काठमाडौँ । तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।
उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ ।
दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।
यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ ।
सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।
उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।
सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिनुभयो ।
मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।
अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता