आइतबार, मंसिर १४ २०७७ | Sun, November 29, 2020
नेपालको समय: १०:२९ | UK Time: 04:44

फाइजरको खोप पनि कोरोना संक्रमणबाट बचाउन ९५ प्रतिशत प्रभावकारी

वीनेपाली
२०७७ मंसिर ३ गते १३:२२

लण्डन । कोरोना भाइरसविरुद्ध खोप विकसित गरिरहेको फाइजर र बायोएनटेकले आफूहरुको खोप कोरोना भाइरसबाट मानिसलाई बचाउन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेका छन् ।

गत साता खोप निर्माताहरुले जारी गरेको अन्तरिम रिपोर्टमा सो खोपको प्रभावकारिता ९० प्रतिशत मात्र रहेको बताइएको थियो । तर आज जारी नयाँ रिपोर्टमा सो खोपको तेस्रो चरणको परिक्षणमा सहभागी १७० वटा केसहरुमध्येको परिणाम विश्लेषण गर्दा सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ ।

सबै उमेर, जात र जातीय पृष्ठभूमिका मानिसहरुमा खोपको प्रभावकारिता उत्तिकै रहेको कम्पनीले बताएको छ । यसैगरी ६५ वर्ष माथिकाहरुमा खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।

खोप लगाएका स्वयंसेवीहरुमा कुनै उल्लेख्य साइड इफेक्ट नदेखिएको बताइएको छ । खोपमा सहभागीमध्ये २ प्रतिशतभन्दा कम्तीलाई पहिलो डोजपछि र ३.७ प्रतिशतलाई दोस्रो डोज लिएपछि थकान महसुस भएको छ ।

फाइजरले अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनसित र विश्वका अन्य देशहरुको खोप नियामक निकायमा खोप लगाउन अनुमतिका लागि केही दिनमै निवेदन दिने भएको छ ।

फाइजरले गत हप्ता जारी गरेको रिपोर्ट खोप दिएका ९४ वटा केसको परिणाममा आधारित थियो भने आज प्रकाशित रिपोर्ट १७० वटा केसहरुको विश्लेषणमा आधारित छ ।

फाइजरले जुलाई २७ देखि तेस्रो चरणको परीक्षण गरिरहेको छ । जसमा ४३ हजार ६६१ जना स्वयंसेवकहरुले भाग लिएका छन् । त्यसमध्ये पनि ४१ हजार १३५ जनाले दोस्रो डोज समेत लिइसकेका छन् ।

सो खोपको परीक्षणमा ४२ प्रतिशत जातीय अल्पसंख्यक पृष्ठभूमिका र ४१ प्रतिशत ५६ देखि ८५ वर्षका स्वयंसेवकहरु सहभागी थिए ।

सो खोपको परीक्षण अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनामा गरिएको थियो ।

उत्पादकहरुले यसैवर्षमा ५० लाख डोज र अर्को वर्षभित्रमा १ अर्ब ५० करोड डोज उत्पादन गर्ने बताएका छन् । फाइजरको अमेरिकाका पाँच ठाउँमा ओैषधि उत्पादन कारखाना रहेको छ भने युरोपमा बेल्जियममा एउटा छ ।

फाइजरको खोप दिएका मानिसहरुको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टीबडी बन्ने र भाइरस लागिहाल्यो भने त्यसलाई तुरुन्तै सामान्य बनाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक