भूतपूर्व ब्रिटिस गोर्खाहरु एनआरएन हुन् की होइनन् ?

लेखक तिगेला

भूतपूर्व बृट्रिस गोर्खाहरु एनआरएन हुन की होइनन? भन्ने कुरामा प्रष्ट हुनको निम्ति सर्वप्रथम एनआरएन (गैर आवासीय नेपाली संघ) के हो, कस्तो संगठन हो, कोबाट मान्यता प्राप्त गरेको छ, कसले मान्यता दिएको छ र एनआरएनलाई कसरी परिभाषित गरिएको छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।
गैर आवासीय भन्नुको अर्थ हो आवास अर्थात बसाई नभएको । गैर आवासीय नेपाली भन्नाले आवास अर्थात बसाई नेपालमा नभएको भनिएको हो । गैर शब्दको अर्थ – छैन, हैन भन्ने हो । गैर आवासीय नेपाली संघ भन्नाले नेपालमा बसोबास नरहेको नेपालीहरुको संगठन हो भन्ने बुझिन्छ । गैर आवासीय नेपाली संघलाई ‘नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीको संघ’ भनेर सटिक रुपमा बुझ्नु पर्ने हुन्छ । नेपाली हुनुको नाताले नेपाल सरकारको नियम कानुन तथा निर्देशनलाई शिरोपर गर्नु नागरिक दायित्व हो । त्यसैले हेरौ नेपाल सरकारले नेपाल बाहिर रहेका नेपालीहरुको निमित्त बनाएको ऐनले कसरी परिभाषित गरेको छ ।
‘गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४’ मा गरिएको परिभाषाः ‘गैर आवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउदछ ।’ नेपाली मूलको विदेशी नागरिक भन्नाले कुनै ब्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बजै नेपालको नागरिक तर पछिबाट सार्क राष्ट्र बाहेक मुलुकको नागरिकता लिएको ब्यक्तिलाई बुझ्नु पर्दछ भनिएको छ । सार्क राष्ट्र भन्नाले भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र श्रीलंका पर्दछन । यी ७ राष्ट्रमा रहदै आएका नेपालीलाई एनआरएन भनिन्दैन र मानिन्दैन । यी सार्क राष्ट्रहरु बाहेक बाँकी रहेका १८८ मुलुकहरुमा रहदै आएका नेपालीहरुलाई नेपाल सरकारले गैर आवासीय नेपाली (एनआरएन) भनी मान्यता दिएको छ । एनआरएनलाई दिएको मान्यता भनेको नेपाल सरकारले देश बाहिर रहेका नेपालीहरुको निम्ति दिएको एक सुविधा हो ।
एनआरएन (प्रवासी) नेपालीलाई कुनैपनि बखत साह्रोगाह्रो परेको बखत नेपाल सरकारले उद्धार र मद्धत गर्न सक्छ भन्ने मान्यता हो । अन्य विकसित मुलुकहरुले पनि देश बाहिर रहेका आफ्नो नागरिकहरुको निमित्त यस्तै संजालहरु विकास गरेका छन् । आफनो भूमि भन्दा बाहिर अन्य मुलुकमा गएर कमाएका ज्ञानशिपलाई मातृभूमिमा सदुपयोग गर्न पनि विकसित मुलुकहरुले यस्ता गैर आवासीय संजालहरुलाई प्रयोग गर्दै आएका छन् । त्यसैले गैर आवासीय नेपाली संघ अर्थात संजाल वास्तवमा नेपाल सरकार आफैले पहल गरेर स्थापना गरेको भए झन सुनमा सुगन्ध हुनेथियो किन की यो संजाल विदेशमा रहेका नेपालीहरुलाई मात्र चाहिएको होइन, नेपाल सरकार स्वयंलाई पनि चाहिएको संजाल हो ।
सौभाग्यवस प्रवासमा रहेका नेपालीहरुको जागरुकताले सन् २००३ मा एनआरएन स्थापना भयो र नेपाल सरकारले पनि मान्यता दियो तब यो अर्धसरकारी संगठनको रुपमा विकास भएको छ । हुदाहुदै अन्तर्राष्ट्रिय सहयोग संगठनहरुले पनि यसलाई नेपाल सरकार अर्थात नेपाल सरकार नजिकको वैधानिक संस्थाको रुपमा लिन शुरु गरेको छ । त्यसैको परिणाम हो कोरोना (कोभिड १९) को कारण विदेशमा रोजगार गुमाई आपतविपतमा परेका नेपाली श्रमिकहरुको उद्धारको निमित्त यसै बर्ष २०२० को जूलाईमा अन्तर्राष्ट्रिय श्रम संगठनबाट नेरु ५१ मिलियन र दोस्रो पटक गरि जम्मा नेरु १० करोड भन्दा बढि रकम प्राप्त भएको हो ।
एनआरएन संघ स्वतन्त्र र सामान्य एक संजाल मात्र होइन, यो अर्ध नेपाल सरकार हो । यो अन्तर्राष्ट्रिय दातृनिकायले समेत नेपाल सरकारलाई सरह कारोबार गरेको संस्था हो । त्यति मात्र होइन राम्रा र सफल ब्यक्तिहरुको अत्यधिक सहभागिता रहन्दै आएको एउटा खुल्ला मंच हो । बौद्धिक जमातको समेत राम्रो उपस्थिती र संलग्नता भएको मंच हो ।
भूतपूर्व बृट्रिस गोर्खाहरु एनआरएन हुन की होइनन भन्ने कुराको उत्तर सम्भवतः माथि नै आई सक्यो यद्यपी थप प्रष्ट हुन सकिन्छ । बृट्रिस गोर्खा (ब्यक्ति) नेपाल भित्र छन की बाहिर छन? बाहिर छन भने २ बर्ष भन्दा बढि बसेका छन की छैनन? अवश्य बसेका छन । नेपाल सरकारले भूतपूर्व गोर्खा बाहेक अन्य मात्र एनआरएन हो भनेर परिभाषा कतै लेखेको छ? छैन । उसो भए वेला बखत किन गोर्खाहरु एनआरएन हो की होइनन् भन्ने चर्चा हुन्छ?
गोर्खाहरुको दाबी हामी सन् १९४७ को त्रिपक्षिय सन्धिको कारण भर्ति भएर आएका हौ । नेपाल सरकारले मित्रशक्ति बृट्रिस संगको कुटनैतिक सम्बन्धलाई मजबुत र निरन्तरता दिन भर्ति पठाएको र नेपाल सरकारले नै बैधानिक रुपमै पठाएकोले हामीले गरेको सेवा नेपाल सरकारको हुकुम बमोजिम हो र हामीले गरेको सेवा नेपाल सरकारकै हुकुम हो, नेपाल सरकार कै सेवा हो । त्यसैले गोर्खा एनआरएन भन्दा भिन्न हो भन्ने दावी स्वभाविक हुन सक्छ तर अन्तिम सत्य होइन । उसो त नेपालले पहिलो दौत्य सम्बन्ध बृट्रिस संग सन् १८१६ मा गरयो र दुई देशको चलन मुताविक नेपाल सरकारले जारी गरेको वैधानिक पासपोर्ट बोकेर केही नेपालीहरु युकेमा प्रवेश गरे भने ती ब्यक्ति पनि दुई देश बीचको सम्झौताकै कानुन अनुसार नै प्रवेश गरेको हो । उसले पनि जागिर गरेर रेमिटयान्स नेपाल पठाएको हुन्छ त्यो पनि नेपालको रेमिटयान्समा योगदान हो, देशकै अर्थतन्त्रमा योगदान हो । लाहुरे र गैर लाहुरेमा त्यति ठूलो भिन्नता के के रहयो त ? त्रिपक्षिय सम्झौतामा कतै पनि गोर्खाहरु युकेमा बस्नु भनिएको छैन । त्रिपक्षिय सम्झौताकै मर्मअनुसार त सेवा निवृत्त भएपछि सबै गोर्खा र परिवार नेपाल फर्कनु पर्ने हो । सन् २००४ सेप्टेम्बरमा प्रधानमन्त्री टोनी ब्लेयरको मन्त्री परिषदले पहिलो पटक गोर्खाहरु युकेमै आवासीय सुविधा पाउने निर्णय गरयो त्यसैको फलस्वरुप हाल युकेमा हजारौको संख्यामा गोर्खाहरु रहेका छन । त्यस्तै गैर लाहुरे अर्थात गैर गोर्खा जसले युकेको आवासीय सुविधा पायो उसले पनि युके सरकारले तोकेको सम्पूर्ण वैधानिक प्रकृया पुगेपछि आवासीय सुविधा प्राप्त गरेको हो । फरक के मा रहयो ? हो गोर्खाले बृट्रिस साम्राज्य विस्तारको निम्ति लड्यो र जो गैर गोर्खा जसले यस देशलाई ट्याक्स शुल्क बुझाएकै थियो र छ त्यो पनि देशको निम्ति योगदान नै होइन र? त्यसैले त्यत्रो ठूलो भिन्नता के केमा छ?
अहिले विश्वका ८३ मुलुकमा एनआरएन गठन भई संचालनमा रहेका छन तिनै मध्येको एक सानो शाखा मात्र हो एनआरएन युके । युकेमा एनआरएन शाखा भएपनि नभए पनि बाँकी ८२ मुलुकका एनआरएन संचालन हुन्छ । युकेमा गोर्खाको कारण एनआरएन संस्थागत भयो भन्ने आरोप पनि कतैकतै सुनिन्छ तर त्यो पूर्णत सहि होइन । युकेमा तुलनात्मक गोर्खा र तिनका परिवारको संख्या ठूलो छ तर वहाल सेवारत गोर्खा सेना भन्दा झण्डै बढि युकेमा नर्स र तिनका परिवार रहेको कुरा भुल्न हुदैन र विद्यार्थीको हैसियतबाट, दक्ष कामदारको हैसियतबाट र दुतावासको कुटनैतिक माध्ययमको हैसियतबाट लामो समय देखि ठूलै संख्यामा गैर गोर्खाहरु पनि युकेमा भित्रिएका छन । संमग्रमा गोर्खाहरुको सहभागिता विना पनि युकेको एनआरएन मजबुत हिसाबले चल्न सक्दछ भन्ने यर्थाथलाई विर्षनु हुन्न । त्यसैले गोर्खाको सहभागिता विना एनआरएन युके चल्न सक्दैन भन्ने कसैलाई भ्रम छ भने त्यो केवल भ्रम मात्र हो ।
सामान्यतयाः सम्पूर्ण गोर्खाहरु एनआरएन हुन तर सबै एनआरएन गोर्खा होइनन । जो मानिसहरु आ–आफ्नो प्रकृयाहरुबाट विदेश गएका छन विदेशिने निहू, बाहना आआफ्नै छन तर समग्रमा नेपाल बाहिर छन । गोर्खाहरु पनि नेपाल बाहिर छन । दुई बर्षभन्दा बढि नेपाल बाहिर बसेका छन । नेपाल सरकारको ऐनको परिभाषामा विद्यार्थी र कुटनैतिक सेवा बाहेक दुई बर्ष भन्दा बढि नेपाल बाहिर बसेका सबै नेपालीलाई नेपाल सरकारले एनआरएन भनेको छ । एनआरएन शब्द आफैमा अपमानित शब्द पनि होइन र नेपाल सरकारले गरेको एनआरएनको परिभाषामा गोर्खाहरु बाहेक अन्यहरु मात्र हुन कतै भनिएको पनि छैन अर्थात गोर्खाहरु एनआरएन होइन कहिकतै भनिएको छैन । विश्वका ८३ वटा मुलुकहरुमा दुईबर्ष भन्दा बढि बसोबास गरेका नेपाली जो नेपाली पासपोर्ट मै रहेका नेपाली/ब्यक्ति वा विदेशी पासपोर्ट बोकेका नेपाली सबैसबैलाई नेपाल सरकारको तर्फबाट एनआरएन भनिएको छ भने पटकपटक किन उठछ गोर्खाहरु एनआरएन हुन की होइनन भन्ने चर्चा ? सरकारले सम्झौता गरेर विदेशी सेनामा सेवा गर्न जाँउ भनी पठाए, गोर्खाहरुले माने र सेवा गर्दै आए, गोर्खाहरुलाई युकेमा बसोवास गर्न आवासिय सुविधा दिन नेपाल सरकार मंजुर छ भन्यो त्यो कुरा पनि गोर्खाहरुले माने तब युकेमा रहदै आए र नेपाल सरकारले नै एनआरएनको परिभाषामा गोर्खाहरुलाई पनि समेटे अर्थात गोर्खाहरु पनि एनआरएन नै हुन भनी ऐन २०६४ मा मानेको छ । र, नेपाल सरकारले भनेको कुरा मान्दै आएका गोर्खाहरुले त्यसलाई नमान्ने कुरा हुन सक्छ? त्यसैले नेपालबाट विदेशी भूमिमा सेवा गर्न जाने गोर्खाहरु नै पहिलो एनआरएन पनि हुन जुन आफैमा ऐतिहासिक छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री