आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १९:२७ | UK Time: 14:42

भेट बाँकी रह्याे कमरेड बाेगटी

राजेन्द्र पुडासैनी
२०७७ भदौ ३१ गते २०:१९

पोष्टबहादुर बोगटी

कमरेड पोस्टबहादुर बोगटीसँग २०४६ सालताक जनआन्दोलनका मोर्चा र बैठकहरूमा धेरै पटक भेट हुन्थ्यो। त्यतिबेला हामी तत्कालिन नेकपा मालेका कार्यकर्ताहरू बेजोड फूर्तिका साथ संगठन बिस्तारमा थियौं। बिद्यार्थी फाँटमा काम गर्दा त अखिल पाँचौं त हीराको टुक्रा जस्तो नै । परिवर्तनकारीहरू सबैले मन पराउने। पोस्टबहादुर दाइले मलगायत त्यतिखेरका नुवाकोटका केही मालेका साथीहरूलाई नेकपा मशालमा लैजान ठूलो कोशिस गर्नु भयो। धेरै पछी उहाँसंग नेपालमा भेट हुने संयाेग जुर्यो जतिबेला उहाँ पर्यटनमन्त्री हुनुभएको थियो। “राजेन्द्र कमरेड लगायतका केही जिलिंगका मालेका कमरेडहरूलाई माओवादी बनाउन खोजेको सकिएन,” बोगटी सरले भन्नु भयो।
माओकाे काेटेसन “शसस्त्र क्रान्ति सम्पन्न गर्न चाहिने आधार क्षेत्र, लालसेना र हतियार” नेपालको अर्धसामन्ती र अर्धऔपनिवेसिक राज्यको संरचनामा उतिखेर संभव हुँदैन भन्ने कुरामा हामीलाई उतिखेर विश्वास थियो। कुरा मिलेन र स्थानीय रूपमा नुवाकोटमा हामी बाममोर्चा र उहाँहरू (स्वर्गीय गणेश पण्डित, कुमार पण्डित, तोयनाथ थपलिया, शारदारमण नेपाललगायत) संयुक्त राष्ट्रिय जनआन्दोलन तथा नेपाली काँग्रेसबाट ध्रुव अधिकारी, रामप्रसाद जोशी, मुकुन्द सिटौला, स्वर्गीय बिष्णु आचार्य लगायतका साथीहरू मिलेर संयुक्त रूपमा जनआन्दोलनमा सहभागी भएका थियौं।
उता काठमाण्डौमा भने त्यतिबेलाका चर्चित नुवाकोटे विद्यार्थी नेताहरू राजेन्द्र लोहनी र केशव पाण्डेहरू जेलमा परिसक्नु भएको थियो। नेतृ बिन्दा पाण्डे आन्दोलनको अग्रमोर्चामा हुनुहुन्थ्यो भने महेन्द्र पाण्डे बुद्धिजीवी फाँटकाे सक्रिय नेतृत्वमा। नुवाकोटमा मालेका भरत पुडासैनी, मशालका ठाकुर गजुरेल र हीरादत्त दाहालहरू पहिल्यै जेलमा हुनुहुन्थ्यो। नेताहरू कृष्णदास श्रेष्ठ, रामशरण प्याकुरेल, नारायण खतिवडाहरू बाहिर आन्दोलनको मोर्चामा हुनुहुन्थ्यो।
म बेलायत आएको भएपनि राजनीतिसंग मेरो नाता निरन्तर गॉंसिएकै छ र थियाे। एमाले पार्टी र त्यसपछी पार्टी विभाजन पछि बनेको माले समेतमा केही समय संलग्न भएकोले होला, तत्कालिन जिल्ला विकास समितिका सभापति भरत ढुंगानासंग मेराे निरन्तर सम्पर्क भैरहन्थ्यो। पहिलो पटक बिदामा नेपाल जॉंदा भएको भेटमा पोस्टबहादुर दाइको छोरा रवि बोगटी जेलमा रहेको र बाेगटी परिवार प्राय: सबै भूमिगत भएका कारण हजुरआमालाई हेर्न समस्या भएको थियाे। साेही मानवीय समस्यालाई सुल्झाउन ढुंगाना र म जिल्ला प्रहरी कार्यालयमा गएर मेरो नातासमेत पर्ने त्यतिखेरका प्रहरी प्रमुखसँग कुरा गरेर रविलाई जेल मुक्त गरियो।
बिडम्वना! रविलाई जाेगाउन लागि पर्ने ढुंगाना र स्वयं रवि पछि मारिए। अन्यायविरूद्ध लड्ने दुई युवा नेताहरूलाई सेनाले समातेर हत्या गरेकाे खबर स्वीकार्न कठिन भयाे। बिदा सकिएर म लण्डनतिर तेर्सिएको केही समयपछी ढुंगाना नेकपा माओवादीमा लागिसक्नु भएको थियो। जिविसको सभापतिको पद, गाडी, घर सुबिधा आदि सबै छोडेर। पाेस्टबहादुर बाेगटीकाे सादगीपन पनि ढुंगानामा पनि देखिन्थ्याे। शायद बोगटीटारमा विद्यालय पढ्ने क्रममा पोस्टबहादुर दाइसंग भरत ढुंगानाको पहिल्यै गहिरो सम्बन्ध रहेकाे हुनुपर्छ।
जीवनजस्तै हुन्छ क्रान्ति। क्रान्तिकाे बाटाे सीधा हुँदैन। तर मैले पोस्टबहादुर दाइसंग मैले पटक-पटक जनयुद्धको सान्दर्भिकतामा विमति राखेकाे थिएँ। त्यतिखेर म मनगढन्ते थिएँ वा सिंगाे माओवादी नेतृत्व। त्यसकाे छिनाेफानाे आधुनिक नेपालका अध्येताहरूले गर्लान्। तर मनाेगत विश्लेषण नै सही, यदि हिंसा चर्कन्थेन भने कमसेकम भरत र रविहरू युद्धमा हेलिन्थेनन् र कमसेकम यी स्वप्नजीवी कमरेडहरूलाई हामीले असमयमै गुमाउनुपर्थेन हाेला। भन्न त फेरि पनि सकियाे-उहाँहरूकाे सहादत युगकाे माग थियाे।
कमरेड बाेगटी, हिजाे संयाेग मिलेन। तर मनमा रिक्तता छाउँछ- आज तपाईं ज्यूदो हुनुभएको भए एउटै पार्टीमा र एकै ठाउँमा रहेर जनताको जनजीविका, पार्टीको बिधि, पद्दति र समाजवादी यात्राको बारेमा यतिखेर झनै घनिभूत छलफल गरिरहेका हुने थियाैं। तर दाइ तपाईं पनि अलि असमयमै जानुभयाे। याे जीवनमा तपाईंसँगकाे छलफल र बहस स्थगित रह्याे प्याराे दाइ। प्याराे कमरेड। श्रद्धाञ्जली सादगी नेता।
छैटौं स्मृति दिवस २०७७ भाद्र ३०

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक