बाल्यकाल र विद्यालय जीवन


सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट केही घण्टा हिँडेर पुगिने स्याउलेमा ०२४ साल भाद्र  ३० गते जन्मेको रहेछु । आमाको माइत छेउमै बुबाले घरजम जमाउनुभएको रहेछ । ठूलो दिदी जन्मेको सात वर्षमा बित्नुभएछ जुन म जन्मिनु अगाडि कै कुरा हो । त्यसपछि जन्मेको दाइ पनि बित्नुभएको थियो । त्यसपछि फेरि दुई दाइको जन्म भएर अनि अर्को गर्भपतन भएपछि अन्तमा मेरो जन्म भएछ । बाँकी हामी तीनमध्ये म कान्छो भएकाले अझै पनि म कान्छो नामले चिनिन्छु ।

बुबाको घर त काठमाडौं साँखुमा हो तर १३/१४ वर्षको उमेरमा बाजे बज्यैको मृत्युपश्चात् भाउजूहरूको ज्यादतीका कारण ठूलो दाइ (ठूलो बुबा)ले सुरु गर्नुभएको व्यापारका साथ उपल्लो स्याउलेतिर लाग्नुभएछ । वनमा पाइने चिया टिपेर काठमाडौं लग्ने काम गर्नुभएछ ।

त्यसैक्रममा आमालाई मन पराउनु भएछ । त्यस भेगमा साह्रै राम्रो ख्याति पाउनुभएका ललितबहादुर सुब्बाको छोरी पाउन सायद ठूलै कष्ट गर्न परेको हुन सक्ने आमाको भनाइबाट अनुमान लगाएको छु । बुबा पनि रमाइलै गर्नुपर्ने खालको हुँदा सुरुको जीवन कष्टकर नै बितेको हुन सक्छ । दाइहरूलाई काठमाडौं र चौतारा पढाउन राख्नुभएको थियो । त्यतिखेर ठेक्का गर्ने र पसलको काम गर्नुहुन्थ्यो । तर, रक्सी पिउने बानी भएकोले धेरै कुरा लथालिंग नै थियो क्यार । चौतारामा एउटा घर किन्नुभएको थियो । त्यहाँ भूमिसुधारको अफिस पनि थियो ।

म पाँच वर्षको हुँदा सपरिवार चौतारामा आयौँ। त्यस अगाडिका घटना त्यति याद छैन । घरमा भेडा पालेको र त्यो धेरै ठूलो भएको कुराको झल्को मात्रै छ । मलाई फापरको रोटी खुबै मन पर्थ्यो । र, वरपर घरमा जाँदा पनि त्यही मागेर खान्थें । एकपटक स्क्वास खाने भनेर आमाले बनाएर सन्दुसमा राख्नुभएको रक्सीलाई बेस्सरी चलाएर फिँज निकालेर खाएँछु र झन्डै ज्यान गयो । सबैले आशा मारिसकेका थिए । बाजेको बगैँचामा भोगटे टिप्न भनी चढेको र चिप्लेर खस्दा देब्रे पाखुरा अड्केर ठूलो घाउ लाग्यो जसको खत अझै छ । घर अगाडि सानो बारीमा मकै छरेको थियो । पोलेर खानपर्यो भनेर सुपारी काट्ने चुप्पीले मकैको मुनि डाँठमा समातेर माथिबाट काट्दा देब्रे हात झन्डै छिनेको । त्यसको चिनो पनि अझै छ । दाइहरूको व्रतबन्ध गर्दा थुप्रै आफन्तहरूको जमघट थियो । हामी सबैलाई सुट र टाई किनिदिनुभएको थियो । आमाको स्वास्थ्य राम्रो थिएन । ठूली दिदीको मृत्युले एक्लोपन भएको र सहयोगको लागि ठूलो मामाको छोरी निरे दिदी हामीसँगै बस्नुहुन्थ्यो । मेरो हुर्काइ बढाई उहाँले नै गर्नुभयो । चौतारामा आउँदा मलाई बोकेर ल्याउनुभएको सम्झना छ । डाँडे गौडामा थकाई मारेको चाहिँ सम्झना छ । त्यो दिन सहकारी भएको घरमा बस्यौँ । केही समयपछि गैरीगाउँमा डेरा गरेर बस्न थाल्यौँ । त्यहाँ अलि लामो समय बस्यौँ । दाइहरूलाई पढाउन श्याम श्रेष्ठ आउनुहुन्थ्यो । पछि बिलबहादुर सर आउन थाल्नुभयो । मलाई पनि ‘क… ख’ सिकाउनुहुन्थ्यो । सात वर्षको उमेरमा एकैपटक श्रीकृष्ण व्यावसायिक माविमा तीन कक्षामा भर्ना गराइएको थिएँ । एकैपटक ठूलो कक्षामा भर्ना हुँदा अलि गाह्रो भयो । थुप्रै किताबहरू झोलामा बोकेर हिँड्दा गर्व लाग्थ्यो । तीन कक्षाको शारीरिक स्वास्थ्यको किताबको बाहिरी खोलमा मान्छेको अस्थिपञ्जर छापिएको त्यो पनि रातो रङको भएकाले बडो राम्रो लाग्थ्यो । त्यतिखेर संस्कृत बद्री गुरुले पढाउनुहुन्थ्यो । कान समात्ने र पिट्नेमा माहिर ।

म सात वर्षको उमेरमा व्रतबन्ध गर्न साँखुको बज्रयोगीनी मन्दिरमा लगिएको थिएँ । माहिला बाको छोरा महेश्वरसँग गरिएको थियो । कन्दनी लगाउन अप्ठ्यारो भएकाले एक घण्टापछाडि नै फुकालेर त्यहीँ छेउमा इँटाले छोपेर राखेँ ।

स्कुलमा राम्रो पढ्नेमा गनिन्थेँ । मलाई त्यति पढेजस्तो लाग्दैनथ्यो । सात कक्षासम्म खै के पढियो थाहा भएन तर त्यतिखेर एनडिएसमा आउनुभएका गुरुआमाहरूसँग मिलेर रमाइलो गरेको सामाजिक काम गरेको भने अलिअलि याद आउँछ । अम्बर सर र पूर्ण लामा सर बहुतै सांस्कृतिक पाराका हुनुहुन्थ्यो । नाटकहरू वर्षेनी देखाउनुहुन्थ्यो । त्यो म ६ कक्षामा पढ्दा थियो होला मलाई केटी बनाएर एउटा कमिक तयार गरिएको थियो । त्यसको फोटो अम्बर सरले धेरै पछि चौतारा फर्कंदा मेरी श्रीमतीलाई देखाउनुभएको रहेछ मैले मागेर राखेको छु । म नाँच्ने गाउनेमा अति नै रुचि राख्ने । तर, म बढी नाच्थेँ । मेरो नाचको सुरुवात तामाङ सेलोमा रामकृष्णसँग केटी भएर नाचेपछि सुरु भयो र जिल्लाबाट समेत छानिएर अञ्चलस्तरीय प्रतियोगितामा सहभागी भएँ । वीरबहादुर सर गितार लालबहादुर बाँसुरी र दिलकुमारी गायनसहित हामी पाँचजना जनबहाल लजमा बसेर नक्सालको महेन्द्र ‘विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाउन गएका थियौँ । पाँचौँ स्थान आयो ।

गैरीगाउँमा बस्दा रमाइलै दिनहरू बिते जस्तो लाग्छ । दाइहरू पनि सँगै हुनुहुन्थ्यो । प्रत्येक पटक बुबा काठमाडौं जानुहुँदा हामी सबैलाई एक/एकवटा सामान ल्याइदिनुहुन्थ्यो । एकपटक मेरो भागमा बल परेको थियो । सायद आनन्द दाइको साथी गोविन्द दाइले जस्तो लाग्छ बललाई खुट्टाले माथि हिर्काउँदा फुट्यो । म दुःखी भएको थिएँ ।

त्यतिखेरको प्रभावले हामीहरू अलि अनौठा काम गर्थ्यौं । लट्ठीलाई बन्दुक बनाएर झाडीमा लुकेर युद्ध गर्ने भनेर त्यसै गरिन्थ्यो । जुगपानीको डाँडातिर पनि आर्मी बनेर खुबै खेल्यौँ । वनमारा तितेपातीको पात पिँधेर उपियाँ मार्ने औषधि बनाउनुहुन्थ्यो दाइहरू । स्कुलको डाँडामा साँझ परेपछि नयाँ र पुरानो बजारबीच झगडा पर्थ्यो । त्यो अति व्यवस्थित तरिकाले हुन्थ्यो । दुई पक्षबीच लाइन लगाइन्थ्यो र पालैपालो कुस्ती खेल्थ्यौँ ।

मेरो जीवनमा व्यक्तिगत झगडा भने भएन भने पनि हुन्छ । एकपटक राजुसँग नारायणकाजीको घरअगाडि अलि मुक्कामुक्की भएको थियो सायद त्यो दिन पशुपतिशमशेर चौतारा आउँदै थिए र त्यसैबारे भनाभन भएर हो कि जस्तो लाग्छ ।

मलाई टन्सिलले खुबै पिरोल्थ्यो । जतिखेर पनि त्यही समस्या हुन्थ्यो । एकचोटि त एक महिनासम्म लगातार सुई दिनुपर्ने भयो । बडो ठूलो सिरिन्ज भएर डराउँथेँ तर एकजना साह्रै राम्री नर्स थिइन् । मेरा लागि भनेर पूरै नेबिको चकलेट किनेर राखेको रहेछ जब म जान्थेँ उसले सुई दिन तयारी गरिसकेपछि चकलेट दिन्थिन् र खाऊ त भन्दा इन्जेक्सन दिइसक्थिन् रुने समय नै पाइन्नथ्यो । उही नर्ससँग टुँडिखेलमा ब्याडमिन्टन खेलेको पनि राम्रो सम्झना छ र पटक–पटक थुप्रै माछाको तेल पनि खुब दिनु हुन्थ्यो ।

हामी स्कुलमा मिल्ने साथीहरूमा गणेशमान, महेश, शंकर थियौँ पछि तीर्थ पनि थपियो । त्यतिखेर हामीले पनि ठूलाको नक्कल गर्थ्यौं । प्रायजसो स्कुल सकेपछि खाजा खाएर सबैजना टुँडिखेलको छेउको जंगलमा गएर ऐँसेलु खाने गर्थ्यौं । त्यतिखेर आशा चुरोटको खुबै चल्ती थियो । गणेशमानको बुबाले पसलमा आउने ग्राहकहरूलाई दिने धेरै चुरोट राख्ने गर्थे । हामी प्राय दिनहुँ एक/दुई बट्टा सिध्याउँथ्यौँ बाँकी राख्दा देख्छन् भनेर । कहिलेकाहीँ याक चुरोट पनि ल्याउँथ्यौँ । त्यतिखेर हुनुपर्छ एकदिन पवित्रले घरबाट लालिगुराँस चुरोट एकबट्टा ल्याएछ र मलाईसमेत लगेर कक्षा चलिरहेको वेलामा स्कुलको पानीट्यांकी पछाडि बसेर पिएका थियौँ ।

महेश तत्कालीन इन्स्पेक्टर गणेशमान सिंह मास्केका छोरा थिए । बेलाबेलामा उनको क्वार्टरमा गएर त्यहाँ भएका ठुल्ठूला अंगुरहरू खुब खान्थ्यौँ ।

तीर्थ शिक्षाको एकाउन्टेन्ट लक्ष्मण कर्माचार्यका छोरा थिए । उसका तीन भाइ दाजुभाइ बाबुसँगै चौतारा पुराना बजारमा वीरबहादुरको घरमा बस्थे । त्यहाँ पनि बेलावबेलामा गएर पढ्ने खाजा खाना खाने गरिन्थ्यो । त्यहीँनजिक जयसागरसँग पनि संगत भएको थियो, उहाँले त्यतिखेर चलेको खैनीमा ल्वाङ सुकुमेल दालचिनी सबै मिसाएर मीठो खैनी बनाउनुहुन्थ्यो । उसले र कहिलेकाहीँ हामीले पनि चाख्थ्यौं तीर्थले अरूले थाहा नपाओस् भनेर भिक्सको बट्टामा राख्ने चलन थियो ।

हामी त्यतिखेर गैरीगाउँबाट सरेर बाले नयाँ बजारमा पञ्चेवर्ष योजना राखेर बनाउनु भएको निकै ठूलो घरको छेउमै घरमा डेरा लिएर बस्न थालेका थियौँ । गैरीगाउँमा हुँदा त्यतिखेर जात्रामा बोकिने रथहरूको प्रभावमा परेर होला एकदिन हामी तीनै भाइसहित थुप्रै मान्छे मिलेर रथ बनायौँ । ढुंगाका देउता बनाएर बाजा बजाई घरमा ल्याएका थियौं । ती तीनवटा ढुंगाहरू आमाले पूजा कोठामा राखेर पूजा गर्नुहुन्थ्यो ।

त्यतिखेर हामी मिल्ने साथीहरू एकै ठाउँमा बसेर पढ्ने र परीक्षामा झन् गणेशमानकै घरमा सुत्थ्यौं । गणेश म जानकी र गणेशको बहिनी लक्ष्मी एकै कोठामा बसेर पढ्थ्यौं र निद्रा लागेपछि त्यत्तिकै सुत्थ्यौँ । हाम्रो प्राय बसाइ सेतो घरमा हुन्थ्यो ।

त्यतिखेर हामी सात/आठ कक्षामा पढ्थ्यौं। त्यसभन्दा पहिले हामीलाई अम्बर सरले रामचन्द्रहरूको घरमा बस्दा त्यहीँ ट्युसन पठाउनुहुन्थ्यो चौतारामा प्राय सबै बच्चाहरू त्यहाँ आउँथे । अम्बर सर भनेपछि सबैले मान्थे र डराउथे पनि । पिट्न परेपछि त बाँकी नै नराख्ने उहाँको बानी थियो । तर, माया पनि गर्नुहुन्थ्यो र बहुत हँसाउनुहुन्थ्यो । प्रत्येक वर्ष स्कुलको जन्म जयन्तीमा रमाइलो कार्यक्रम प्रस्तुत हुन्थ्यो । चौतारामा मात्रै नभई जिल्लाभरि नै सभापति र अझ त्यो भन्दा बढी वकिलको नामले प्रचलित त्रिभुमान श्रेष्ठको घरमा हामी प्रत्येक दिन पढ्न जान्थ्यौं । त्यतिखेर उहाँले आफ्नो घरमा जिल्लामै पहिलो लज आफ्नो छोरा शिवको नाममा शिवलज भनेर चौतारामा खोल्नुभयो । त्यहाँ राखिएका सबै सिरानीहरू बुकीको फूलका थिए । जुन हामीले धेरै दिनसम्म नजिकैको डाँडीगौडा वनबाट संकलन गरेर ल्याएका थियौँ ।

आठ कक्षामा पुग्दाखेरि ०३५, ३६ सालतिरको राजनीतिक सरगर्मीले चौतारालाई पनि छाडेन । पहिलोपल्ट हाम्रो घरको छिँडीमा कृष्णभक्त सरसमेत आएर राजनीतिक शिक्षा दिनुभएको थियो । सुरुमा अखिल छैटौँको राम्रो प्रभाव थियो । त्यहाँ पनि पाँचौंको पनि संगठन स्थापना गरे तर हामी धेरै अगाडि थियौँ । सुरुवातमा पहिलो जिल्ला सम्मेलन हुने बखत एकदिन अगाडि केन्द्रबाट देव गुरुङ आउनुभएको थियो र उहाँलाई नरमान दाइको घरमा राखेका थियौं । उहाँले केन्द्रबाट सांस्कृतिक टोली आउने सम्भावना कम भएको बताउनु भएपछि रातारात केही गीत नृत्यहरू सिकेका थियौं । तर भोलि केन्द्रबाट ठूलो टोली आएकाले हामी ढुक्क भयौँ । त्यतिखेर कोही पनि आउँदैन भनेर थाहा पाएर सम्मेलनमा प्रश्न गर्न भनी स्कुलको चौरमा पाचौका ठूलै नेताहरु आएका थिए । तर पछि विश्व अधिकारीहरूले केही प्रश्न गर्ने इच्छा छ भने गरे हुन्छ भनेपछि उहाँहरू सुन्न स्कुल पछाडि गएको दृश्य हेर्न लायक थियो ।

त्यतिखेर स्वागत भाषण आनन्द दाइले गर्नुभएको थियो र प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । केराको बोटलाई काटेर मात्र पुग्दैन जरासमेत उखेल्नुपर्छ भन्नुहुन्थ्यो ।सम्मेलन सकेर धेरैजसो केन्द्रबाट आउनुभएका साथीहरू हाम्रो घरमा बस्नुभएको थियो । सिन्धुपाल्चोकबाट छैटौं राष्ट्रिय सम्मेलनमा भाग लिन जयन्द्र दाइ, राजेन्द्र तुलसी गएका थिए तर पछि राजेन्द्र पाचौंमा लाग्यो र अरु त पछिसम्म नै सँगसँगै थियौं ।

०३६ सालको चैत २४ गतेको नेपाल बन्दमा जुलुस पुरानो बजारबाट फर्कंदा अमिरलालको पसल छेउमा पुग्दा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार ग¥यो र चार जनालाई समातेर लग्यो । म भागेर कप्तान पाटीमा पुगेछु त्यहाँ पुग्दा बन्दुक पड्केको आवाज सुनियो । एकजना पुलिस आत्तिएर उसैको बन्दुक पड्केछ । धेरै दिनसम्म यसको प्रभाव परिरह्यो र भोलिपल्ट चौतारा बन्दको पनि आयोजना गरियो ।

८ कक्षामा पढ्दै गर्दा स्कुलमा पहिलोपल्ट स्ववियुको चुनाव भयो, हामीले पदम पराजुलीको नेतृत्वमा प्यानल उठायौं सह–सचिवमा म थिएँ । एक/दुईजनाबाहेक सबै हाम्रो बहुमत भयो । मेरो प्रतिपक्षमा तारा उठेकी थिइन् हारिन् । एक वर्षसम्म स्ववियुले निकै उत्साहवर्धक काम गर्यो सांस्कृतिक कार्यक्रम चन्दा संकलन देउसी भैलो जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना गर्यौँ । भलिबल प्रतियोगिताले राम्रो प्रभाव पारेको थियो ।

त्यतिखेर केही साथी होस्टलमा बस्ने गर्दथे । हाम्रो प्राय बास त्यतै हुन्थ्यो । धान रोप्ने, मकै रोप्ने, हलुवा, खीर पकाउने काम पनि हुन्थ्यो । अन्तरसदन अतिरिक्त क्रियाकलाप हप्तैपिच्छे हुन्थ्यो । जे होस् दिनहरू रमाइलै बितेका थिए ।

हामी ९ कक्षामा हुँदा एउटा घटना घट्यो । त्यतिखेर केटाकेटीमा प्रेमपत्र लेख्ने काम भएछ । यो कुरा सरहरूले पनि थाहा पाउनुभएछ । विशेषगरी वीरबहादुर सरले यसमा अनावश्यक टाउको दुखाउनुभयो । एकदिन कक्षामा आएर रामकृष्ण कृष्णकुमारहरूलाई बेस्सरी पिट्नुभयो । भोलिपल्ट हामीले सल्लाह गर्यौँ । उहाँको कक्षा बहिष्कार गर्ने । उहाँ कोठामा आउँदा हामी सबै बाहिर चौरमा बस्यौं । उहाँले बोलाएपछि कोही भित्र छिर्न थालेकाले सबै गयौं । त्यो दिन झनै निकै ठूलो स्वरमा झपार्नुभयो ।

मप्रति बढी विश्वास भएर होला । ए तँ पढ्छस् कि पढ्दैनस् भन्दै, हेर गधा तँलाई काखमा राखेर पढाएको उपलब्धि यही हो ? तेरो सिँगान पुछेको टाटा अझै मेरो हातमा लागेको छ यही हो तेरो निर्णय भनेपछि कोठामा हामी केहीले कडा रूपबाट पढ्दैनौं भनेपछि म पनि तिमीहरूलाई पढाउँदिन भनेर निस्कनुभयो र १० कक्षामा पढाउन जाँदा पनि हामीले हल्ला गरेकाले उहाँले आखिर जागिर नै छाडेर काठमाडौं लाग्नुभयो र बागमती कोचिङ सेन्टर र बानेश्वरमा स्कुलसमेत खोलेर राम्रो गर्नुभएछ । बेलाबेला चौतारा आउनुहुन्थ्यो र काठमाडौंमा भेट हुँदा पनि बोल्नुहुन्नथ्यो । धेरैपछि चौतारा आउँदा अलिकति बोलचाल भयो ।

दशमा पढ्दा हामी सबै कक्षाका साथीहरू शिक्षक गंगा श्रेष्ठ र भवगती श्रेष्ठको नेतृत्वमा शैक्षिक भ्रमणको लागि पोखरा जाने निर्णय भयो । काठमाडौं महाबौद्ध लजमा बसेर गयौं । फेवा तालमा डुंगा चढ्दा गणेशमानले फोटो खिच्ने भनेर उठेका मात्र थिए यता कृष्ण पनि जुरुक्क उठेकाले ब्यालेन्स नमिलेर डुंगाभरि पानी पस्यो । कसोकसो सबै जना डुबिएन । बेगनास रूपा ताल विन्दाबासिनी मन्दिर घुमेर रमाइलो भयो ।

६ वर्षको हुँदा सहकारी घरमै बसेको बेला सानीआमाकोमा घरबाट दशैंको टिका लगाएर बेलुकी खाना खाएर फर्कंदा जयन्द्र दाइसँग झगडा भयो । पछाडिबाट घचेट्दा लागेको खत अझै देब्रे निधारमा छ ।

८ कक्षासम्म पढ्दा त त्यति राम्रो गर्न सकिएको थिएन तर यसपछि भने तेस्रो दोस्रो हुँदै गएँ टेस्टसम्म । परीक्षाभर निकै मिहिनेत गरेर पढ्थ्यौं । सामूहिक अध्ययन गर्थ्यौं । तीर्थ म र गणेश पहिलेदेखि नै सँगै पढ्थ्यौं तर टेस्ट र एसएलसीमा भने कृष्णकुमार पनि थपियो । राति अवेलासम्म पढ्थ्यौं । निद्रा नलागोस् भनेर चिया पिउथ्यौं । राति खीर खिचडी र चाकु भात पकाएर खान्थ्यौं ।

टेस्ट परीक्षामा यति धेरै पढ्यौं कि त्यति त कहिल्यै पढेनौँ होला । एकपल्ट हामी सबैजना सल्लाह गरेर घुम्न हिँडेका थियौं । त्यतिखेर तुलसी, जानकी, गायत्रीहरूसँग भेट भयो । दसैँ नजिकै थियो र पहिलोपल्ट चौतारामा चिउरा पेल्ने मिल तिलकमानको थियो । हामी सबैजना त्यहाँ गएर चिउरा चाख्दै खल्तीभरि राखेर खायौं । टेस्ट परीक्षामा हामीसँगै थिए । उसको एउटा बानी अचम्मको थियो । परीक्षामा अरूको पनि नहेर्ने आफ्नो पनि नदेखाउने । कसैले चिट लेख्या छ कि छैन भनेर हेर्ने । सायद विज्ञान परीक्षा थियो । हाम्रो कोठामा जापनिज स्वयंसेवक गार्ड थियो । हामी खुबै सतर्क थियौँ । गणेश सधैँ झैँ यताउती हेर्दै थियो । जापनिज सर आएर केही नभनी एकैपटक उत्तरपुस्तिका खोसेर च्यातचुत पारिदियो । हामी सबै छक्क पर्यौँ । पछि हेडसरले के कसो गरेर हो फेरि नयाँ कपी दिएर पुनः परीक्षा दियो । त्यसैले पनि हामीले अति नै मिहिनेत गर्नुपर्थ्यो ।

जापनिज सर बडो डरलाग्दो थियो । बिहान लाइनमा बस्दा सामूहिक गान तलमाथि गर्यो भने लात्तीले समेत हान्थ्यो । केटाकेटीलाई केही भन्दैनथ्यो । एक दिन बिहान अञ्जलीको चुल्ठो तानेर बहुतै पिटेको थियो । टेस्ट परीक्षामा हामी सबैजना पास भयौँ । २२ जनाले एसएलसी दिने भयौं । म दोस्रो भएँ । बाँकी रहेको दुई महिनामा हामीले राम्रो तयारी गर्यौं । हाम्रै स्कुलको सेन्टरमा परीक्षा दिने हामी दोस्रो ब्याचका थियौं ।

सधैँ झैं यसपालि हामीले अध्ययन गर्यौं । मेरो कोठामा समूहमा बस्यौँ । कोठामा सुकाएर राखेको गाँजा चाख्न पर्यो भनेर पिएँछु । भोको पेटमा नराम्रोसँग लाग्यो । बाटो हिँड्दा खाल्डाखुल्डी मात्रै देखेँ पाइला चाल्न पनि बडो गाह्रो र सकस भयो । यस्तो अनुभव भयो जुन पछि कहिल्यै दोहोर्याइएन ।

बच्चामा बाजेले गाँजा पिउनुहुँदा मीठो वासना आउने हुनाले हामी वरिपरि बस्थ्यौं । गाँजाको पात माड्न लगाउनुहुन्थ्यो । यसका गेडा खायो भने पेट दुःखेको निको हुन्छ भनेर दिनुहुन्थ्यो मीठो लाग्ने भएर खान्थ्यौं ।

एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषय राम्रो भयो । सबैले सल्लाह गरेर लेख्न पायौं । सुरुमा भएर होला त्यति कडा पनि भएन । परीक्षा सकेपछि बडो उन्मुक्ति अनुभव भयो । रिजल्ट नआएसम्म भने ढुकढुक चाहिँ भई नै रह्यो । करिब सात महिनाको पर्खाइपछि बिहान ९ बजेको रेडियोले एसएलसी रिजल्ट आएको समाचार प्रशारण भयो । त्यतिबेला गोरखापत्र आउँदैनथ्यो । दुई बस मात्रै चल्थे । टेलिफोन थिएन, आवासेटमा निश्चित समयमा मात्रै सम्पर्क हुन्थ्यो । बिहान सम्पर्क गर्दा मेरो नम्बर छैन भन्यो धेरैपटक दोहोर्याउँदा पनि त्यही जवाफ आयो । जसअनुसार तीर्थ, कृष्ण, ऋषि र जानकी मात्र पास भएको बुझियो । म त अलमलमा परेको थिएँ । फेरि कसरी परीक्षा दिने किताब कापीहरू सबै छरपस्ट भएका थिए । कसरी जम्मा गर्ने यी र यस्तै कुरा सोच्न थालें । आफ्नै आँखाले हेर्न नपाएसम्म विश्वास भने लागेको थिएन । बेलुकी ४ बजेतिर फेरि आवा गर्दा आफ्नो पनि नाम पास सूचीमा भएको कुरा थाहा पाउँदा दंग परें । एकैपटक एउटा परीक्षामा पास र फेल दुवै अनुभव गर्न पाएँ । त्यसअगाडि म कहिल्यै फेल भएको थिइनँ । एसएलसीमा दिनभर म फेल भएको प्रचार भयो र बेलुकी पास भएको । हामी पाँचजनाले दोस्रो श्रेणीमा पास गरेका थियौं । यसरी आठ वर्षको स्कुल जीवन समाप्त भयो । स्कुल जीवनमा केही घटना रमाइला थिए ।

कक्षा ८ पढ्दा देवीथानको जात्रामा रक्सी खाएर नाच्दा नाच्दै लडेको थिए । भोलिपल्ट सुनेका कुराहरू हुन कि हैनन् भन्ने छुट्याउन गाह्रो भयो ।

प्रत्येक वर्ष चैत्र पूर्णिमामा बजारमा र घले गाउँमा रहेको देवीको रथयात्रा गरेर जात्रा मनाउने गरिन्थ्यो । जात्रामा यताउता नगए पनि नजिकतिर भने गइन्थ्यो । जात्रामा बजाइने बाजा साथ नाच्ने गर्थे । सबै घरहरुमा पूजा हुने हुँदा भोजको पनि व्यवस्था हुन्थ्यो । यताउता गएपछि खाना खान अनुरोध आउँथ्यो । त्यसदिन धेरै रक्सी पिएको त थिइनँ तर घलेगाउँमा गएर जाँड पनि पिएकाले मिसावट भएछ र बेस्सरी नाचेँछु । रिँगटा लागेर लडेछु । केदार प्याकुरेलले ‘नाच कान्छा नाच’सम्म भनेको याद छ पछि के भयो थाहा भएन ।

भोलिपल्ट सुनेअनुसार त्यहाँ साथीहरूले मलाई उठाएर जानकीको घरमा पुर्याएका थिए । धेरैबेरसम्म होस नखुलेकाले घरमा पुर्याइदिनुपर्छ भन्ने सल्लाह गरे । सबैजना रिसाउनुभएछ । खाटमा नसुताएर भुइँमा सुताएछ । भोलिपल्ट आफू यहाँ कसरी आइपुगेँ भनेर छक्क परे । भोलि मुख देखाउन लाज लाग्यो । थकाइ लागेकाले कतै गइएन । रामचन्द्रको आमाले यसको बाबु छोराकै उल्टी सोहोर्नपर्यो भनेको रहेछ । बुझ्दा धेरै पहिला मेरो बुबाले पनि त्यही घरमा पटक पटक नशामा उल्टी गर्नुभएको रहेछ ।

हामी प्रत्येक वर्ष कात्तिक पूर्णिमामा गौरतीमा हुने जात्रामा जिल्ला रेडक्रस र कहिले विद्यालय, कहिले शिक्षक संगठनको नाममा चिट्ठा थाप्न जान्थ्यौं । यो क्रम धेरै समयसम्म चल्दै रह्यो । हामी शिक्षक संगठनको तर्फबाट गएका थियौँ । जात्रामा खटाइएका प्रहरीहरूसमेत जाँड खाएर महिलाहरूलाई सताउँदै थिए । प्रहरी र सर्वसाधारण बीच ठूलो भनाभन भयो । त्यतिखेर विद्यार्थी आन्दोलन पछिका परिवर्तनका कुराहरूसमेत भइराखेकाले स्थिति त्यतिकै तातेको थियो । त्यस्तो मौका परेकाले झन् छाड्ने कुरा भएन । इन्स्पेक्टर कोमलचन्द्र कर्माचार्य समेतलाई हातपात भएछ । पछि त सबै प्रहरी एकीकृत पारेर पूरा नाकाहरू बन्द गरेर त्यतिखेर अलि चिनिएकाहरूलाई पक्राउ गर्न थाल्यो । हामी अलि सानै थियौं । ठूलाहरू सबै तितरबितर भए । हामी समान सुरक्षित राखेर गोठमा लुक्यौं । भोलिपल्ट बिहान समानहरू बोकेर चौतारा लाग्यौं । स्थिति निकै तनावग्रस्त भएको थियो । ५० जना जतिलाई पक्राउ गरेको थियो । सकेसम्म धेरैलाई पक्राउ गर्न निकै कोसिस गरेका थिए । तुलसीमान श्रेष्ठ भने प्रहरीले लखेट्दा लखेट्दै उम्कन सफल भयो, करिब तीन दिनसम्म छलेरै बस्यो । यही कुरालाई लिएर बजार बन्दसमेत भयो सबै चौतारावासी एकगढ भएकाले प्रहरीले सबैलाई रिहाइ गर्न बाध्य भयो ।

३५,३६ सालदेखि हामी अखिल छैटौँमा लागेका थियौं । जिल्ला स्तरीय सभाहरु भइनैरहन्थे र म पनि सकभर सहभागी हुन्थे । मिटिङका लागि पहिलोपल्ट बलेफी गएका थियौं । त्यहाँ मकै र गुन्दुक खाएको याद ताजै छ । राती अवेला घर फर्कदा गाली खाइएको थियो । त्यस्तै एकपटक जलबीरे जाँदा पनि अबेर हुँदा घरमा गाली खाएको संझना आलै छ ।

विद्यालयमा युनियनको गठन भएपछि प्रत्येक वर्ष प्रगतिशील नाटक प्रदर्शन गर्न थाल्यौँ । त्यो क्रम त्यति धेरै चल्न सकेन । पहिला पनि अग्रजहरूले विद्यालयको जन्मदिनमा दिउँसो विविध कार्यक्रम र राति नाटक देखाउने गर्थे । कोही किन बर्बाद होस्, जाली, तमसुक, बसाइँ जस्ता नाटकहरू देखाइन्थे । हामी निस्केपछि १, २ वर्षपछि भने प्रर्दशनी क्रम रोकिएको थियो ।

 

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री