फोटो पत्रकार मिलन तमुको गोर्खा मिडिया डट कम शुरु

लण्डन । लामो समय देखि युकेमा फोटो पत्रकारिता गर्दै आएका मिलन तमुले न्युज पोर्टल गोर्खा मिडिया डट कम सञ्चालनमा ल्याएका छन्।

युकेबाट संचालन हुने गोर्खा मिडिया डट कमको भर्चुअल कार्यक्रममार्फत प्रमुख अतिथि नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले शुभकामना दिँदै शुभारम्भ गरेका हुन्। प्रमुख अतिथि मन्त्री गुरुङले गोर्खा मिडिया डट कम सबैको ढुकढुकी बन्नुपर्ने शुभकामना दिए। वीर गोर्खालीको शानको नामसहित शुभारम्भ भएको मिडियाले स्वभावैले गोर्खा समुदायको पहिचानलाई उजागर गर्नुका साथै सबैको भावनालाई सम्बोधन गर्ने शुभेच्छा मन्त्री गुरुङको थियो।

कार्यक्रममा गैरआवाशीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले शुभकामना व्यक्त गर्दै गोर्खा मिडियाले नेपाली पहिचान स्थापित, समाचार सत्यतथ्य, सन्तुलित र समावेशी हुने अपेक्षा गरिन्। गोर्खा मिडियाको भूमिका र गैरआवाशीय नेपाली संघ युकेको भूमिका सम्बन्धित हुने भएकाले सहकार्य गर्ने बताउदै नागरिकता र गोर्खाजको समस्याबारे नेपाल सरकार संवेदनशील भईदिन प्रमुख अतिथि मन्त्री गुरुङलाई उनले आग्रह गरिन्।

नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले मिडिया वृद्धिसँगै समुदाय, पाठकलाई फाइदा हुने दाबी गर्दै अक्षरभन्दा फोटो र भिडियोमा खेल्दै आएका मिलन तमुले गोर्खा मिडियामार्फत क्षमता प्रस्तुत गर्ने बताए।

तमु प्ये ल्हु संघ युके अध्यक्ष मेजर खुशीमान गुरुङले गोर्खा मिडियाले छिट्टै सफलता हासिल गर्ने बताए भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले छुट्टै पहिचान सहितको गोर्खा मिडिया बनोस् भन्ने शुभकामना दिए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले युकेमा फोटो पत्रकारितामा विशिष्ट नाम मिलन तमु प्रबन्ध निर्देशक र पत्रकारितामा लामो अनुभव भएका हुम तमु सम्पादक गोर्खा मिडिया ब्रान्ड बन्ने शुभकामना दिए।

मगर संघ युके उपाध्यक्ष राम गलामीले शुभकामना दिँदै नयाँ मिडियालाई सधैं सहयोग गर्ने बताए।

शुभारम्भ कार्यक्रमको अध्यक्षता गरेका प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै साथ सहयोगको आग्रह गरेका थिए भने कार्यक्रम सम्पादक हुम बहादुर गुरुङले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री