राष्ट्रियसभाका चारै समितिका सभापतिमा पुरानैलाई निरन्तरता

संसद भवन

काठमाडौँ । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ ।

विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध हुनुुभएको हो ।

सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गर्नुुभएको नामलाई तत् समितिको आजको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको थियो । नवनिर्वाचित सभापति मेघी गुुरुङको प्रस्ताव देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीको प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुुँवर हुुनुुहुन्थ्यो ।

नवसभापति भट्टको उम्मेदवारको प्रस्तावक दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्ताव खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा हुनुहुुन्थ्यो । चारै जना सभापति यसअघिकै तत् समितिका सभापति हुनुहुन्छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई/दुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना हुनुहुन्छ । पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद हुनुहुन्छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ जना सदस्यको निर्वाचन गत माघमा भएको थियो । प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति हुनुहुन्छ । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्य मान्यता गौरव गर्न लायक रहेको भनी प्रशंसा हुँदै आएको छ । नवनिर्वाचित सभापति अनुभवी रहनुभएको हुनाले जनता र राष्ट्रको हितको विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गर्नुभयो । नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार सपथ लिएपछि पदभार ग्रहण गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री