बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०१:३३ | UK Time: 19:48

मृत्युको मुखबाट फर्केको मित्रको जीवनशैली

जयराम तामाङ्ग
२०७७ असोज २ गते १५:३७

मित्र राममणि रिजाल

मानिसहरु जन्मे पछि मर्नु पर्छ यो प्राकृतिक नियम हो यसलाई कसैले रोकेर रोक्न सकिँदैन । तर उमेर नपुग्दै कसैको मृत्यु भयो भने त्यो अप्राकृतिक जस्तै मानिसहरुले सम्झन्छन् । मृत्यु जुनसुकै उमेरको मानिसको भए पनि परिवारहरुको लागी पीडादायक नै हुन्छ । मृत्यु हुनेले त थाहा नै पाएको हुँदैन तैपनि उसको आत्मा भने बाँचिरहेको हुन्छ भनी सबै धर्मशास्त्रहरुमा लेखेको पाइन्छ ।
त्यसैले आजभोलि मानिसहरुले आफ्नो आफन्तहरुको मृत्यु भयो भने सामाजिक सन्जालहरुमा फोटो राखेर हार्दिक श्रद्धान्जलि अनि आत्माले शान्ति मिलेको होस् भनी लेखिरहेको हुन्छ । त्यसको मतलब मानिसहरुको आत्मा कहिँ न कहिँ गएर बसेको छ भन्ने जो कोइले पनि अनुमान लगाउन सकिन्छ । विशेष गरेर अहिलेको कोभिड १९ ले सँसारको धेरै मानिसहरुको परिवारहरुमा बिछोडको बेदनाहरुको छाप छोडिराखेको छ । मेरो एकजना हितैषी बाल्यकाल देखिको साथीलाई पनि कोभिड १९ ले लगेर जानको लागी धेरै कोशिस गरेका थियो तर वहाँमाथि साँचिकै चमत्कार भएको छ ।
डाक्टरले मेरो साथीको परिवारलाई फोन गर्दा बाँच्ने चान्स एकदम कम रहेको जानकारीसमेत दिइसकेको थियो । मेरो साथी र म बेलायतको स्वीन्डन शहरमा नजिक नजिकै घर भएर पनि कामको ब्यस्तताले भेटघाट भने केही हप्ताको अन्तरमा मात्र हुने गर्दथ्यो । तर सधैंजसो हामी गाउँघरको बारेमा फोनमा भए पनि भलाकुसारी गर्दै घण्टौँ समय बितेको पत्तै हुँदैन थियो ।
हामी सानो छँदा एउटै स्कूलमा पढेका थियौं । हामीहरु छ/सात जनाको मिल्ने समूह मध्येको वहाँ पनि एक जना हुनुहुन्थ्यो । म र साथीमा आर्थिक हिसाबले आकाश र पत्तालको जस्तै दूरी थियो । वहाँको नेपालको धादिङ्ग जिल्लाको गजुरी बजारमा ठूलो ठूलो महलहरु थियो । बाउ बाजेदेखि नै नाम चलेको थियो । त्यस माथि वहाँको बुवा त्यो बेलामा प्रधानपन्च भइसक्नु भएको थियो । वहाँको लाउने, खाने, हिंड्ने फरक शैलीको भए पनि ममाथि कुनै किसिमको भेदभाव कहिले पनि राख्नुभएन । हामी सँगै एउटै बेन्चमा बस्थ्यौं अनि सँगै भलिबल पनि खेल्थ्यौं ।
जब हामी हाईस्कूल सकेर युनिभर्सिटी पढ्नको लागी काठमाडौं आयौं त्यतिबेला केही समय हाम्रो भेटघाट हुन सकेन । म सरस्वती क्याम्पस जान्थें भने साथी पब्लिक युथ क्याम्पसमा जाने गर्नु हुन्थ्यो । म बिहानको क्याम्पस गएर दिउँसो भने म रेस्टूरेन्टमा वेटरको काम गर्दथें । मैले क्याम्पस पढ्दा पढ्दै केही समयमा होटल सोल्टीमा काम गर्ने मौका पाएँ अनि म लगातार होटलको हेल्थ क्लबमा काम गर्न थालें । उता मेरो साथीले भने होटल एण्ड टुरिज्म र र्याफ्टिङ्ग सम्बन्धीको आफ्नै ब्यवसाय शुरु गरिसकेका थिए ।
म होटलमा काम गरेको केही समयपछि हाम्रो फोन नम्बर एक आपसमा साटासाट भएछ । कसरी भयो मलाई सम्झना पनि छैन । त्यसपछि हामीहरुको कुराकानी घण्टौंसम्म हुने गर्दथ्यो । हामीहरु त्यति जान्ने त थिएनौँ तैपनि घण्टौंसम्म अँग्रेजीमा कुराकानी गर्दथ्यौं ।
म होटलमा काम गर्दागर्दै विदेश जाने मौका मिलेकोले चौबीस/पच्चीस वर्षको उमेरमै परदेश लागिसकेको थिएँ । समयको अन्तराल सँगै हामीहरुको फेरि बिचमा करिब एक दशक जति सम्पर्कविहीन नै भयौं । एक दशक जतिको समयमा फेरि अचानक हाम्रो पोर्तुगलमा भेट हुन पुग्यौं । सँयोगले भनौँ वा कसरी भनौं हामी एउटै रेष्टुरेन्टमा भान्सेको काम गर्न थाल्यौं । मानिसलाई जता गए पनि सन्तोष नहुने त्यसैले म चाहिँ फेरि त्यहाँबाट अँग्रेजी बोल्ने ठाउँमा जाने भनेर युकेतिर लागेँ ।
फोनबाट कुराकानी भईरहे पनि फेरि हाम्रो पाँच/छ वर्ष भेटघाट हुन सकेको थिएन । साथीलाई पनि अँग्रेजी बोल्ने रहर भएर नै होला वहाँ पनि युकेतिरै आउनु भएकोले मैले पनि आउनोस् हामी सँगै बसौँला भनी म बसेको ठाउँमा नै बोलाएँ । हामी दुवै जना भान्सेको काम गर्ने भएर नै होला हाम्रो कुराकानी खाने समयदेखि सबै कुराहरु मिल्दोजुल्दो नै हुन्थ्यो ।
दुई/तीन दिन बिराएर कुरा गरिरहने भए पनि यसो चार/पाँच दिन भयो भने धेरै दिन जस्तै लाग्थ्यो । अनि फोन गरी हाल्थ्यौं । सधैं जस्तो एक दिन फोन गर्दा वहाँको फोन उठेन । कतै ब्यस्त होला कल ब्याक गर्नु हुन्छ होला भन्ने मैले सम्झेँ । तर एक दिन भयो, दुई दिन भयो कल ब्याक भएन । फेरि फोन गरेँ । फोन बन्द थियो । मनमा अनेक शँका उपशँकाहरु उब्जिरहेको थियो । मेरी छोरी स्वर्णिमा ग्रेट वेस्टर्न हस्पिटलको आईसीयुमा काम गर्थिन् जहाँ दिनहुँ कोरोना लागेको मानिसहरुलाई सिकिस्त अवस्थमा ल्याइन्थ्यो । त्यो बेलामा कोरोनाको बिमारीहरुको एकदम खचाखच भएर आईसियुमा ठाउँ नपुगेर छुट्टै ठाउँ पनि बनाएको थियो । मलाई कुन दिन हो सम्झना भएन छोरीको रातिको काम थियो । भोलिपल्ट बिहान करिब आठ बजेतिर छोरी सँधै आउने समयमा घरमा आई पुगिन्। तर म चाहिँ बाहिर यसो एकछिन वाकिङ्ग जानु पर्यो भनेर तयार हुँदै थिएँ । छोरीले कामको लुगा नै नफेरी एकै सासमा भन्न लागिन्, “बाबा तपाईले हस्पिटलमा को छ भनेर कल्पना पनि गर्न सक्नु हुन्न” । अनि म डराएँ । अनि को छ भनेर म आत्तिएर सोघ्न लागेँ । छोरीले भनिन्, “राममणि अँकल कोरोना लागेर आईसियुमा हुनुहुन्छ र वहाँ एकदम नाजुक अवस्थामा भेन्टिलेटरमा हुनुहुन्छ” भने पछि म के गरौँ के गरौँ जस्तो भयो ।

लेखक जयराम तामाङ

मलाई अझै विश्वास नलागेर अनि तुरुन्त छोरा परिक्षितलाई फोन गरेँ । प्रायजसो छोराले फोन नउठाउने त्यो दिन कसरी उठाउन पुगेछ । मैले “बाबा कहाँ हुनुहुन्छ” भनेर छोरालाई सोधें । “ममी र बाबा बाहिर जानु भएको छ” भनेर भनेपछि मलाई एकछिन् झन् शँका उपशँकाहरु लाग्न थाल्यो । छोरीले त पक्कै ढाँटेको होइन बरु नेपालमा परिवारहरुले थाहा पाएर पीर गर्लान् भनेर त्यसो भनेको होला भनेर सम्झेँ र मैले खासै केही भनिनँ । भन्नु पनि उचित थिएन । किनभने आफू त्यो ठाउँमा भएको भए कुन अवस्थामा हुन्थ्यो होला भनेर मैले कुनै अनुमान नै गर्न सकिनँ ।
म न त भेट्न जान सक्थेँ न त मैले अरु केही गर्न सकिन्थ्यो । मसँग एउटै मात्र विकल्प थियो प्रार्थना । त्यसैले म घुँडा टेकेर रुँदै मेरो साथीलाई बचाई दिनुहोस् भनेर परमेश्वरलाई प्रार्थना गर्न थालें । मैले अनेक किसिमका विगतका बितेका कुराहरु सम्झन लागेँ । म सोच्दै थिएँ मेरै कारणले साथी भनेर यो ठाउँमा आयो, भर्खर नयाँ बिएमडब्ल्यु कार किनेको छ । धेरै चढेको पनि छैन अहिले त्यस्तो बिमारले भेटायो । सायद यहाँ नआएको भए यस्तो रोगले पो भेट्ने थिएन होला कि भनेर अनेक कुराहरु मनमा खेल्न थाल्यो ।
मैले साथीको बारेमा धेरै सोचेर होला एक दिन सपनामा राममणिजी नीलो टीसर्ट र खैरो पाइजामा लगाएर मलाई भेट्न आएको देखेँ । अनि मैले सपनामै “तपाईलाई कोरोना कहाँ जाँदा लाग्यो जस्तो लाग्छ” भनेर सोध्दा वहाँले मलाई भन्नु भयो ”म कारमा पेट्रोल भर्न जाँदा लागेको हो” भनेर सपनामा भनेको देख्दा साँच्चै हो कि जस्तो लागेको थियो ।
म बिहान, बेलुका, दिउँसो जतिखेर समय भयो अनि साथीको शीघ्र स्वास्थ्य लाभको लागी प्रार्थना नै गरिरहन्थें । काममा जाने बेलामा पनि कारमा एक्लै हुँदा प्रार्थना नै गरेर जान्थें । राममणिजीको साथीभाइ आफन्तहरुले पनि फोन गर्दा नउठेर होला म नै नजिक छ भन्ने थाहा पाएपछि मलाई धेरै फोनहरु आउन थाल्यो । मैले खासै त्यति थाहा नभएको भनेर सबैलाई भनि दिन्थें । हस्पिटलमा धेरै नेपाली डाक्टरहरु अनि नर्सहरु काम गर्ने भएर होला बिस्तारै अलिअलि अरु साथीहरुले पनि थाहा पाउन थालेपछि मलाई राममणिजीको बारेमा भन्न पनि करै लाग्यो । म राममणिजीको घरमा धेरैचोटी ढोका ढक्ढक्याउन गएँ तर ढोका कहिले पनि खुलेन । राममणिजीको श्रीमती इन्दु रिजाल छोरा परिक्षितलाई कस्तो होला, केही सहयोग चाहिन्छ कि भन्ने चिन्ता पनि धेरै थियो । मेरो र राम मणिजी दुवैको साथी देवेन्द्र श्रेष्ठजी पनि एकदम चिन्तामा हुनुहुन्थ्यो । उहाँले पनि धेरैपटक ढोका ढक्ढक्याउन जानु भएको थियो । अचानक एकदिन ढोका खोल्नु भएछ र उहाँले केही अति आवश्यक कुराहरु किनेर ल्याई दिनुभएको र सन्चै भएको कुरा मलाई सुनाउनु भएपछि मलाई अलि मन शान्त भएको थियो । म र मेरी श्रीमती पनि एकदिन फेरी ढोका खोल्छ कि भनेर जाँदा अचानक छोराले माथि झ्यालबाट हामीलाई तल आएको देखेपछि ढोका खोलिदिएको थियो । त्यही बेलामा मैले सबै कुराहरु भनिदियो । मेरो छोरीबाट सबै कुराहरु मैले दिनँहु थाहा पाइराखेको छु । अहिले अलि राम्रो भएको छ । हामीले के नै गर्न सक्छौं र तिमीहरु जे जस्लाई माने पनि एकदम धेरै प्रार्थना गर्नु र केही सहयोग चाहियो भने फोन गर भनेर घर फर्कियौँ । छोरीको छुट्टीको दिन बाहेक छोरीको काम भएको दिन प्रत्येक दिन कस्तो छ भनेर अपडेट भने भइरहन्थ्यो । तर बिचमा एकदम सिकिस्त नै भएपछि सास फेर्न नसकेपछि घाँटीमा नै प्वाल बनाएर पाईप हालेर त्यहीबाट सास फेरिरहेको छ बाबा भनेर छोरीले भन्दा म एकदम चिन्तामा थिएँ । दिनहरु त्यसैगरी बित्दै गयो र १८ दिनको भेन्टिलेटर गरी जम्मा ३८ दिन अस्पतालमा बिताएर घर फर्केको साथीलाई देख्न पाउँदा धेरै हर्षित भएको थिएँ । घर फर्के पछि साथीलाई मैले एउटा प्रश्न गरेँ, “त्यो बेहोस भएको बेलामा तपाईले केही देख्नु भयो वा कस्तो महसुस भयो” भन्दा साथीले भन्नु भयो, “मैले केही थाहा नै पाएन । म पागल जस्तै भएको थिएँ । ममा कुनै सोच्ने शक्ति नै थिएन । मलाई डाक्टरले तँलाई एउटा चमत्कार नै भएर बाँचेको होस् भनेर भन्यो” भन्दै साथी रिजालले मलाई भन्दा म पनि अचम्म मानेको थिएँ ।
वहाँलाई हस्पिटलमा डाक्टर अनि नर्सहरुले गर्नु भएको माया, सेवा अनि सुविधाको बारेमा भित्र आत्मादेखि नै खुलेर प्रशंसा गर्नु भएको थियो । यति राम्रो हेरचाह सेवा अनि सुविधा आफ्नो घरमा पनि हुँदैन र घर परिवारले पनि गर्न सक्दैन भनेर साथीले भन्नु भएको थियो ।
साथीले भन्नुहुन्छ, “मलाई पहिला मर्नु भनेको केही होइन जस्तो लाग्थ्यो । मेरै आँखाको अगाडी कति धेरै मान्छेहरु मरेको देखेको छु । मलाई खासै डर लाग्दैन थियो तर अब मलाई मृत्युको कुरा सुन्दा साँच्चै डरलाग्दो रहेछ । त्यसैले अब मैले आफ्नो शरीरको ख्याल राख्नुपर्छ र खानेकुराहरुमा ध्यान दिनु पर्छ । अनि शारिरीक अभ्यासहरु गर्नुपर्छ आफ्नो परिवारहरुसँग समय बिताउनु पर्छ ।” उहाँले आफ्नो जीवन शैलीहरुमा धेरै परिवर्तनहरु गर्नु भएको छ । मलाई लाग्छ जीवनको परिभाषा खोज्नुलाई मेरो साथी राममणि रिजालजीसँग गएर सोध्यो भने उत्तर पाउनेछ । मेरो साथीको आयु सयौं वर्ष अझ थपेको होस् । तथास्तू ।

 धादिङ्ग गजुरी ,हाल बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक