मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १२:३० | UK Time: 06:45

तक्माको चक्कर

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ असोज ७ गते १७:०८
हिजो एक प्रसंगमा निर्मल स्वामीसँग ‘तपाईं त बाली लगाउने तर भित्र्याउन खासै वास्ता गर्नु हुन्न क्यारे’ भनेँ । यसबारे हामी बेलाबखत छलफल गर्ने गर्छौं । हँसीमजाक पनि हुन्छ । वहाँले नै हो दुई वर्ष अगाडि नेपालमा लामो समय बसेर फर्कने दिन ‘एउटा फाइल गृह मन्त्रालयमा दिन पर्ने थियो’ भनेकोले लिएर त जानु भो बाटोमै ‘के हो र’ भनेर काम सोध्नुभो । ‘धत् यस्तो कामको पछि पनि लाग्ने हो र ?’ भन्दै सिंहदरबार अगाडि पुगिसकेको मोटरसाइकल घुमाएर बालकुमारी पुर्याइदिनु भयो । म सामान मिलाएर बेलुकीको फ्लाइटबाट बेलायत आएँ ।
गीताको सार उद्धृत गर्दै ‘धेरैले कर्म गर फलको आश नगर’ भनेर अरूलाई चित्त बुझाउन सुझाव दिने गरेको सुनिन्छ । व्यावहारिक रूपमा मैले यसको पालना गरे जस्तो लागे पनि खै किन हो यो सैद्धान्तिक रूपमा गलत छ भन्ने पक्षमा छु । यसबारे एकपटक मैले फेसबुकमा स्टाटस पनि लेखेको थिएँ । ‘कर्म गर्नु फलको आश नगर्नु’ भनेको त ‘परीक्षा देऊ रिजल्टको मतलब नगर्नु’ भने जस्तो हुन्छ भन्ने मेरो जिकिर हो । यसलाई विभिन्न प्रकारले तर्क त गर्न सकिएला तर परीक्षाफल बिनाको परीक्षा दिन आवश्यक छैन भन्नेमा म दृढ छु ।
बजार अहिले नेपाल सरकारले भर्खरै वितरण गरेको तक्माको खबरले तातेको छ । सम्मान पाउनेहरुलाई बधाई दिन आफूसहितको फोटोले सामाजिक सञ्जाल रंगिएको हेर्न पनि रमाइलै भइरहेको छ । मैले पनि नाम पढ्दै जाँदा एउटा देखिनँ अर्को चिनिनँ । सबै अपरिचित झैँ लाग्ने, व्यक्ति नचिनेपनि उनीहरुको योगदान थाहा पाउनुपर्ने त्यो पनि देखिएन र अन्यौलमा घुमिरहेँ । भनौँ तक्माले चक्मा पारिदियो । एकजना त सरकारी प्रतिनिधि भएकोले हाम्रो गैर आवासीय नेपालीको परिभाषाभित्र नपरेकोले ‘खै विदेशमा बसेर नेपालको सेवा वा माया गर्ने कोही नभएर त होला यत्रो लामो सूचीमा कसैको नाम देखिएन’ भनेर पोस्ट गरेँ । तर केही समयपछि दुई नाम भएको जानकारी भएपछि त्यो पोस्ट हटाई दिएँ । त्यो सूचीमा पदकप्राप्त व्यक्तिहरुको नेपालको ठेगाना उल्लेख भएपनि हाल बेलायत पनि जोडिदिएको भएको भए राम्रै हुन्थ्यो । त्यसको जिम्मा नियमनकारी वा पदक व्यवस्थापन समूहको विवेकको कुरा भयो । यसैगरी अन्य देशमा बसोबास गर्नेहरु पनि त्यो सूचीमा हुनुपर्छ भन्ने मेरो अड्कल हो । तर शुभकामनाका फोटोहरु देख्न पाएको छुइनँ ।
मैले आज उपाधि कसले पायो या पाएन भन्दा पनि कसरी पाउन सकिने रहेछ भन्ने बारे म आफैंले अनुभव गरेको केही कुराहरू प्रस्तुत गर्ने जमर्को गरेको छु तक्मा पाउने चक्करमार्फत ।
सन् २०१३ जुन २४ का दिन अन्तर्राष्ट्रिय न्यायालयको परिसरभित्र सबै १५ जना न्याय मूर्तिहरुको उपस्थितिमा बुद्धको मूर्ति प्रतिस्थापन भयो । मैले भाग लिएको शायद अहिलेसम्मको यो नै एक उच्च कार्यक्रम हो । यसको पुष्टि सोही अवसरमा श्रीलंकाबाट प्रतिनिधित्व गर्नु हुने न्यायाधीशले बुद्ध, बुद्ध धर्म र नेपालको व्याख्या गर्दै ‘न्यायालयको यति लामो इतिहासमा कसैले पनि यसबारे कल्पना नगरेको यो उपहार बुद्ध जन्मेको देश नेपालकै सरकारबाट प्राप्त हुनु आफैंमा महत्वको विषय हो । यसमा संलग्न सबैलाई धन्यवाद’ भनेर दिएको मन्तव्यबाट पनि प्रष्ट हुन्छ ।
यो काम कसले गरेको भन्ने केही वादविवादहरू सामाजिक सञ्जालमा देखिन थाल्यो । म त्यतिबेला लुम्बिनी कपिलवस्तु अभियान बेलायत शाखाको प्रमुख नै थिए । यो अभियानले यस विषयलाई राम्रै उठान गरेको थियो । गैर आवासीय नेपाली संघमार्फत अन्तिम प्रयास भयो । जसले गरे पनि काम भयो, राम्रो भयो यो विषयमा धेरै विवाद गर्न नपर्ने मेरो धारणा थियो । यो कामको बारे एनआरएनको मुख्य वेबसाइटमा कसरी शुरू र काम पूरा भयो भन्ने बारे सबै जानकारी निकै महत्वका साथ उल्लेख गरिएको थियो। कहीं कतै जानकारी दिन पर्यो भने म त्यही वेभसाइटबाट विवरण लिने गर्थें ।
केही महिनापछि मैले नै आयोजना गरेको पानीजहाजको होलिडेमा हाम्रो साझा कम्पनीको वार्षिक भेला र तीजको कार्यक्रममा मेरो त्यो कामलाई प्रशंसासहित सम्मान पाएँ ।  दुईवर्ष पछि त्यो काम सहितको मूल्यांकन गरी होला ब्रिटेन नेपाल डटकमले बेलायतका १० मध्ये मलाई पनि एक भनेर घोषणा गर्यो । मैले ‘के ठूलो काम गरेको हुँ र’ जस्तो लाग्थ्यो तर साथीहरुले ‘हैन यो त निकै ठूलो काम हो, न त यो पहिले कसैले गर्यो न अब कसैले गर्न सक्छ’ भन्दा मलाई फुर्काएको होला जस्तो लाग्थ्यो । केही हप्ता अगाडी मित्र राजेन्द्र भट्टले तयार पार्नुभएको करिब तीन मिनेटको पुरानो युट्युबको भिडियो पठाउनु भएको रहेछ । पहिला त याद गरेको थिइनँ । त्यहाँ तत्कालीन अध्यक्ष जीवा लामिछानेले ‘बुद्ध कहाँ जन्मेको भन्ने मुद्दा परे हाम्रो जीत हुने प्रमाण हो यो बुद्धको प्रतिमा यहाँ प्रतिस्थापन हुनु’ भन्नु भएको रहेछ । मैले पहिला पनि हेरेको थिएँ यो भिडियो । त्यहाँ मलाई ‘तपाईंले त सम्झनु पनि भएन’ भनेर चित्त दुखाएको कुरा हामी दुवैलाई सम्झना भयो फेरि । राजेन्द्रजीले ‘तपाईंलाई थाहा छ नि खबर कसरी बन्छ’ भनेको अहिले पनि सम्झना बारम्बार आउँछ ।
संविधान दिवसका दिन नेपाल सरकारले करिब छ सय जनालाई विभिन्न प्रकारका उपाधिले सम्मानित गरेको छ । सूची हेर्दा प्रायः जसो बहालवाला राष्ट्र सेवकहरु नै देखिन्छन् । पाउनेहरु सबै सक्षम नै होलान् । नपाउनेहरु सबै असक्षम भन्न पनि मिलेन । डाक्टर सन्दूक रुइतसँग धेरै वर्ष अगाडी केही आँखा क्याम्पहरुमा स्वयम्सेवकको रूपमा काम गर्ने मौका पाएको थिएँ । वहाँको जीवनी पढेपछि त्यस्तो व्यक्तिसँग समीप हुन पाएकोमा नै अहोभाग्य ठानियो । वहाँले यो सम्मान पाएकोमा सबै जना खुशी नै हुनु पर्छ। हुन त यस अगाडी को कसले यस्तो सम्मान पदवी पायो मैले खोजी गरेको छैन तर केही छुटेका हुन सक्ने पात्रहरु बारे सम्झिन भने चाहें ।
कोरोना कालमा अहोरात्र खटिएका तर अहिले कोरोनासँग अस्पतालको बेडमा जुधिरहेका क्याप्टेन विजय लामाको नाम त्यो सूचीमा देख्न पाएको भए वहाँको आत्मबल अझै बढ्ने थियो र उहाँका देश विदेशमा रहेका लाखौं शुभचिन्तकहरु क्याप्टेन लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जय चन्द्र-सूर्य भनेर ताली बजाउने थिए जस्तो लागेको छ । अन्धकारलाई हटाउने कुलमान घिसिङलाई पुन पदमा नियुक्ति गर भनेर उर्लेको त्यो जनसागरलाई कमसेकम उनको कामको उच्च मूल्याकंन गरेको छ सरकारले भन्नसम्म सकेन । दुई युवा छोराहरूको सडक दुर्घटनाका कारण ज्यान गुमाउँदा पुगेको दर्दनाक अवस्थाबाट माथि निस्केर सम्पूर्ण परिवारसहित त्यो महान् कार्यमा लागेका विष्णु गौतमलाई सम्झेको भए हामी जस्ता वहाँको सहयोगीहरु सहयोगमा जुटिरहन ऊर्जा मिल्थ्यो होला । कोरोनाको कहरमा बुबा-आमासँग भारत जाँदा उतै अड्किएका नेपाली चेली मनिषा कोइरालाले भारतले नेपालको भूमिमाथि अतिक्रमण गरेकै हो । यो कुनै हालतमा पनि स्वीकार्य हुने छैन भन्दा भारतको नुन खाएर नेपालको गुण गायो भनेर ठूलो प्रचारबाजी गर्दा नेपाल सरकारले उनलाई मान पदवी देला भनेर सोचेकी त पक्कै पनि थिएन होला तर यस्तो बेलामा स्याबासी दिन किन सानो मन गर्न पर्थ्यो होला र ? सूचना विज्ञानको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भनेर गाउँगाउँमा सेवा उपलब्ध गराउँदै आएका महावीर पुनलाई यो सूचीमा राख्दा सबैको शान बढ्ने नै थियो । अन्तर्राष्ट्रिय खेलमा नेपालको नाम राख्न सफल गौरिका सिंहलाई खै किन सरकारले चिन्न सकेन ? अनवरत रंगमंचमार्फत देश र जनतालाई सेवा गर्दै अब सञ्चारमार्फत अति नै गहन विषय “जातको कुरा” सञ्चालन गर्ने त्यति अग्लो छवि भएका नेपाली सिने क्षेत्रका हस्ती राजेश हमाललाई खै कसरी देखेन ? लामो समय बीबीसी सेवा लन्डनमा काम गरेर परिवार बेलायतमै छाडेर देशको सेवा गर्न समाजमा लुकेका मानिसहरूलाई खोजी खोजी” सुमनसँग “कार्यक्रमका सञ्चालक सुमन खरेललाई सम्मान गर्दा राम्रै हुन्थ्यो । आफ्नो जीवनसँग सम्झौता गरेर विवाह नगरी हजारौं बच्चाहरूको भविष्य निश्चित गराई दिने सिएनएन सुपर हिरो पुष्पा बस्नेतलाई पनि सम्झे हुने थियो । नेपालभरी नै सडकबाट दीनदुखीलाई गाँस, बासको व्यवस्था गर्ने मानव सेवा आश्रमका रामजी अधिकारी, चिकित्सा क्षेत्रको अनियमितताबारे एक्लै आवाज उठाउँदै आएका जनताका डाक्टर गोविन्द केसीलाई सम्झेको भएपनि जनताहरु खुशी नै हुने थिए । हरेक विषयमा जनतालाई सुसूचित गराउँदै आएका रवि लामिछाने वा ऋषि धमला, सरकारलाई सधैं सचेत गराइरहने प्राध्यापक सुरेन्द्र केसी वा भरत दाहाललाई पनि सम्मान गर्दा सकारात्मक सन्देश जाने थियो । यद्यपि वहाँहरूको बारेमा मेरो छुट्टै धारणा रहँदै आएको छ ।
मैले उल्लेख गरेबाहेक धेरै मानिसहरुबाट स्वतः स्फूर्त रूपमा धेरै ठूला साना कामहरू भइरहेका छन् । त्यस्ता पात्रहरुलाई खोजी खोजी सम्मान गर्नु सरकारको दायित्व त हो । त्यसले झन् धेरै समाज सेवा गर्ने हौसला बढ्ने थियो । सेना र शसस्त्र प्रमुखले पाउने अनि अति नै उच्च मूल्याकंन गरिएका प्रहरी प्रमुख शैलेश थापाको नाम नदेखिँदा अलि मिलेन कि जस्तो लागेकै हो । हुन त यो मान पदवी प्रमोशन हुने भर्याङ (निश्चित नम्बर)को रूपमा लिने अनि मान पदवी चाहिँ मन परेकालाई दिने भएको हुँदा कि त जागिरेलाई दिन भएन कि त तक्मालाई मूल्यांकनको आधार बनाउन भएन भन्ने बहस पनि चल्न आवश्यक छ ।
ए, मैले उठान गर्न खोजेको विषय त झण्डै बिर्सेछु । साथीहरुको उक्साहट भनौं वा म भित्रको म अलि बढी हावी भएर हो मैले पनि धेरै ठूलो काम गरेछु जस्तो लाग्न थाल्यो । बेलाबखत सरकारले पदक वितरण गर्छ भन्ने कुरा त मलाई पहिलादेखि नै थाहा थियो । त्यसैले केही नेपालका साथीहरुसंग सम्पर्क गरेँ । विदेशमा बसेका हुँदा सबैभन्दा सजिलो उपाय सम्बन्धित दूतावासबाट सिफारिश भयो भने हुन्छ भन्ने सुझाव पाएँ । मैले पनि यो मौका किन छाड्ने भनेर बेल्जियमका राजदूतसँग पटकपटक भेट भइसकेको थियो । वहाँमार्फत नै यो काम समापन भएको हुँदा संपर्क गरें । वास्तवमा म धेरै आशावादी पनि थिएँ । तर जवाफ अलि फरक आयो । ‘खै त्यो काम तपाईंको सक्रियतामा भएको भन्ने त थाहा भएन । मलाई त जीवाजीले भनेर मात्रै थाहा भएको हो’ भन्नुभयो । मैले अलिकति थप कुरा गर्न चाहेको थिएँ तर त्यस्तो वातावरण बनेन। मैले पनि जोड गरिनँ । आफ्नै ठानिएको सधैँ संपर्क गरेको राजदुतले त त्यति वास्ता गरेनन् भने फेरि अर्को निराशा हुन आफ्नै चित्त दुखाउन आवश्यक ठानिनँ । त्यसैले बेलायतको दूतावासमा यसबारे संपर्क नै गरिएन । समय बित्दै गयो जबजब उपाधिका लागि सरकारी घोषणा हुन्थ्यो मेरो मन पनि लोभिन्थ्यो । अर्को पटक त प्रयास गर्छु भन्ने सोच राख्थें तर बिर्सी हाल्थें ।
वर्तमान सरकार गठन भएपछि एनआरएनए युकेका पूर्व उपाध्यक्ष मित्र डा . प्रेम आले नेपाल स्थायी रूपमा नै जाने खबर पाएँ । गृहमन्त्रीसँग वहाँको पारिवारिक सम्बन्ध मलाई थाहा थियो नै । त्यति नै बेला मैले कामको सिलसिलामा पुतली बाजे (कलिन स्मिथ) को नजिकको एक जना नातेदार भेटेको थिएँ । पुतली बाजेको अन्तिम इच्छा नेपाली नागरिक भएर सेती नदीमा खरानी बगाइयोस् भन्ने अति नै मर्मस्पर्सी अन्तर्वार्ता बाहिर आएको थियो । मैले आले जीसँग ‘हामीले यत्ति काम जसरी पनि गर्न पर्छ’ भनेको थिएँ। वहाँले ‘सक्दो प्रयास गर्छु’ भन्नु भएको थियो । मित्रहरू कपिल थापा र चन्द्र बहादुर रोकाहासहितको विशेष पहलमा नेपाल सरकारबाट पुतली बाजेले नेपालको मानार्थ नागरिकता प्राप्त गरी सक्नुभएको छ ।
यसै क्रममा मैले मेरो त्यही पुरानो घाउ कोतर्ने प्रयास गरें । आलेजीलाई यो विषयका बारेमा थाहा थिएन तर थाहा पाएपछि ‘अति नै महत्वपूर्ण काम गर्नु भएको रहेछ’ भन्ने जवाफ पाएँ । वहाकै सल्लाहमा मैले गरेको कामको जानकारीसहित एउटा फाइल बनाएर गृह मन्त्रीकोमा पुर्याउने भनेको निर्मल जीले रोकिहाल्नु भयो । आलेजीले नै पछि एउटा म्यासेज पठाउनु भएको रहेछ । मन्त्रालयभित्र एक विभूषण शाखा छ । त्यहाँबाट एउटा फाराम लिएर भर्नुपर्छ भनेर एउटा संपर्क नाम र नम्बर पठाउनु भएको रहेछ । गतवर्ष एउटा अर्कै प्रसंगमा सानो सल्लाहको लागि परराष्ट्र सचिव मित्र शंकर बैरागीलाई भेटेर बाहिर निस्कँदा गृह मन्त्रालय देखें र फारामको याद आयो । भित्र पसेर फाराम लिएर आएँ । घरमा आएर भर्नु पर्यो भनेर हेरेको खै के के विवरण राख्नु पर्ने आफैँले आफैँलाई मान पदवी पाउँ भनी निवेदन भर्न मनले मानेन । त्यतिकै छाडेँ । मेरो मन भित्रैबाट यो चक्कर छाड्ने निर्णय गरेँ ।
अहिले खै फेरि एकपटक यो विषयले चिमोटेकै त हैन तर यसबारे थप एक अर्को कुराले विगत केही हप्तादेखि गिजोलिरहेको थियो । राजेन्द्र भट्टजीले त्यो भिडियो पठाएपछि त्यसमा केही विवरणहरू थपेर फेरि सार्वजनिक गर्ने सुर चल्यो । त्यसको लागि एनआरएनको वेभसाइट खोल्न पुगें । अलि नयाँ लेआउट बन्दै गरेको त थाहा थियो तर त्यसभित्र खासै हेर्ने जाँगर चलिरहेको थिएन । पहिला हाम्रा कामहरू भनेर यस बारेमा सबै विवरणसहित अन्य कामहरू उल्लेख गरेको थियो । अहिले त्यो काम बाहेक अरु सबै काम मात्र देखें । किन कसरी त्यसो भएको होला भनेर सीधै गौरी जाेशीजीलाई सम्पर्क गरें । वहाँलाई यो विषयमा नै त्यति जानकारी रहेनछ । त्यसपछि एनआरएन आइसिसीका महासचिवज्यूलाई सम्पर्क गरें । केही प्रयास पछि संपर्क भयो । वहाँले ‘कसरी छुटेछ बुझौंला’ भन्नु भो । ‘ल हुन्छ बुझ्नुहोला’ भनें । खबर नआएपछि फेरि हेमराज शर्माजीलाई अर्को म्यासेज गरें र त्यो म्यासेज नै डा. बद्री केसी, गौरी जोशी, महेश श्रेष्ठ र डीबी क्षेत्रीजीलाई पनि पठाएँ । गौरीजीले आईटी प्रमुख महेश श्रेष्ठ सहितको ग्रुप नै बनाएर म्यासेज गर्नु भयो। बद्रिजीले ‘के भएको हो पहिलाको विवरण पुन हाल्न’ भनेर ईमेल गर्नुभयो । आइटी प्रमुखलाई त्यो के विषय थियो भन्ने नै थाहा नभएको कुरा बुझिन्छ । मैले दुईपटक केही भयो भनेर खबर पठाएँ तर जवाफ आएको छैन । मैले यसलाई सामान्य विषय मान्न सक्ने भइन् नै । सबै काम अटाउने झन महत्वपूर्ण कामलाई छुटाउन कसरी मिल्छ ? यसलाई सम्बन्धित पक्षले कसरी लिएको छ भविष्यले बताउने छ नै । अहिलेसम्म सिंगो संस्थाले महत्वपूर्ण काम ठानिएको यस कार्यलाई अब खासै ठूलो काम नभएको घोषणा गरेको हो कि भनेर यो सानो चित्त ( मन) दुख्नु स्वाभाविक नै हो । यसबारे के कसो भएको हो यो हदमा प्रश्न उठिसके पछि हल पनि होला नै भन्ने आशासहित निर्मल स्वामी जीले भन्नु भए झैं हामी त निमित्त हौं, हुनपर्ने हुने काम भइरहन्छ, हामी भए पनि चलिरहनेछ, हामी पछि पनि चलिरहने छ । जो हेगमा पुग्छ उसले त्यहाँ बुद्धको मूर्ति देख्नु मुख्य कुरा हो । कसले, कहिले, कसरी त्यहाँ पुर्यायो भन्ने सामान्य विषय हो । अहिलेलाई यही कुराले चित्त बुझाउनु पर्ला । हेरौं अर्को मान पदवी घोषणा हुँदासम्म के के हुन्छ ? अहिलेलाई तक्माको चक्कर एउटा सुझावसहित यहाँ नै अन्त्य गरौं ।
राजतन्त्रमा प्रायजसो आफ्नो मन्त्र जप्नेहरुलाई वर्षेनी विभिन्न अवसर पारेर दिइने यो मान पदवी प्रचलनलाई गणतान्त्रिक सरकारले पनि त्यही अनुसार प्रथा चलाउन आवश्यक छैन । राम्रो काम गर्ने सरकारी अफिसरहरु त्यसैको आधारमा प्रमोशन हुँदै माथिसम्म पुग्ने हो । आन्तरिक रूपमा त्यस्ता राष्ट्र सेवकहरुलाई विभिन्न प्रोत्साहन र सम्मान गर्ने चलन छँदैछ । सरकारले साँच्चिकै फरक ढंगले महत्वपूर्ण योगदान पुर्याएका केही शिखर व्यक्तित्वहरुलाई मात्र सम्मान गर्ने परम्परा बसाउन आवश्यक छ । आफैंले निवेदन दिएर वा सिफारिस खोजेर पाइने मान पदवीले खासै मान्छेको शान बढाउँदैन । मान पदवी पाउनेको पछाडी घर ठेगाना वा अहिलेको पदीय जिम्मेदारी मात्रै हैन के कारणले यो पदवी दिन परेको हो कारण स्पष्ट खुलाउन आवश्यक छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक