लण्डन । बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने दुर्लभ अवसर एक पूर्व गोरखा सैनिकलाई प्राप्त भएको छ ।
बेलायती सेनाबाट अवकासप्राप्त रिटायर्ड मेजर मनिकुमार राई यस्तो अवसर पाउने भाग्यमानी गोरखा भएका छन् । उनलाई महारानीबाट ह्याम्पसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त गरिएको छ ।
बेलायतमा हरेक काउण्टी र बोरोहरुमा महारानीको प्रतिनिधिका रुपमा लर्ड लेफ्टिनेण्ट रहेका हुन्छन् । उनीहरुको नियुक्ति महारानीबाट हुने गर्छ । लर्ड लेफ्टिनेण्टहरुले आफ्नो कार्यमा सघाउनका लागि डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्त गर्ने गर्छन् । लर्ड लेफ्टिनेण्टको सिफारिसमा डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति पनि महारानीबाट हुने गर्छ ।
डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति उनीहरुको स्थानीय र राष्ट्रिय तहमा योगदानका आधारमा हुने बताइएको छ ।
बेलायतमा १५ओैं शताब्दीदेखि लर्ड लेफ्टिनेण्टको परम्परा चलिआएको छ ।
लर्ड लेफ्टिनेण्टको जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्डहरु प्रदान गर्ने, पदकहरुका लागि सिफारिस गर्ने, नागरिकहरुले आयोजना गरेको कार्यक्रमहरुमा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीहरुसित समन्वय गर्ने, स्थानीय स्तरमा राजपरिवारका सदस्यहरुले प्रतिनिधित्व गर्ने संस्थाहरुमा नेतृत्व, सल्लाह र नियुक्ति दिने लगायतका हुन्छन् ।
लर्ड लेफ्टिनेण्टलाई सघाउनका लागि भाइस लर्ड लेफ्टिनेण्ट र डेपुटी लर्ड लेफ्टिनेण्टहरू नियुक्त गरिएका हुन्छन् । ह्याम्पसायरमा प्रति २५ हजार जनसंख्या बराबर १ जना डेपुटी लर्ड लेफ्टिनेण्टको व्यवस्था गरिएको छ ।
उनीहरुको नियुक्ति गैरराजनीतिक हुने र कुनै राजनीतिक दलको जिम्मेवारी नलिएको हुनुपर्ने बताइएको छ । यसरी नियुक्त भएका लर्ड र डेपुटी लर्ड लेफ्टिनेण्टहरु ७५ वर्षको उमेरसम्म पदमा बहाल रहने छन् तर उनीहरुलाई त्यसअगावै महारानीले पदमुक्त भने गर्न सक्ने अधिकार रहन्छ । उनीहरुको जिम्मेवारी स्वयंसेवी हुने छ ।
लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारलाई निमन्त्रणा गरिएका कार्यक्रमहरुमा राजपरिवारको उपस्थिति हुन नसकेको अवस्थामा राजपरिवारको प्रतिनिधित्व गर्दछन् । उनीहरुलाई राजपरिवार बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गर्ने गरिन्छ । लर्ड लेफ्टिनेण्टको उपस्थिति नभएको अवस्थामा डेपुटी लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारको प्रतिनिधित्व गर्छन् र उनीहरुलाई पनि लर्ड लेफ्टिनेण्टलाई गरिने बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गरिन्छ । यस्तै राजपरिवारका सदस्यहरुलाई कुनै कार्यक्रममा बोलाउनु पर्यो भने भने लर्ड लेफ्टिनेण्टमार्फत निमन्त्रणा गर्न सकिन्छ ।
मेजर रिटायर्ड राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिवका रुपमा कार्यरत छन् । उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नाम गरेको नेपाली रेस्टुरेन्ट पनि संचालन गर्दै आएका छन् । उनले निजी पहलमा विभिन्न च्यारिटीका कामहरु पनि आयोजना गर्ने गरेका छन् ।
गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड जी हेजले राईको नियुक्तिले गोरखाहरुको बेलायतलाई दिएको योगदानको कदर गरिएको प्रतिक्रिया दिएका छन् । उनले राई सो जिम्मेवारीका लागि उपयुक्त व्यक्ति रहेको बताए ।
राईले पनि महारानीको प्रतिनिधि बन्नु गौरवको कुरा भन्दै आफ्नो पृष्ठभूमि गोरखा सैनिक र नेपाल भएकाले ती दुवैको पनि प्रतिनिधित्व गर्ने बताएका छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु