युकेका नेपाली संस्थाहरु भर्चुअल अधिवेसनमार्फत नेतृत्व हस्तान्तरण गर्दै

लण्डन । कोरोना भाइरसले संसारभर मच्चाएको महामारीका कारण कतिपय मुलुकको आवधिक निर्वाचन नै अवरुद्ध हुँदा पनि बेलायतका नेपाली संघसंस्थाहरुले भने अनलाइन अधिवेसन गर्दै संस्थालाई जीवन्तता दिन थालेका छन्।

कोरोना महामारीकै बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको अधिवेसन भर्चुअल रुपमै सम्पन्न भयो । संस्थाको नयाँ अध्यक्षमा निर्वाचित लक्ष्मी थापा राई (लारा) ले काठमाडौँबाट नै सो जिम्मेवारी ग्रहण गरिन् । शाखाका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ भन्छन्, ‘कोरोनाको कारण देखाएर संस्थाको नियमित अधिवेसन नै अवरुद्ध गर्नु राम्रो होइन ।’ त्यसो त अनेसासको अन्तर्राष्ट्रिय समितिको निर्वाचन पनि भर्चुअलरुपमै हुँदै आइरहेको छ ।

यसैगरी, पासा पुच लण्डन शाखाले पनि गत साता भर्चुअल अधिवेसनबाट नयाँ कार्यसमित चयन गरेको छ । रुक्मिणी मानन्धरको अध्यक्षतामा आगामी दुई वर्षका लागि  नयाँ कार्यसमिति गठन गरिएको हो ।

सीमित सदस्य भएका संस्थामात्र होइन सयौँ सदस्य रहेका संस्थाको पनि अधिवेसन भर्चुअल रुपमै गरिंदैछ । खोटाङ सेवा समाज बेलायत यसको  एक उदाहरण हो । समाजले पाचौं अधिवेशन यही सेप्टेम्बर १९ सनिबार भर्चुअल रुपमै गर्दैछ । अधिवेसनले आगामी तीन वर्षका लागि अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ३, कोषाध्यक्ष १, सह-कोषाध्यक्ष १ र सदस्यहरु १३ गरी जम्मा २५ पदहरुको चयन गर्ने बताइएको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगत नवोदित अधिवेसनबाट सर्वसम्मत रुपमा नै नयाँ नेतृत्व चयन हुने अपेक्षा राखिएको बताउँछन् । यदि चुनाव नै गर्नपर्ने अवस्थामा आएमा पनि त्यति ठूलो समस्या नहुने उनको भनाइ छ । ‘अनेसासले त्यति लामो समयदेखि संसारभर रहेका सदस्यहरुबीच भर्चुअल मतदानबाटै नेतृत्व चयन गर्दै आएको छ भने  हामीलाई समस्या होला जस्तो लाग्दैन’ उनले भने ।

यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महास‌ंघ (फोनिज) युके शाखाले पनि भर्चुअल रुपमै २४ अक्टोवरमा अधिवेसन गर्ने निर्णय गत शनिवार सम्पन्न बैठकले गरेको अध्यक्ष प्रमिला लाबुङ राईले जानकारी दिइन् । अधिवेसनका लागि सल्लाहकार मेजर रिटार्ड सोनामछिरिङ शेर्पाको संयोजकत्वमा सल्लाहकारहरु विमला सेने र नरेश खपाङ्गीमगर रहेको एक निर्वाचन मण्डल पनि बनाइएको छ ।

कोरोना महामारीका कारण सन् २०२० को मे महिनामा हुनुपर्ने लण्डन मेयरको चुनाव एक वर्ष स्थगित भएको छ भने यसैवर्ष नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन सार्न राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरिसकेका छन्।

कोरोना महामारीलाई देखाएर निर्वाचन नगर्दा विश्वमा तानाशाहहरु बलियो हुनसक्ने विश्लेषण विश्वव्यापी रुपमा भइरहँदा युकेका नेपाली संस्थाहरुले पनि भर्चुअलरुपमै अधिवेसन गरी आन्तरिक प्रजातन्त्रलाई बलियो बनाउँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री