१६ बुँदेमा सहमति खोजौंः पौडेल, अबको छलफल महाधिवेशन केन्द्रितः देउवा पक्ष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको संघारमा छ। कात्तिक २१ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकको विषय टुंगो लगाउनका लागि सोमबार केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारीसहित शीर्ष नेताको बैठक बसि रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा छलफल हुँदैछ।

तर, सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसक्दा कात्तिक २१ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमितिको बैठक प्रभावित हुने सम्भावना उत्तिकै छ। किनभने वरिष्ठ नेता पौडेल पक्षले आफूहरूले अघि सारेको १६ बुँदे माग सम्बोधन नभए १४औं महाधिवेशनको नयाँ मिति निर्धारण गर्ने विषयमा छलफल हुनै नसक्ने प्रष्ट पारेको छ। वरिष्ठ नेता पौडेलले संस्थापन पक्षका क्रियाकलापका कारण अहिल्यै १४औं महाधिवेशनको विषयमा छलफल हुन नसक्ने बताएका छन् ।

‘१६ बुँदे मागमा शेरबहादुरजीको स्पष्ट धारणा आउनुपर्छ, विधान विपरीत गठित विभाग र अन्य निर्णय खारेज गरेर महाधिवेशनको विषयमा छलफल शुरु गर्नुपर्छ,’ सोमबार बैठकमा जानुअघि  पौडेलले भने। वरिष्ठ नेता पौडेलले पार्टीको विधान र निर्वाचन आचारसंहिता विपरीतका कदम रोकिनुपर्ने आफ्नो अडान कायम रहेको बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनभित्र गर्ने व्यवस्था गरेको भए पनि सभापति देउवाले त्यसलाई ध्यान नदिएको बताउँदै पौडेलले अब प्रतिवाद गर्नुको विकल्प नरहेको बताए।

‘१४औं महाधिवेशनको पूर्वतयारी गर्नुपर्ने बेलामा क्रियाशील सदस्यता वितरणमा गम्भीर धाँदली, विभाग गठन जस्ता विधानले निशेध गरेका काम सच्चिनु प¥यो, अनि मात्रै महाधिवेशनको कुरो गरौँला भन्ने हाम्रो अडान हो,’ पौडेलले भने। पार्टीभित्र देखिएको समस्या, गलत क्रियाकलाप आदि १६ बुँदेमा उठाइएका विषयलाई थाँती राखेर आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय गरिएको महाधिवेशन सार्न र आफ्नो कार्यकाल लम्ब्याउने ध्याउन्नमा देउवा लागेको पौडेलको टिप्पणी छ।

‘कोरोना प्रकोपभन्दा पहिल्यै १४औं महाधिवेशन गरेको भए पार्टीले अहिलेसम्ममा नयाँ बाटो लिई सक्ने थियो,’ पौडेलले भने, ‘अब पनि महाधिवेशनमा केन्द्रित हुनुको साटो पार्टीमा मनलाग्दी गर्दै हिँड्ने देउवाजीको नियतले हामी एक्सनमा उत्रिनुपर्ने अवस्था आयो।’ यही अवस्थामा महाधिवेशनमा जाँदा निर्वाचन निष्पक्ष हुन नसक्ने तर्क गर्दै पौडेलले आफू निकट व्यक्तिलाई जिम्मेवारी दिने र महाधिवेशनको माहोल आफूतिर तान्ने देउवाको रणनीतिलाई निस्तेज पारेर स्वतन्त्र रुपमा महाधिवेशनमा जाने बताए।

अब १४औं महाधिवेशनमा केन्द्रित हुनुपर्छः महत

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अहिले अन्य विषयमा बहस केन्द्रित नहुने बताए। महाधिवेशन कहिले गर्ने, कसरी गर्ने भन्ने विषयमा पार्टीका नेताहरू केन्द्रित हुनुपर्नेमा उनको जोड छ।  सभापति देउवा पक्षका नेता महतले पार्टीका गतिविधि विधानसम्मत् भएको तर्क गर्दै अब यस विषयमा पुनर्विचार नहुने र महाधिवेशनको मुद्दामा सहमति जोखिने बताए। ‘अब महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन, पार्टीमा गतिविधि विधान अनुसार छन्, असन्तुष्ट साथीहरूलाई सहमतिमा ल्याउने प्रयासमा सभापतिजी हुनुहुन्छ,’ महतले भने, ‘महाधिवेशनको विषयमा सहमतिका कार्यक्रम बनाएर अघि बढ्नु नै उचित हुन्छ।’ महतले यसो भनिरहँदा नेपाली कांग्रेसको आन्तरिक अन्यौलता कायमै छ। संगठन समायोजन अधुरै छ। वरिष्ठ नेता पौडेलका अनुसार समायोजन सकिएका कैलाली लगायतका जिल्लामा क्रियाशील सदस्यता पठाउन संस्थापन पक्षले ‘जानजान’ ढिलाई गरेको छ।

धनुषा, सर्लाही, रौतहट, सप्तरी, सिरहा, बारा लगायतका जिल्लामा समायोजन प्रक्रिया सकिएको छैन। साथै, केन्द्रीय निर्वाचन समितिको परिपत्रअनुसार समायोजनसम्बन्धी निर्देशिकाअनुसार सिन्धुपाल्चोक, काभ्रे र मुस्ताङमा समायोजन सकिएको पौडेलले बताए। तर, ती जिल्लामा क्रियाशील सदस्यता नदिएको उनले बताए। पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनहरूले पूर्णता नपाएको तथा जनसम्पर्क समितिको सदस्यता वितरण र समिति गठनमा एकलौटी गरिएको पौडेलको दावी छ। ‘हामी बटमलाइन यही हो, एकलौटी ढंगले भएका काम–कारबाही तत्काल सच्चिनुपर्छ, अनि मात्रै महाधिवेशनको विषयमा छलफल शुरु हुन्छ,’ पौडेलले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री