काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
मङ्गलबार बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । साँझ मात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । बुधबार मात्रै शवको सनाखत भएकोे बताइएको छ ।
पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय काम गरेका थिए । त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत थिए ।
एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उहाँ बेपत्ता हुनुभएको थियो । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन ।
प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिएका थिए । सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उहाँ हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ ।
कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो । पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काएका थिए । प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उहाँ माथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
“स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उहाँ थाहा छ भन्दै खोलातर्फ जानु भएछ”, महाशाखा प्रमुख थापाले भने, जाँदाजाँदै चिप्लिएर लड्नुभएछ ।” उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो । त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो ।
खोला किनारमा भेटिएको जुत्ता भने छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो ।
पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किनुभएको महाशाखाले जनाएको छ । । त्यस दिन उहाँ काठमाडौँको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ । त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उनी हिडेका थिए । त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ ।
मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछि मात्रै महाशाखाले उनलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो । खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन ।
मकवानपुर– भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए । सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
दुई दिनदेखि घर नफर्र्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिनुभएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए । बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत हुन ।
पत्रकार बानियाँको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त
तनहुँको भानु नगरपालिका–१३ निवासी पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन । तीन दिनदेखि बेपत्ता हुनुभएका पत्रकार बानियाँको शव ब्ुधबार भेटिएपछि शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गरेका हुन ।
विगत दुई दशकदेखि राष्ट्रिय दैनिकमा आबद्ध रहेर राजनीतिक, सामाजिक र प्रशासनिक ब्यूरोमा कलम चलाउँदै आएका बानियाँको निधनको खबरले आफू स्तब्ध भएको वरिष्ठ नेता पौडेलले उल्लेख गरे । उनले भने , “दुःखको यस घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय