिएको हो । खोपको परीक्षणमा सहभागीहरुलाई १८ देखि ५५ वर्ष, ५६ देखि ६९ वर्ष र ७० वर्षमाथि उमेर समूहमा विभाजन गरिएको थियो । तर ७० वर्ष माथिका मानिसहरुमा पनि १८ देखि ५५वर्ष उमेर समूहकामा जस्तै भाइरस प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ । परीक्षणमा सहभागी ९९ प्रतिशतमा खोपको दोस्रो डोज लगाएको दुई सातामा एन्टीबडीको विकास भएको पाइएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयले बढी उमेरका मानिसहरुमा धेरैजसो खोपहरुले युवाहरुमा जस्तो असर नगर्ने गरेको उल्लेख गर्दै प्राप्त नतीजाबाट उत्साहित भएको बताएको छ ।

खोपका अनुसन्धाता डा महेसी रामास्वामीले अक्सफोर्डको खोप लगाउँदा बृद्धावस्थाका स्वयंसेवकहरुलाई खासै गाह्रो नबनाएको र प्रतिरोधी क्षमता पनि युवाहरुमा जस्तै पाउँदा खुशी लागेको बताए । उनले अब तेस्रो चरणको परीक्षणको परिणामले भाइरसबाट बचाउन सक्छ कि सक्दैन पत्ता लगाउने बताए ।

अक्सफोर्ड विश्वविद्यालयले ओैषधि निर्माता आष्ट्राजेनिकासित मिलेर बनाएको खोपको प्रभावकारिता बारेको अनुसन्धानको नतीजा क्रिस्मस अगावै आउने बताइएको छ । खोप परीक्षण टोलीका प्रमुख प्रोफेसर आण्ड्रयू पोलार्डले सोको पुष्टी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री