लण्डन । बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने दुर्लभ अवसर एक पूर्व गोरखा सैनिकलाई प्राप्त भएको छ ।
बेलायती सेनाबाट अवकासप्राप्त रिटायर्ड मेजर मनिकुमार राई यस्तो अवसर पाउने भाग्यमानी गोरखा भएका छन् । उनलाई महारानीबाट ह्याम्पसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त गरिएको छ ।
बेलायतमा हरेक काउण्टी र बोरोहरुमा महारानीको प्रतिनिधिका रुपमा लर्ड लेफ्टिनेण्ट रहेका हुन्छन् । उनीहरुको नियुक्ति महारानीबाट हुने गर्छ । लर्ड लेफ्टिनेण्टहरुले आफ्नो कार्यमा सघाउनका लागि डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्त गर्ने गर्छन् । लर्ड लेफ्टिनेण्टको सिफारिसमा डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति पनि महारानीबाट हुने गर्छ ।
डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति उनीहरुको स्थानीय र राष्ट्रिय तहमा योगदानका आधारमा हुने बताइएको छ ।
बेलायतमा १५ओैं शताब्दीदेखि लर्ड लेफ्टिनेण्टको परम्परा चलिआएको छ ।
लर्ड लेफ्टिनेण्टको जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्डहरु प्रदान गर्ने, पदकहरुका लागि सिफारिस गर्ने, नागरिकहरुले आयोजना गरेको कार्यक्रमहरुमा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीहरुसित समन्वय गर्ने, स्थानीय स्तरमा राजपरिवारका सदस्यहरुले प्रतिनिधित्व गर्ने संस्थाहरुमा नेतृत्व, सल्लाह र नियुक्ति दिने लगायतका हुन्छन् ।
लर्ड लेफ्टिनेण्टलाई सघाउनका लागि भाइस लर्ड लेफ्टिनेण्ट र डेपुटी लर्ड लेफ्टिनेण्टहरू नियुक्त गरिएका हुन्छन् । ह्याम्पसायरमा प्रति २५ हजार जनसंख्या बराबर १ जना डेपुटी लर्ड लेफ्टिनेण्टको व्यवस्था गरिएको छ ।
उनीहरुको नियुक्ति गैरराजनीतिक हुने र कुनै राजनीतिक दलको जिम्मेवारी नलिएको हुनुपर्ने बताइएको छ । यसरी नियुक्त भएका लर्ड र डेपुटी लर्ड लेफ्टिनेण्टहरु ७५ वर्षको उमेरसम्म पदमा बहाल रहने छन् तर उनीहरुलाई त्यसअगावै महारानीले पदमुक्त भने गर्न सक्ने अधिकार रहन्छ । उनीहरुको जिम्मेवारी स्वयंसेवी हुने छ ।
लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारलाई निमन्त्रणा गरिएका कार्यक्रमहरुमा राजपरिवारको उपस्थिति हुन नसकेको अवस्थामा राजपरिवारको प्रतिनिधित्व गर्दछन् । उनीहरुलाई राजपरिवार बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गर्ने गरिन्छ । लर्ड लेफ्टिनेण्टको उपस्थिति नभएको अवस्थामा डेपुटी लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारको प्रतिनिधित्व गर्छन् र उनीहरुलाई पनि लर्ड लेफ्टिनेण्टलाई गरिने बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गरिन्छ । यस्तै राजपरिवारका सदस्यहरुलाई कुनै कार्यक्रममा बोलाउनु पर्यो भने भने लर्ड लेफ्टिनेण्टमार्फत निमन्त्रणा गर्न सकिन्छ ।
मेजर रिटायर्ड राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिवका रुपमा कार्यरत छन् । उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नाम गरेको नेपाली रेस्टुरेन्ट पनि संचालन गर्दै आएका छन् । उनले निजी पहलमा विभिन्न च्यारिटीका कामहरु पनि आयोजना गर्ने गरेका छन् ।
गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड जी हेजले राईको नियुक्तिले गोरखाहरुको बेलायतलाई दिएको योगदानको कदर गरिएको प्रतिक्रिया दिएका छन् । उनले राई सो जिम्मेवारीका लागि उपयुक्त व्यक्ति रहेको बताए ।
राईले पनि महारानीको प्रतिनिधि बन्नु गौरवको कुरा भन्दै आफ्नो पृष्ठभूमि गोरखा सैनिक र नेपाल भएकाले ती दुवैको पनि प्रतिनिधित्व गर्ने बताएका छन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान