मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ००:५९ | UK Time: 19:14

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोपले जगायो वृद्धहरुमा आशाको संकेत

वीनेपाली
२०७७ कार्तिक ११ गते ११:२४

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले वृद्धावस्थाका मानिसहरुमा उल्लेख्य रोगप्रतिरोध गर्ने क्षमता बढाएको पाइएको छ ।

सो खोपको उत्पादनको जिम्मा पाएको ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काका अनुसार परीक्षणका क्रममा सो खोप दिइएका वृद्धावस्थाका मानिसहरुमा टी सेल र एन्टीबडीको विकास गरेको पाइएको छ । यसबाट खोपले उनीहरुलाई भाइरसबाट बचाउन सक्ने देखिएको बताइएको छ ।  कोभिड १९ बाट असाध्यै असर गर्ने समूहमा पाको उमेर समूह पनि पर्दै आएको छ । उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जाने र खोपले पनि यस उमेर समूहमा खासै सहयोग गर्न नसक्ने आशंका गरिँदै आएको बेलामा यो कुरा बाहिर आएको हो ।

वृद्धावस्थाका मानिसहरुमा गत जुलाईमा गरिएको रक्तजाँचबाट सो परिणाम आएको हो । ‘द लान्सेट’ जर्नलमा प्रकाशित विश्लेषणअनुसार खोप दिइएको ती वृद्धावस्थाका मानिसहरुमा ५६ दिनसम्म प्रतिरोधात्मक क्षमता देखिएको थियो । परीक्षणको नतिजाले वृद्धावस्थाका मानिसहरुका लागि खोप सुरक्षित र प्रभावकारी छ भन्ने पूर्ण ग्यारेन्टी नगरे पनि अनुसन्धानकर्ताहरुलाई भने उत्साहित बनाएको बताइएको छ ।

नट्टिङघम विश्वविद्यालका भाइरोलोजीका प्राध्यापक जोनाथन बलले यदि अनुसन्धानमा देखिएअनुसार ५५ वर्षमाथिका मानिसहरुमा पनि प्रतिरोधात्मक क्षमता विकास गरेको हो भने त्यो आशालाग्दो संकेत भएको बताए । तर खोपले वृद्धावस्थाका मानिसहरुलाई खतरनाक रोगहरुबाट सुरक्षा गर्छ कि गर्दैन भन्ने कुरा नै महत्वपूर्ण रहेको भन्दै उनले त्यसको पूर्ण जानकारी भने खोपको तेस्रो चरणको परीक्षणबाट मात्र पाइने बताए ।

बेलायती प्रधानमन्त्री कार्यालय नजिकको स्रोतको हवाला दिँदै फाइनान्सियल टाइम्सले एनएचएस कर्मचारीलाई छिटोमा जनवरीसम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइनेमा सरकार आशावादी रहेको समाचार प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक