२०३९ सालको विवादले तत्कालिन अखिल कार्यकर्तामा पारेको साँस्कृतिक प्रभाव

२०३९ सालको विवादको बारेमा लेख्न बस्दा विवादको राजनैतिक विषयहरु क्रमश आउँदै जाने छन् । अहिलेलाई विवाद हुँदा तात्कालिन मालेको नेतृत्व, उपत्यकामा मालेका मध्यमस्तरका नेताहरु, मालेका जनाधार, संगठन, र मालेका विद्यार्थीहरु बीच हुर्कदै गरेको राजनैतिक संस्कार र केही विद्यार्थीहरुको चर्चा अनिवार्य हुन्छ । यी चर्चा गर्नु सान्दर्भिक यस कारणले पनि हुन्छ कि यी सबै विवादका आधारभूमि थिए र सम्बाहक पनि ।
यस अघिका अंकहरुमा वर्णित छन् : २०३८ मा आउँदा माले देशको सशक्त पार्टीको रुपमा विकसित भइसकेको थियो (अरुले त २०४८ को चुनावमा मात्र देखे) । ६० भन्दा बढी जिल्लाहरुमा सशक्त पार्टी संगठन बनिसकेको थियो । त्यतिबेरसम्म किसान, महिला, मजदुर आदि सबै फाँटमा दह्रो संगठन र निर्णायक उपस्थिति भइसकेको थियो । हेटौंडा र बालाजु मजदुरहरुको मुख्य आधारभूमि थियो । विद्यार्थीहरुको त यसअघि नै चर्चा भइसकेको छ । उनीहरुको केन्द्रीय संगठनको सम्मेलन भइसकेको थियो । देशभरि छैठौंसँग मिलेर क्याम्पसहरुमा नेतृत्व लिइसकेको थियो । अचेलका चर्चित राजनीतिकर्मीहरुमध्ये हालका कृषि मन्त्री घनश्याम भुसाल त्यतिखेर अखिलको केन्द्रीय कमिटीमै हुनुहुन्थ्यो । प्रधानमन्त्रीका पररास्ट्र सल्लाहकार डा. राजन भट्टराई अखिलको नगर विद्यालय कमिटी, काठ्माडौंमा रहनुभएको त्यो बेलाका केन्द्रीय कमिटी सदस्य जानकारी गराउनु हुन्छ । प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमाल इञ्जिनियरिङ्ग क्याम्पसमा कार्यरत हुनुहुन्थ्यो । मन्त्री योगेश भट्टराई त्यतिबेरसम्म ताप्लेजुङ्गमै सक्रिय रहनु भएको थियो भनिन्छ ।
मालेले कर्मचारीहरु बीच राम्रो पकड बनाएको थियो । यसले आफ्नो संगठन र राजनैतिक प्रभाव बिस्तार गर्न आफ्ना सांस्कृतिक फाँटलाूई अझ मजबुत र बिस्तार गरेको थियो । राजनीतिसंग कम मतलव हुनेहरु पनि सांस्कृतिक फाँटमा संगठित हुँदै थिए र धेरैभन्दा धेरै निस्पक्ष विद्यार्थी महिलाहरु नजानिँदो पाराले मालेको प्रभावमा आइसकेका थिए । पहिले सांस्कृतिक टोलीकै चर्चा गरौं ।
जनसाँस्कृतिक महासङ्घका केन्द्रीय सदस्य माधव प्रधान यस्तो विकासक्रमको सगौरव फेहरिस्त प्रस्तुत गर्न मन पराउनु हुन्छ, “३५–३६ सालको विद्यार्थी अन्दोलन पछि स्ववियुको चुनाव गर्न सबै क्याम्पसमा तयारी शुरु हुन थालेपछि विद्यार्थी नेताहरुको परिचय र नयाँ विद्यार्थीहरुको स्वागत गर्ने कार्यक्रम हुन थाल्यो । विभिन्न क्याम्पसका साथीहरु जम्मा भएर प्रगतिशील गीत गाउन थालियो । मलाई टङ्क कार्कीजीले विद्यार्थी समूहको जनवादी साँस्कृतिक टोलीको नेतृत्व गर्न जिम्मा दिनुभयो । मसँग याम सुब्बा (गायक, ल क्याम्पस), पूर्ण कार्की (गिटारिष्ट तथा गायक त्रिचन्द्र क्याम्पस), सुनिल श्रेष्ठ (मादल बादक, ल क्याम्पस), निलिमा राई (गायिका, ल क्याम्पस), तेजप्रताप सुब्बा (गायक, ल क्याम्पस), जीवन जोशी (गायक, त्रिचन्द्र क्याम्पस) को समूह बन्यो । कलेज कलेजमा पुगेर गाउन थालियो ।” हेक्का रहोस्, यही टोली २०३६ चैत्र ९,१० र ११ गते काठमाडौ‌ंको चाबहिल मित्रपार्कमा हुने अनेरास्ववियु एकताको पाँचौं राष्ट्रिय सम्मेलनमा उद्घाटन सत्रको लागि अखिलका गीतसहित जनताको गीत गाउने टोली बन्यो । ‘हाम्रो प्रिय सङठन अनेरास्ववियु जिन्दावाद’ (रचना र सङ्गीत माधव प्रधान),

“जनताको गीत लेख्ने हामी गीतकार,
जनतालाई साथ दिने हामी सङ्गीतकार
जनतालाई श्रद्धा गर्ने हामी कलाकार,
जनताबाट सिक्दै बढ्छौं हामी बारम्बार”
आदि गीत वहाँहरुले त्यस सम्मेलनमा गाउनु भएको थियो । यही सम्मेलनमा हालका सांसद विजय सुव्वाले पनि गीत गाउनु भएको थियो । त्यसबेला उहाँ कुलेखानीमा ओभरसियर हुनुहुन्थ्यो ।
प्रधानका अनुसार, त्यसबेला प्रमोद हमाल, उदय श्रेष्ठ, प्रतिमा राजभन्डारी, सन्तोस श्रेष्ठ, अम्बिका श्रेष्ठहरु सङ्कल्प परिवारसँग नजिक थिए । सङ्कल्प परिवार भन्नाले रामेश, मञ्जुल, रघु पन्त, मोहन श्रेष्ठहरुको एक समूह हो । कलेजको कार्यक्रममा सँगै मिलेर कार्यक्रम गर्नु हुन्थ्यो । (स्मरण रहोस्, यसबाहेक चौथो महाधिवेसन निर्मल लामा नजिक रहेकाहरुको वेदना परिवार थियो र यसै बेलामा मणि थापा, जीवन शर्माको पनि कलेजहरुमा प्रस्तुति हुने गर्दथ्यो तर सास्कृतिक समूहको नाम थिएन)
“यो टोली ३६, ३७ र ३८ सालसम्म क्रियाशील हुँदा अखिलको ब्यवस्थापनमा मेरो लेखन तथा निर्देशनमा नाटक “जब बहिनी ब्यूँझिन्छिन्” सभा गृहमा प्रदर्सन गरी अखिलको लागि अर्थ सङ्कलन गरियो ।”, माधव प्रधान सम्झिनु हुन्छ ।
तत्कालिन अनेरास्ववियुको मध्यमाञ्चल क्षेत्रीय कमिटीले त्यस साँस्कृतिक टोलीलाई निरन्तरता दिन काठमाडौं उपत्यका साँस्कृतिक समन्वय कमिटी गठन गरेको थियो । यसका संयोजक प्रेम कुँवर र सचिवमा भगवान श्रेष्ठ थिए । यसमा माधव प्रधान, गोविन्द थापा, निलिमा राई, याम सुब्बा, सुनिल श्रेष्ठ, पूर्ण कार्की रहेको कमिटीले कार्यक्रम अगाडि बढाउन थाल्यो । म पनि त्यतिखेर क्षेत्रीय कमिटीमा रहेको कारणले उपत्यका साँस्कृतिक कमिटीले गरेका महत्वपूर्ण योगदानसँग परिचित छु ।
कलाकारहरु जीवन जोशी, कुमारध्वज कार्की, चक्र खड्का पनि हुनुहुन्थ्यो । पछि लोचन भट्टराई धरानबाट आएर कार्यक्रममा जोडिन थालेका थिए । यो बेलामा रामेश, मञ्जुल, जेबी टुहुरे, रामकृष्ण दुवाल अगुवा हुनुहुन्थ्यो । नृत्य कलाकारमा सुचिता श्रेष्ठ, नाटकमा अरुण श्रेष्ठ, अम्बिका श्रेष्ठ, सरोज बस्नेत, सागर दुलाल अखिल कमिटीको लागि सक्रिय हुनुहुन्थ्यो ।
त्यहीबेला बिक्रम सुब्बाले लेखेको गीत ‘धेरै नै टाढा छ हामी पुग्ने ठाउँ, लगातार अघि बढदै जाऊँ’ (माधव प्रधानको सङ्गीत र गायन गीत) सबैका मुखमा झुन्डिने गीत बन्यो ।
कलाकार समूहहरु संगठनको आर्थिक पक्षसँग पनि जोडिएका हुन्थे । उनीहरुको कार्यक्रमबाट संगठनलाई आवश्यक पर्ने अर्थ संकलन हुन्थ्यो ।
अखिलको आर्थिक सङ्कलनको लागि नाटक बुहारी, दिशाबोध, शहिद, आदिको प्रदर्शन कीर्तिपुर अडिटोरियममा अखिलको आयोजनामा भएको थियो । आशाको सम्मेलनमा प्रतिनिधि पठाउन आर्थिक सहयोगको लागि कार्यक्रम सभा गृहमा गरेको थियो ।
यो साँस्कृतिक टोलीले अखिल भारत नेपाली विद्यार्थी सङ्घको निम्तोमा बनारस हिन्दु विश्वविद्यालयमा पुगेर कार्यक्रम गर्याे । पछि अभानेस्ववियु गठन हुँदा पनि कलाकार टोली भारत पुगेका थिए । सबै कलेजको चुनाव प्रचारमा कलाकार टोली गाउन पुगेका हुन्थे । अखिलको चुनावमा प्रगतिशील गीत अनिवार्य जस्तै थियो ।
माधव प्रधान भन्नुहुन्छ, “२०३९ सालमा काम गरिरहेकै बेला पार्टी स्वतन्त्रता र राजनीति स्वतन्त्रताको अखिल भित्रको विवादले यो कमिटीलाई २०४० मा भङ्ग गरियो । हामीले त्यसपछि स्वतन्त्र तवरले काम गर्न थाल्यौ ।” पछिल्लो कालमा जनसाँस्कृतिक परिवार, जनसाँस्कृतिक मन्च, रामेशको नेतृत्वमा आस्था परिवार गठन भएको थियो । स्मरणयोग्य के हो भने उपत्यकाबाहेक पनि देशका सबैजसो ठाउँमा सांस्कृतिककर्मी थिए र पूर्वमा त विद्यार्थी नेता चन्द्र भण्डारी अखिलका राजनीति, गीत संगीत र संगठनको धरोहर भएर उभिएका थिऐ । उनको पछिल्लो कालमा बनेको, ‘कलिला तिम्रा नानीहरुले रोपेका चियाका बोटहरु’ ओम श्रेष्ठले गाउनु भएको थियो । जुन अहिले पनि मजदुरहरु गाइरहन्छन् ।
यसअघि चर्चा नगरिएको पार्टी संगठन, विशेषगरी उपत्यकाको पार्टी पंक्तिको चर्चा गर्नु सान्दर्भिक हुन्छ । किनभने माथ्लो वा तल्लो जुन स्तरको कमिटी भए पनि यसले रास्ट्रिय राजनीतिलाई डोहोर्याउँथ्यो ।
स्मरण रहोस, त्यो बेलामा अधिकतर केन्द्रीय नेताहरु जेलमै हुनुहुन्थ्यो । वर्तमान प्रधानमन्त्री ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी जस्ता नेताहरुले जेलभित्रबाट नै योगदान गर्नुहुन्थ्यो भन्ने धेरैको भनाइ छ । त्यो बेलाको महासचिव सिपी मैनाली हुनुहुन्थ्यो । त्यो बेलाको कुरा सम्झँदै दामोदर उपाध्याय भन्नुहुन्छ, “अमृत बोहोरा पहिले काठमाडांैमा हुनुहुन्थ्यो र खासमा वहाँले नै पार्टीको बागडोर सम्हाल्नुभएको थियो उपत्यकामा २०३६ सम्म ।” २०३६ मा भूतपूर्व प्रधानमन्त्री माधव नेपाल जेलमुक्त भएर आएपछि वहाँ काठमाडांै हेर्न थाल्नु भयो र अमृत बोहोरालाई लम्जुङ्ग सारियो ।
पछि भियतनाम युद्धको विरुद्धमा पर्चा छर्दा यूवराज कार्की पक्राउ परे र विष्णुवहादुर राउतले काम गर्न थाल्नु भयो । जनमत संग्रह घोषणा भएपछि कार्की छुटे । उहाँले काठमाडौं हेर्न थाल्नु भयो र राउतले ललितपुर हेर्न थाल्नु भयो । त्यतिखेर प्रदिप नेपाल इलाम हेर्नु हुन्थ्यो, पछिल्लो कालमा उहाँ नवलपरासीतिर सरुवा हुनुभयो । ईश्वर पोखरेल जनकपुरतिर हुनुहुन्थ्यो र पूर्वमा मदन भण्डारी, चित्र निरौला आदि हुनुहुन्थ्यो । जीवराज आश्रितहरु मध्यमाञ्चलमा केन्द्रित हुनुहुन्थ्यो । मुकुन्द न्यौपाने मजदुर सेक्टर हेर्नु हुन्थ्यो र हेटौंडा केन्द्रित हुनुहुन्थ्यो ।
तपाईहरुजस्ता मध्यम स्तरका कार्यकर्ता कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नमा दामोदर उपाध्याय भन्नुहुन्छ, “२०३६ को आन्दोलनपछि विद्यार्थी साथीहरु मुकेश चालिसे र भरत श्रेष्ठ भूमिगत जानु भयो । मुकेश बर्दियामा गएर नेत्रलाल अभागीको नेतृत्वमा काम गर्न थाल्नु भयो । पछि भरत ताप्लेजुङ्गमा समातिनु भयो र त्यसअघि केदार बराल सचिव रहेको आन्दोलन हेर्ने कमिटीमा भरत र वहाँ सदस्य हुनुहुन्थ्यो । त्यसै अर्थमा वहाँ अस्कलमा सक्रिय हुनुहुन्थ्यो ।” स्मरण रहोस् ०३६ को आन्दोलनमा अस्कल क्याम्पस लगभग आन्दोलनको केन्द्र जस्तै थियो । त्यसमा मालेको तर्फबाट दामोदर उपाध्यायको नेतृत्व थियो । २०३६ पछि भने केदार बरालकै नेतृत्वमा सुरेन्द्र पाण्डे, दामोदर उपाध्यायको काठमाडौं वाइएल कमिटी बनेको थियो ।
विशेष गरेर त्यो बेलाको भूमिगत नेताहरुको आश्रय स्थलहरु सीमित थिए । त्यो बेला सिपी मैनाली, युवराज कार्की, ईश्वर पोखरेल, प्रदिप नेपाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने आदिहरु दामोदर सापकोटा, दामोदर उपाध्याय, शिव बस्नेत, बि कौडिन्य आदिका डेरामा बस्ने गर्थे । प्रायस चिनेका विद्यार्थी वा आफ्नो जिल्लाका विद्यार्थीहरुकामो बस्ने चलन थियो र दामोदर उपाध्यायकोमा झलनाथ खनाल, सिपी मैनाली आदि बसेको त म आफैं साक्षी छु । पछिल्लो कालमा त हाम्रै डेरामा पनि माधव नेपाल, अमृत बोहोरा, माधव पौडेल आदि आउनु हुन्थ्यो । बद्री श्रेष्ठ, म, खम्ब खत्री, द्रोण कोइराला, टीका बराल, आदि त्यतिखेर पूर्व सांसद कृष्णलाल महर्जन (जो त्यतिखेर मार्क्सवादी पार्टीमा हुनुहुन्थ्यो) को घर भाडा लिएर बस्थ्यौं ।
तर त्यहाँ केही यस्ता घरहरु थिए जो सारै सुरक्षित मानिन्थे । सातदोबाटोमा भएको चालिसे परिवारको घर त्यस्तै एउटा घर थियो । बुबा सुशिक्षित र उच्च ओहोदामा जागिरे हुनुहुन्थ्यो, मुकेश चालिसे आफैं त्यही घरबाट भूमिगत हिँडिसक्नु भएको थियो । मधु चालिसे र महेश चालिसे राम्रो कार्यकर्ता हुनुहुन्थ्यो । त्यो पार्टीको लागि राम्रो आश्रयस्थल बन्यो पछिसम्म पनि । अहिले पनि महेश चालिसे सम्झिनु हुन्छ, “आश्रय दिने, एक ठाउँबाट अर्को ठाउँ पुर्याउने र सुरक्षा प्रदान गर्ने त हाम्रो काम थियो ।” सिंगो परिवार सचेत र सक्रिय भएको परिवार पाउन पनि मुस्किल थियो त्यो बेलामा । त्यस अर्थले चालिसे परिवारले योगदान मात्र गरेन त्यो बेलाको पार्टीको सुरक्षामा आफंै लाग्यो । बिर्सनै नहुने कुरा के छ भने चालिसे परिवारको बा अ ४० को होण्डाले एमालेका सबै नेताहरुलाई बोक्यो । कतिले त पहिलोपटक मोटरसाइकल चढ्न पाएका थिए ।

यस्तै केही घर काठमाडौंमा थिए र केही केही अलिक आपत पर्दा मात्र प्रयोग हुने खालका थिए ।

 

राम मायाँ श्रेष्ठ

चालिसे हरुको जस्तै भरपर्दो सेल्टर अरु पनि एक दुइ वटा थिएर जर्मनी मा बसो बास गर्नु हुने त्यो बेलाका सक्रिय कार्यकर्ता लिलाराज कार्की पनि यस्ता सेल्टरको बारेमा बताउनु हुन्छ। सेल्टर दिने वहाँ अरु कोहि नभएर पहिले काठमाण्डौ र पछि लगनखेल बस्नुहुने वहाँकी सासु आमा राम मायाँ श्रेष्ठ हुनुहुन्छ। कार्की लेख्नु हुन्छ, “ कुरो केहि बर्ष पहिलेकै हो, दुखको कुरा आज उनि हामि बिचमा छैनन् । उनि अरुकै प्यारी भैसकिन् । उनलाई राम्रो संग नेपाली भाषा बोल्न समेत आउंथेन तर पनि पार्टीका सबभन्दा जिम्मेवार तथा ठुला नेताहरुलाई सेल्टर दिन र आँफु भोको बसेर पनि उनीहरुलाई खानपीन गराउन कहिले पछी परिनन् । यिनीलाई नचिन्ने बरिष्ठ नेताहरु कोहि पनि छैनन् । आँफु बाचुन्जेल रोग ब्याधि र दुखै दुखमा जिन्दगि बिताईन । यिनको घरमा आश्रय लिन आउँदा हलुङ्गेको थालमा भात खाने नेताहरु सुनको थालमा भात खाने भै सकेका थिए तर यिनी अक्सिजनको पाईप मुखमा लगाएर मृत्यु सैयामा सुत्दा यिनी संग कोहि पनि थिएनन्। सिर्फ एकजना दिदी सुलोचना मानन्धर धिताल बाहेक । उहाँ पार्टीको हिसाबले नभएर मुटुको हिसाबले आउनु भएको थियो । यस्तै कथा छ एक समर्पित पार्टीकी आमाको !!”

त्यतिबेला सम्ममा अधिकतर केन्द्रीय नेताहरुको बिहे भइसकेको थियो (त्यो बेलामा नेताहरु ३५ देखि ४० को हाराहारीमा थिए) । सबैलाई अहिले थाहा भइसकेको कुरा हो, त्यो बेलाका धेरैले काठमाडौंलाई ससुराली बनाउनु भएको थियो र यसले पार्टीको आधार त बढायो नै, यसले नेताहरुलाई सुरक्षाको प्रत्याभूति पनि प्रदान गर्यो ।
त्यतिबेला काठमाडौंमा व्यापक रुपमा स्थानीयहरु सहभागी बनिसकेका थिए । विद्यार्थी संगठनमा र म पाटन आउँदा ललितपुरको दक्षिणी भागका विद्यार्थीहरु मात्र पाँचौंमा समाहित थिए । तीन वर्षको अन्तरालमा पाटनका स्थानीय नेवार समुदायको ठूलो हिस्सा पाँचौंमा आएको थियो । त्यस्तै काठमाडौंमा पनि स्थानिय र बाहिरका विद्यार्थीहरु पाँचौंमा समाहित भएका थिए ।
यसका केही कारण थिए । पहिलो त अखिलले खेलकुद र अन्य गतिविधिमार्फत राजनीतिमा रुचि नभएकाहरुलाई आकर्षित गरेको थियो । दोस्रो, अखिलहरु बीच आपसी सहयोगको एउटा संस्कृति नै बनिसकेको थियो । क्याम्पसमा स्वागत कार्यक्रम सकेपछि नै उनीहरु सहयोग गर्न उद्यत हुन्थे र बिशेषगरी काठमाडौं बाहिरबाट आउने विद्यार्थीहरुलाई यसले आकर्षित गर्दथ्यो । डेरा नभएकालाई सीधै आफ्नो कोठामा लाने र सँगै राख्ने वा डेरा पाइसके पछि सर्न मद्दत गर्ने आदि त्यो बेलाका सहयोग हुन्थे र यसले एक खालको संस्कृति निर्माण गरेको थियो । बिस्तारै धेरैले लुगा साटेर लाउँथे । नहुनेलाई लुगा दिन्थे र यी सबै साना कामहरुले विद्यार्थीहरु बीच बेजोड आत्मियता गाँसेको थियो । संगै बस्ने, जागिर हुनेले नहुनेहरुलाई सघाउने, ट्यूसन पढाउने र संगै बसेका अरु साथीहरुलाई संगठनको काम गर्न मद्दत गर्ने आदि कामले एक किसिमको सामूहिकताको भावना ल्याएको थियो ।
तेश्रो महत्वपूर्ण पक्ष भनेको पाँचौंका विद्यार्थीहरुले किसानहरुसँग राम्रो सम्बन्ध विकसित गरेका थिए । यसले उनीहरुलाई काम गर्न र बाँच्न थप मद्दत गरेको थियो । अहिले पनि म सम्झन्छु, हामी शंखमूल छेउको माथि उल्लेख गरेको डेरामा बस्दा च्यासलका किसानहरुले उत्पादन गरेका आलु र सागहरु हाम्रो कोठामा ल्याइदिनु हुन्थ्यो । यो क्रम २०३९ को विवाद पछि टुटेको थियो ।
चौथो र सारै महत्वपूर्ण कुरो त्यतिबेलासम्म पढैयाहरु राजनीति गर्दैनन् भन्ने जुन हल्ला थियो अखिलमा रहेको नेतृत्वले त्यस्तो नभएको तथ्य उजागर गर्यो । विशेषगरी विद्यार्थीसँग सोझै सम्पर्क हुने जिल्ला र क्याम्पस स्तरका विद्यार्थीहरु सारै मेधावी थिए । धेरै यस्ता कार्यकर्ता थिए । राजनैतिक विवादमा एउटा पक्षमा रहे पनि विवादका दुवै पक्षका नेता र कार्यकर्ताले तर चालिस वर्षसम्म पनि प्रेमपूर्वक सम्झिने यस्तो नाम हो लोक सुब्बा । नेकपाका नेता प्रदिप नेपालले ‘लोक सुब्बा कहाँ छन्’ लेख्नु भएको थियो । यस्तै अनेकौं वहाँका पूर्व परिचितहरुले उहाँको बारेमा अध्यावधिक चर्चा गरिरहनु हुन्छ । बुढानिलकण्ठ स्कुलको पहिलो ब्याचका लोक २०३७ मा एसएलसीको बोर्ड आउनु भएको थियो । त्यसपछि अस्कलमा पढ्नु हुन्थ्यो । अच्युत गौतमको अध्यक्षतामा बनेको काठमाडांै जिल्ला कमिटीमा वहाँ सचिव हुनुहुन्थ्यो । २०३९ सालको विवाद पछि नेकपासँग आधिकारिक सम्बन्ध नराख्नु भएका सुब्बा त्यो बेला विद्यार्थीहरुको माझमा मेधावी भनेर मात्र चिनिनु हुन्न थियो अपितु वहाँ संगठनको लागि अत्यधिक रुपमा लागिरहने, वैचारिक छलफलमा गहिरो रुचि राख्ने र सहयोगी साथीहरुलाई कन्भिन्स गर्न सक्ने कार्यकर्ताको रुपमा चिनिनु हुन्थ्यो । २०३९ को विवादको बेलामा यसको प्रभाव थियो । धेरैजसो समकालिन सहयोगी कार्यकर्ताहरु आफ्नो पक्षमा ल्याउनु भयो । त्यो बेला अच्युत गौतम र लोक सुब्बाको जोडीले अखिल काठमाडौं वशिभूत पार्नु भएको थियो । लोक सुब्बाको बारेमा सम्झिँदै डा. अच्युत गौतम भन्नुहुन्छ, “अरु साथीहरु जस्तै सबैसँग एउटै किसिमले कुरा बुझाउनु हुन्न थियो लोकजी । मान्छे अनुसार आफ्ना कुरा राख्ने र कुरा बुझाएर चित्त बुझाउनु हुन्थ्यो ।”
म आफैंले लोक सुब्बालाई २०३९ को विवाद चरम अवस्थामा भए पछि भेटेँ र मेरो आफ्नो सम्बन्ध राजनैतिकभन्दा पनि मित्रताको रह्यो । त्यसैले धेरै कुरा म आफैं भन्न सक्दिनँ । तर वहांको अध्ययनशीलता मैले सधैँ सम्झिरहने कुरा हो । हरेक दिन बेलुका कोठामा आएर २२ पन्ने टाइम्स अब इन्डिया पढि सकेर मात्र सुत्ने बानी थियो त्यो सानो उमेरमा पनि । २०३९ सालको वैचारिक विवादको बेलामा माधव नेपालसंग अर्को कोठामा लामो छलफल पछि उठ्ने बेलामा माधव नेपालले वहाँलाई भन्नुभएको अहिले पनि गुन्जिरहन्छ । “तपाईसँग विवाद गर्न चैं मज्जा आउँछ !” वहाँको गहिरो अध्ययनको मान्यता थियो यो नेताको तर्फबाट ।
दामोदर उपाध्याय पनि वहाँलाई अखिलको छैठौं सम्मेलनमा मात्र भेट भएको सम्झिनु हुन्छ । तर वहाँलाई थाहा भएसम्म वहाँ त्यतिखेर नै युथ लिगमा संगठित भइसकेको कुरा भन्न बिर्सनु हुन्न । “युवराज कार्कीले नै लोकलाई वाईएलमा राख्नु भएको थियो”, उपाध्याय भन्नुहुन्छ । लोक सुब्बा पनि सम्झनु हुन्छ,“त्यो बेला ठूलो दामो (दामोदर उपाध्याय), सानु दामो (दामोदर सापकोटा), पाण्डे सबै हुनुहुन्थ्यो र म सरस्वती क्याम्पस, अस्कल र कीर्तिपुरमा वाईएलको काम गर्थें विद्यार्थीहरु बीच ।” अरु धेरै कार्यकर्ता जस्तै २०३९ सालको विवाद पछि वहाँ पार्टी र संगठनबाट अलग रहनुभयो । हाल नर्वेको बर्गेन शहरको युनिभर्सिटी कलेजमा प्राध्यापन गरिरहनु भएका प्राज्ञ सुब्बा राजनीतिमा राम्रा पात्रहरुलाई सघाउनु पर्छ भन्ने गर्नु हुन्छ । राजनीतिक विषयहरुको छलफलमा अहिले पनि गहिरो रुचि राख्नुहुन्छ ।
राजनैतिक र वैचारिक विवादको चर्चाभन्दा पहिले यसले ल्याएको प्रभाव र संगठन र संस्कृतिमा ल्याएको परिवर्तनको बारेमा छलफल गर्नु सान्दर्भिक हुन्छ ।
यो स्तम्भ लेखनको क्रममा मैले विवादका दुवै कुनामा रहेकाहरुसंग सम्पर्क गरेको छु । अरु थुप्रै कुरामा विविधता भए पनि एउटा विषयमा धेरैको एकमत जस्तो देखिन्छ । त्यो हो “यदि त्यो बेलामा पार्टी स्वतन्त्रताको पक्षमा बोल्ने एकजना विद्यार्थी नेता काठ्माडौंमा नहुँदा हुन् त संस्थापन पक्षबाट काठमाडौं हेर्ने नेता अन्तै हुँदा हुन् त, र झलनाथ खनाल त्यतिखेर काठ्माडौं नहुँदा हुन् त्, विवाद यस्तो हुँदै हुदैन थियो । धेरै स्वस्थ हुन्थ्यो ।” एकजना दोश्रो घेराको नेताले बाहेक कसैले पार्टी फुटाउनु पर्छ भनेको पनि सुनिएन, त्यो पनि आन्तरिक छलफलमा मात्र । तथापि विवाद यस्तो हदसम्म भयो कि, एकता मात्रै बढ्दै गरेको पार्टी फुट्नेसम्म हल्ला भयो बाहिर । त्यो बेला मालेको संगठन र क्षमता पार्टीको नीतिलाई मन नपराउनेहरुको लागि पनि पंचायत विरोधी आन्दोलनको लागि एउटा आशलाग्दो पुञ्ज भएको थियो । विवादको कारणले एउटा अनुशासित पार्टी फुट्न सक्ने हल्ला बाहिर आउँदा त्यसका निराशाजनक र आक्रोशपूर्ण प्रतिक्रिया पार्टी बाहिरकाहरुबाट पनि आउँथे । यस्तै एउटा प्रतिक्रिया थियो मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार’ भन्ने नियमित स्तम्भमा । अझै पनि ती शब्दहरु मेरो कानमा बजिरहन्छन्, “फुट फुट फुट्नु पर्छ, बालुवाका कण कण भएर फुट्नु पर्छ ।”
कण कण भएर फुट्न त फुटेन तर त्यसको असर फुटको भन्दा ठूलो रह्यो । संगठनमा यसको असर, पार्टी स्वतन्त्रता र राजनैतिक स्वतन्त्रताको नाममा आएको विषयको पार्टी भित्रका मुख्य मुख्य राजनैतिक विवाद आदि यसको अन्तर्यसँग अर्को अंकमा साक्षात्कार हुने नै छ । यो अंकको बिट मार्दा यसले ल्याएको संगठनात्मक संस्कृतिमाथि यस विवादको प्रभावको चर्चा हुँदैछ ।
पहिलो त विचार जबर्जस्त तल लगियो । पार्टीले नियन्त्रण गर्दागर्दै र कारण सोझो थियो, यो अखिलको केन्द्रीय कमिटीको धारणा पनि थियो । त्यसैले अखिलको केन्द्रीय कमिटीले विचार नफेरी यसलाई रोकिनु अखिलको केन्द्रको हिसाबले जायज थिएन । पार्टीको नेतृत्वको आँखाले हेर्दा पार्टीले निर्णय गरेपछि लागू गरिहाल्नु पर्ने भन्ने थियो । त्यसले तल कमिटीमा विद्यार्थीहरुको भेलामा विवादको सृजना हुन थाल्यो । पार्टी स्वतन्त्रता पक्षधरले लेनिनको ‘गाउँका गरिबहरुलाई’ भन्ने पुस्तकको सहारा लिन्थे र संस्थापन पक्षले लेनिनकै ‘राजनैतिक स्वतन्त्रता बारे’ भन्ने पुस्तकको । अब एक ढिक्का भएको फलामे संगठन, समूहमा परिणत भइसकेको थियो । यसले स्वाभाविक रुपले तिक्तता ल्याएको थियो, प्रतिष्पर्धा ल्याएको थियो । त्यो अभिव्यक्त हुन थाले, मानिसहरुका सम्बन्धमा ।
त्यसपछि हियाउने काम हुन थाल्यो । अर्को पट्टिको भने पछि बहिस्कार गर्न थालियो । कतै कुरा कुरा खोलेर पुलिसकोमा पुग्छ कि भनेर डराउन थालियो । हिजो सेल्टर लिने ठाउँमा नेताहरु जान छोडेर कोही कतै लाग्ने, कोही कतै लाग्ने, आफ्ना ठानिएकाहरुतिर । त्यति कुटाकुटको अवस्था भएन तर अर्काको प्रभाव र सक्रियता घटाउने प्रयत्न दुवैतिरबाट गरियो । त्यसबेलाको सहयोगी जुन भावना थियो त्यसलाई नष्ट गर्दै लगियो र हुँदाहुँदा कोचिङ्ग खोलेर संगठनको काम गर्ने र अरु सक्रिय साथीहरुलाई पनि बाँच्ने आधार बनाउने जुन प्रयत्न भइरहेको थियो त्यस्ता कामहरुलाई पनि विफल पार्ने प्रयत्न भयो । त्यसबेला अच्युत गौतम, म र लोक सुब्बा एउटा कोचिङ्गमा पढाउथ्यौं र हामीसंगै भएका अरु साथीहरुसहित हामीलाई पनि संगठनको काम गर्न सहयोग पुर्याउँथ्यो आर्थिक आर्जन गरेर । जब विवाद निकै उचाईमा पुग्यो र हामीलाई सक्रिय हुन र आर्थिक रुपले धेरै जनालाई भरथेग त्यसले गरिरहेको छ भन्ने प्रस्ट भयो, पार्टीका ललितपुर हेर्ने एकजना नेता सक्रिय भएर सबैतिर परिचालित गरेर विद्यार्थी आउन रोक लगाउनु भएछ । एकाबिहानै हामी तीन जना जाँदा त्यो च्यासलको कोचिङ्ग सेन्टरमा एकजना पनि विद्यार्थी थिएनन् । त्यसदिन हामीसंगै बस्ने अच्युत गौतमले ज्याकेट काँध माथि हालेर, “साथिहरु म लागें, अब एक्लाएक्लै लागेर बाँच्नु पर्ने भयो” भन्दै डेरा छोडेर हिँड्नु भएको थियो । सम्झिँदा अचम्म लाग्ने विषय के हो भने हामी कोही पनि यसको कारणले उत्तेजित भएका थिएनौं । अच्युत गौतमलाई “ल त तपाई कुम्भकर्ण लजमा जानु” भन्दै हाँसेर बिदा गरेका थियौँ । सेन्ट जेभियर्स छेउको केशव गौतमसहित धेरै जाना साथीहरु (अच्युत गौतम जस्तै सेन्ट जेभियर्सका पूर्व विद्यार्थीहरु) बस्ने डेरालाई हामी “कुम्भकर्ण लज” भनेर चिन्दथ्यौं ।
पार्टी स्वतन्त्रता पक्षधर (जसलाई संस्थापन पक्षले ‘गडबडिया’ भन्थ्यो)ले पनि धेरै मानिसहरुलाई एक्ल्याउने र होच्याउने काम गरिरहन्थ्यो । तर पनि रमाइलो पक्ष के हो भने छलफल ‘सैद्धान्तिक विवाद’ कै रुपमा आउँथ्यो । जसले जसलाई भेटे पनि होच्याउने, शंका गर्ने र भरिसके आन्दोलनको पक्षमा नभएको भनेर प्रमाणित गर्ने प्रयत्न गर्थे । छोटो समयमै सहयोग, सम्मान र आत्मियताको संस्कृति धुलिसात भएको थियो र गुट प्रतिको वफादारिता विकसित भएको थियो । माथि भनिए झैँ बाहिरी संगठनहरु जो पार्टी स्वतन्त्रताको वकालत गर्थे एक पछि अर्को गर्दै विघटित गरियो । टंक कार्कीको नेतृत्वमा भएको केन्द्रीय कमिटी, रोमणी भट्टराईको नेतृत्वमा भएको क्षेत्रीय कमिटी (जहाँ म सचिव थिएँ), अच्युत गौतमको नेतृत्व (लोक सुब्बा सचिव) भएको काठमाडौं जिल्ला कमिटी विघटन गरियो । ललितपुर जिल्ला कमिटी पनि बचेन । हाम्रो नेतृत्वमा भएको क्षेत्रीय कमिटीले केन्द्रीय कमिटी बिघटन गरेको विरोधमा कार्यकर्तासम्म सर्कुलर नै जारी गरेको थियो । माथि भनिए जस्तै सांस्कृतिक टोली हुन् वा विद्यार्थी संगठन हुन् त्यसको ठाउँमा पार्टीको विचार बोक्ने विद्यार्थीहरुबाट खाली ठाउँ भर्ने काम भयो । बाहिर परेको एउटा ठूलो हिस्सा निस्क्रिय रह्यो वा अन्य विषयहरुमा केन्द्रित रहन पुग्यो ।
तर त्यस बेलाको विवादको एउटा ठूलो सकारात्मक असर छ, यसको चर्चा गर्नु सान्दर्भिक छ । जुगाँको रेखी भर्खर बस्दै गरेका विद्यार्थीहरु लेनिनका पुस्तक लिएर उन्नत किसिमको छलफल गर्थे र दुवै पक्षले यो दीर्घकालिन परिवर्तनको लागि आफ्नो विचार बढी सान्दर्भिक छ भन्ने कुराहरुमा जोड दिन्थे । भरिसक्य अराजनीतिक व्यवहार नहोस् भनेर दुवै पक्ष सचेत रहन्थे तर भलाद्मी पाराले घोचपेच गर्न भने छोड्दैन थिए । यो खुल्ला विवादले त्यो पुस्ताको विद्यार्थीहरु बीच जसमध्ये धेरैजसो आजको नेकपाको नेतृत्वमा छन्, एउटा कुरा जबर्जस्त स्थापित गर्यो । त्यो हो पार्टी स्वतन्त्रता होस् या राजनैतिक स्वतन्त्रता होस्, आन्दोलनको लक्ष्य भनेको खुलापन, बहुलता, प्रतिष्पर्धा नै हो । दोश्रो, कुनै हालतमा त्याग र बलिदानबाट बनेको संगठन टुक्रिनु हँुदैन भन्ने मान्यता बन्यो र संस्थापनतिर यस्तो विचार आउनु स्वाभाविक हो तर संगठनबाट फालिएका ‘पार्टी स्वतन्त्रता’ पक्षधरहरुमा पनि यो धारणा उत्तिकै प्रवल थियो ।
भ्रम नरहोस्, त्यो बेलाको विवादमा कार्यकर्ताहरु ‘पार्टी स्वतन्त्रता’ र ‘राजनैतिक स्वतन्त्रता’ नाममा विभाजित भए पनि पार्टी भित्रका विवादको मूल विषय यी मात्र थिएनन् । त्यसैले यस अंकमा ’सैद्धान्तिक विवाद’ को पक्ष लेखिएन । प्राध्यापक डा. राजकुमार पोखरेलले लेख्नु हुन्छ, “मूलतः पद्दति र अनुशासनसहित पाँच वटा विषयमा त्यो बेला छलफल र विवाद भएको थियो ।” दुरगामी प्रभाव पार्ने यी विषयहरुको विश्लेषण र विवेचना पछिको अंकमा गरिने छ ।
क्रमशः

(डा कृष्ण उपाध्यायको यो स्तम्भ एक साता बिराएर आइतबार प्रकाशित हुने गरेको छ ।)

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री