संविधान दिवसमा राजदुत सुवेदीका चार गीति एल्बम र एक पुस्तक लोकार्पण

लण्डन । संविधान दिवसका अवसरमा नेपाली दुताबास लण्डनले शनिबार सीमित व्यक्तिहरुबीच सामाजिक दुरी कायम गरी ‘नेपाली संगीत महोत्सव’ मनाएको छ ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदीद्वारा रचित चार वटा गीति एल्बमको लोकार्पण गरियो भने उहाँद्वारा सम्पादित ‘बेलायतमा नेपाली कथा’ नामक पुस्तक पनि विमोचन गरिएको छ ।
आज लोकार्पण गरिएका गीति एल्बमहरुमध्ये ‘सम्झनाको सिमसिमे झरी’ र ‘मायावी परेलीहरु’मा संगीतकार बिसी राईले संगीत दिएका छन् । पाँच/पाँच वटा गीत रहेको ती दुई एल्बममा कलाकारहरु बिसी राई, गंगाराज राई, सपनकुमार राई, तारा लोक्सम, थिरबहादुर थापा, शर्मिला बर्देवा, सितु खरेल, आशिष राज, चोक गुरुङ आदिले श्वर दिएका छन् । ती दुई एल्बमको राजदुत सुवेदी र संगीतकार राईले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
यस्तै, दुबोसरि रहरहरु एल्बममा संगीत चोक गुरुङले भरेका छन् । ६ वटा गीतहरु रहेको सो एल्बममा गुरुङका साथै मेलिना राई, कुबेर राई, मिलन नेवार, राजेश पायल राई, यम बराल, बीबी अनुरागी जस्ता चर्चित गायक गायिकाहरुले श्वर दिएका छन् । सो एल्बमको संगीत एरेन्ज बीबी अनुरागीले गरेका छन् । सो एल्बमको राजदुत सुवेदी र स्रष्टा गुरुङले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
यस्तै, कृष्णराज मेयाङबोको ‘तिम्रो तस्वीर आँखाभरि’ एल्बममा राजदुत सुवेदीको रचनामा चार वटा गीत समेटिएका छन् । अस्वस्थताका कारण स्रष्टा मेयाङबो अनुपस्थित रहेका कारण राजदुत सुवेदीले सो एल्बमको विमोचन गर्नुभयो ।
“नेपाली संगीत महोत्सव” नाम दिइएको आजको सो कार्यक्रममा कलाकारहरु बिसी राई, गंगाराज राई, सपनकुमार राई, तारा लोक्सम, थिरबहादुर थापा, शर्मिला बर्देवा, सितु खरेल, आशिष राज, चोक गुरुङले दुई/दुई वटा गीत गाउनुभएको थियो ।
भव्य रुपमा नेपाली संगीत महोत्सव गर्ने दुताबासको योजना रहे पनि कोरोना महामारीका कारण स्रष्टाहरु र दुताबास परिवार मात्रको समुपस्थितिमा सो समारोह गर्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री